आइतबारसम्म देशैभर भारी वर्षा हुने, हावाहुरी पनि चल्ने

बिहीबार रातिदेखि देशैभर मुसलधारे वर्षा भइरहँदा तराईका विभिन्न जिल्लामा डुबान भएको छ भने पहाडमा ठाउँठाउँमा पहिरो खसेको छ।

बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–११ स्थित पिप्ले नजिक पहिरोका कारण बाटो बन्द भएको छ ।

पहिरोका कारण फर्पिङ– मकवानपुर सडकखण्ड अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका २ देउरालीजंगलमा बिहान ५ बजेतिर पहिरो खसेका कारण यो सडकखण्डमा गाडी अवरुद्ध भएको हो । गाडी नचल्दा यात्रु बीच बाटोमा नै रोकिएका छन् ।

यस्तै लमजुङबाट मनाङ जाने र भोजपुरबाट धरान जाने बाटो पनि बन्द भएको राष्ट्रिय आपतकालिन परिचालन केन्द्रले जनाएको छ ।

बाढीका कारण सडक अवरुद्ध भएपछि उदयपुरको घुर्मी बजारमा दुई दिनदेखि यात्रु अलपत्र परेका छन् ।

त्यस्तै उदयपुर र सिन्धुलीको सीमानामा पर्ने बादुरा खोलाको बाढीका कारण काठमाडौंतर्फ आउने सवारी घुर्मी बजारमै रोकिएका छन् ।

यस्तै हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुदै काठमाडौं आउने सडक पनि अबरुद्ध भएको छ ।

इन्द्रसरोबर गाउँपालिका वडा नं. २ र ३ का विभिन्न स्थानमा पहिरो गएर फाखेल फर्पिङ भएर काठमाडौं आउने सडक अवरुद्ध भएकोे फर्पिङ प्रहरी चौकीले जनाएको छ ।

पहिरो पन्छाएर बाटो खोल्ने प्रयास भइरहेको छ ।

यस्तै रुपन्देहीस्थित पाल्पा बुटबल सडकखण्डअन्तर्गतको सिद्धबाबामा पहिरो खसेपछि अबरुद्ध भएको सडक भने सुचारु भएको छ ।

भारी वर्षाका कारण काठमाडौं बाहिरका विमानस्थलमा उडान प्रभावित भएको छ।

बिहीबारदेखि लगातार परिराखेको वर्षाले अधिकांश विमानस्थल बन्द छ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रताप तिवारीका अनुसार लुक्ला, भोजपुर, तुम्लिङटार, फाल्पु, लामिडाँडा र धनगढी विमानस्थल बन्द छन्।

तिवारीले भैरहवा, पोखरा, विराटनगर र भद्रपुर विमानस्थल भने वर्षा भइराखे पनि सुचारु रहेको जानकारी दिए।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार दिनभर मुसलधारे वर्षा भइरहनेछ। मौसमविद् सुवास रिमालले देशैभर भारी र मुसलधारे वर्षा हुने बताए।

‘शनिबारसम्म नै वर्षा जारी रहन्छ,’ उनले भने, ‘सतर्क रहनुपर्छ। अधिकांश ठाउँमा भारी वर्षा हुने देखिन्छ।’

वर्षासँगै हावाहुरी पनि चल्ने उनले जानकारी दिए।

‘मध्य तथा पूर्वीय क्षेत्रमा न्युनचापीय रेखा बनेको छ। त्यसले नै हावाहुरी र भारी वर्षा गराएको हो,’ उनले भने, ‘तीन दिनसम्म मनसुन सक्रिय रहन्छ। केही ठाउँमा भारी र केही ठाउँमा अति भारी वर्षा हुने पनि सम्भावना छ।’

वर्षाले नदी छेउका वस्तीमा डुबान हुनसक्ने भन्दै सरकारले सचेत रहन आग्रह गरेको छ।

LEAVE A REPLY