उद्योगी मोहन कटुवालका सफलताका कथा

Sharing is caring!

टेबुलमाथि एचपी कम्पनीको ल्यापटो । किबोर्डमा हातका औँलाहरु कैँचीझैँ चलाइरहेका छन् । ल्यापटोपको बायाँ भागमा प्रिन्टर छ, प्रिन्टरमाथि त्रिभुज आकारको पात्रो । ज्येष्ठ पन्ना पल्टिएको पात्रोभित्रका अंकमा रातो अक्षरले गोलो लगाइएको छ । शुक्रबार कमलपोखरीको कुमारी हलको सामुन्ने रहेको उनको कार्यालयभित्र छिर्दा उनी आफ्नो काममा व्यस्त देखिन्थे । सायद, उनी ल्यापटोपमार्फत् पात्रोलाई हेर्दै आफ्ना कामहरु फत्ते गरिरहेका थिए ।
मोहन कटुवाल र ग्रील पर्यायबाची हुन् । ग्रीलसम्बन्धि कसैले नराम्रो भन्यो कि उनको कनपारो तात्तिन्छ । ग्रीलसँग उनको सम्बन्ध गाँसिएको दशक बित्यो । नेपाली समाजमा ‘ग्रिल व्यवसायी ?’ भन्नेबित्तिकै हेय दृष्टि लगाइन्छ । तर, सियोको महत्व बन्दुक समाउने हातलाई के थाहा हुन सक्छ । राष्ट्रको उच्च ओहोदामा जो जो आसिन् छन्, उनीहरु छिर्ने गेटको फलामको ढोका कस्ले निर्माण गरिदियो होला ? एक छिन सोचौँ त । दिमागमा सजिलै उत्तरले जन्म लिन्छ– ग्रिल व्यवसायी ।

मोहन कटुवाल । न्यू ग्रिल उद्योगका प्रोपाइटर । ग्रिल तथा स्टील व्यवसयी महासंघका विगत पाँच वर्षदेखि केन्द्रीय अध्यक्षताको नेतृत्व गर्दै आएका उनले ०५० मा उद्योग स्थापना गरे । नेपाल घरेलु तथा साना उद्योग महासंघको वस्तुगत उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्शको राजस्व सहसभापति, साउथ एसियन कन्ट्री एसोसिएसन फोरमको केन्द्रीय सदस्य, साना तथा मझौँला महासंघको पूर्वउपाध्यक्षको नेतृत्व बहन गरिसकेका उनलाई नचिन्ने मान्छे सायदै होलान् । त्यसो त सबैले ‘ग्रिल व्यवसायी’ भन्नेबित्तिकै मोहन भनेर सजिलै चिन्दछन् । तर, ग्रीलसँग अटुट सम्बन्ध रहेको मोहनको जीवन संघर्षबारे भने सायदैले सुनेको हुनुपर्छ । मस्तिष्कमा दुःखको पहाड बोकेर आज ग्रिल व्यवसायीमात्र नभई साना तथा मझौँला व्यवसायीको शिर उच्च पारिरहेका उनैसँग उद्यमीकर्मी महेश गजुरेलको जम्काभेट भयो
२३ भदौँ ०२३ मा जन्मिएका मोहनका बाल्यकाल भारतको आसाममा बित्यो । ०३२ सालमा स–परिवार नेपाल (झापा) फर्किएका मोहनको मूलघरचाहिँ उर्लाबारी, मोरङ हो । भारतबाट नेपाल फर्किएपछि चन्द्रगढीमा ०४० सम्म बिताए । झापाबाट बुवाको जागिर काठमाडौं कीर्तिपूर सरुवा हुनु र एस.एल.सी (हाल एसइई) परीक्षाको नतिजा संयोग बन्यो । हाल मोहनकी छोरीले अमेरिकामा मेडिकेयरमा पीएचडी गर्दै छिन्, छोराले भारतबाट सीए अध्ययन सकाएर दुबईमा कार्यरत रहेका छन् । पाटन क्याम्पसबाट आइए उत्तीर्ण गरेर बीए अध्ययनका लागि आर आर क्याम्पसमा भर्ना भएका उनले बिचमै पढाई छाडे । अध्ययनलाई निरन्तरता दिन सकेनन् । तर, छोराछोरीलाई भने सबथोक पुर्याइदिए । ०४५ देखि ग्रिल व्यवसाय सञ्चालन गरेर आफ्नो व्यवसायलाई तन्काएका उनले ०५० मा आफ्नो व्यवसायलाई औपचारिक रुप दिए ।
जागिर
संयोग नै मान्दछन् उनी, निर्माण जोशीलाई भेटेपछि ग्रिल र धारा जडानसम्बन्धि काम (प्लम्बिङ) को काम सिके । सिकाइसँगै काम पनि थाले । डेढ वर्षसम्म यहाँ रहेर काम गरे । मासिक तलब डेढ सय पाउँथे । ०४३ सालको कुरा हो त्यो, तत्कालीन गृहमन्त्री निर्धन थापाको घरमा प्लम्बिङको काम सकेपछि थकानका कारण कार्यालय जान सकेनन् । भोलिपल्ट कार्यालय जाँदा स्पष्टिकरण सोधियो, ‘किन काम सकिएपछि कार्यालय नआएको ?’ ‘थकाई र अत्यधिक पेट दुख्यो सर, त्यसैले हिजो कार्यालय आउन पाइन’ सीधा सीधा जवाफ दिएका उनलाई साहुले नमीठो बचन लगाए । र, भोलिपल्टदेखि साहुकहाँ गएर काम गर्न जोश जाँगर मर्यो । र, जागिर छाडे । त्यतिखेर मोहनको परिवार कीर्तिपूरमै बस्थ्यो ।
सेतेकाजीसँग भेट
प्लम्बिङसम्बन्धि रोजगारी छाडेपछि उनी बागबजार सरे । बागबाजारमा एक जना नेवार समुदायका समाजसेवी थिए, सेतेकाजी तण्डुकार । तण्डुकारसँग भेट भएपछि मोहनले आफूलाई प्लम्बिङसम्बन्धिका कामहरु जिम्मा दिन आग्रह गरे । संयोग नै भइदियो, सेतेकाजीले पहिल्यै नै कसैलाई ग्रिलसम्बन्धि उद्योग खोलिदिएका रहेछन् । बीचमा उद्योगको जिम्मा लिएको व्यक्ति फर्केर नआएपछि त्यत्तिकै रहेको मिसिनहरु मोहनले प्रयोग गर्ने अवसर पाए । त्योभन्दा अघि नै मोहनले पाटनबाट पाँच सय रुपैयाँमा प्लम्बिङको सामान किनेका थिए । उनले घरबाट एक रुपैयाँ लगानी मागेनन् । त्यसो त माग्न सक्ने आर्थिक वातावरण पनि बनिसकेको थिएन । परिवारको जोहो गरेर आफँैलै सामानहरु खरिद गर्नुपथ्र्यो ।

सीपको सदुपयोग
नोबेल पुरस्कार विजेता तथा जापानी लेखक रोबर्ट कियोसाकिले रोजगारलाई चार भागमा विभाजन गरेका छन् । पहिलोः नोकरी, दोस्रोः आफ्नै जागिर भएको, तेस्रोः उद्योगपति र चौथो ः लगानीकर्ता । अर्थात्, हाल विश्वमा ७० प्रतिशत नोकरी, १७ प्रतिशत आफ्नै जागिर भएका, १० प्रतिशत उद्योगपति र तीन प्रतिशत लगानीकर्ता । यो क्याटेगोरीमा उनी सदाबहार पहिलो श्रेणीभन्दा माथि उक्लिन सकिइरहेका थिएनन् । सदाबहार अरुको कम्पनीमा काम गर्दा कुनै दिन कतिखेर बाहिरिइन्छ भन्ने हेक्का थाहा पाएपछि मोहनले पनि नयाँ सोच अंकुराए । आफूसँग भएको सीपलाई सदुपयोग गरेर आफ्नै सानोतिनो व्यवसाय खोल्छु । र, खोले ग्रिल उद्योग । बीचमा सरकारी जागिर खान सकिन्न भन्ने खालको मनोभावले पनि पिरोल्यो । जतिखेर उनी द्विविधापनमा थिए ।
विवाह
एस.एल.सी परीक्षाको नतिजा नआउँदै अन्र्तजातिय विवाह भयो मोहनको । राई थरकी युवतीसँग उनको गहिरो माया बस्यो । परिवारमा जातभातको कुरा चल्दैनथ्यो, परिवारले कहिल्यै तल्लो, माथिल्लो जात भनेर भन्दैनथ्यो । बुवाले मोहन सानै छँदा भन्थे, ‘हेर मोहन, जात भात हुँदैन, सबैको रगत रातो नै हुन्छ ।’ धुमधामका साथ मन्दिरमा गएर मोहनको विवाह भयो । हाल मोहनकी छोरीले पनि श्रीलंका बिहे गरेकी छन् । ज्वाई र छोरीको मन मिल्नु नै आफ्नो खुसी रहेको सुनाउँछन् मोहन । ‘मैले अन्र्तजातिय विवाह गरे । छोरीले अन्र्तराष्ट्रिय बर छानिन् । हुन सक्छ, बुवाको भन्दा पनि छोरीको मन ठूलो । हामी विश्वका सबै मानिस एकै प्राणी हौँ । काट्दा रातो नै रगत आउँछ, कसैको सेतो आउँदैन ।’
संघर्ष
बैवाहिक जीवनले थोपरिएको बोझमाथि जतिबेला उनी बिहान कलेज र दिउँसो हातमा दुई केजीको हम्मर उचालेर कारखानामा काम गर्थे । ती संघर्षका दिन अहिले पनि उनी सम्झिन चाहन्नन्, ‘दुई केजीको हम्मर उचालेर फलामलाई पिट्दा आफ्नै हातका औँलामा बजारिएर रगत जमेको छ । हात सुन्निएर कलेज जान नसक्नेसम्म भएँ ।’ त्यो पीडा उनको कस्तो थियो होला ? तर, मोहन भन्छन्, मेहनतको फल साँच्चिकै मीठो हुँदोरहेछ । उनी सबैलाई भन्छन्, ‘हामी सदाबहार हार्ड वर्क मात्र गर्छौै र त्यहिँ गर्न सिकाइन्छ तर, सफल मान्छेहरु स्मार्ट वर्क गर्छन् र संसार हाँक्दछन् ।’

जापानीसँग दोस्ती
मन्दिर र मन्दिरबाहिरको ढुंगाको गुण एउटै हुन् तर, महत्व र प्रशंसा भने आकास पतालको फरकपन छ । यी दुईबीचको एउटा गजबको कथा नै छ–मन्दिरबाहिरको ढुँगालाई एक हम्मर नहान्दै घैला फुटेझैँ प्याट्ट फुटिदिन्छ तर, मन्दिरमा पुज्ने ढुंगाको देउताले आफ्नो जीउमा अनेक छिनोको धारिलो प्रहार खानुपर्छ र त सबैले उस्लाई नै मन्दिरमा पुज्दछन् । ०४० सालतिरको कुरा हो, मोहनले जापानिज नागरिकसँग गहिरो दोस्ती राखेपछि यो थाहा पाए । अहिले पनि उनको जापानी नागरिकसँग उस्तै मजबुत दोस्ती कायम छ । हुन त, त्यतिबेला जापानको सामान भनेपछि जो कोहीले सजिलै विश्वास गरिन्थ्यो, अहिले पनि ।
मोहनको मन
हाल मोहनसँग काम गरेर बाहिरिएका कयौँको संख्या रहेका छन् । ती जम्मैको रेकर्ड बताउन नसकेपनि मोहन भन्छन्, ‘कम्पनीबाट जागिर खाएर आफ्नै दरिलो कम्पनी सञ्चालन गर्नेको संख्या पाँच सय जना रहेको छ । उनीहरुले साँच्चिकै राम्रो सेवा दिइरहेका छन् । जुन देखेर मलाई गर्वले छात्ती ढक्क फुल्छ ।’ डेढ सय रुपैयाँ तलबबाट जागिर सुरु गरेका मोहनले आफ्ना उद्योगका कर्मचारीहरुलाई कहिल्यै घृणा र अछुत व्यवहार गरेनन् । प्रत्येक वर्ष वा उद्योगको पुजापाठ विश्वकर्मा भाईले गर्दछन् । विगतमा एक कप चिया कसैले खुवाइदिए धन्य हुन्थ्यो मोहनलाई ।
सदैव प्रथम
जतिखेर छ वर्षका थिए मोहन । कलिलो उमेरमा आमा गुमाएका मोहनले बिरामी बुवा र भाइलाई आसामबाट नेपाल लिएर आए । झापाको प्रसिक्षण केन्द्रमा बसेर अध्ययन गरेका मोहन कक्षामा सदैव प्रथम हुन्थे । तर, पारिवारिक चापका कारण आठ कक्षादेखि दोस्रो श्रेणीमा खुम्चिए । परिवारलाई भरथेगका लागि नै उनी त्यतिबेलादेखि नै विद्यालयका विद्यार्थीहरुलाई ट्युसन पनि पढाउथे । विद्यालयमा हुने अतिरिक्त गतिविधिमा कहिल्यै दोस्रो भएनन् । रेडक्रस, स्काउटको गतिविधिमा स्कुले जीवनदेखि नै सक्रिय उनी विद्यालयको लिडर ‘नेता’ समेत हुन् । अर्काको जग्गा जमिनमा सागपात उब्जनी गर्थे । सन्तानले प्रगति गर्नुमा सबैभन्दा बढी आमाको माया, ममता र प्रेरणा गासिएको हुन्छ । तर, मोहनले बुवाबाट पाए । बुवाका ओठबाट निस्केका ती शब्दहरु सदैव उनी सम्झन्छन्, ‘कसैको केही नबिगार्नु, मादक तथा धुमपान सेवन कहिल्यै नगर्नु । गलत साथी भाइसँग जोगिएर हिँड्नु ।’ बुवाको उपदेशलाई आत्मसात गर्दै हिँडेका मोहनका दुवै छोराछोरीले पनि आफ्नो बुवाको बिँडो थामिदिए÷थामिरहेका छन् ।
मोहनको क्षमता
अहिले मोहनको जिम्मेवारी र समय झन थपिँदो छ । तर, उनी समयको ‘सेकेन्ड’ चाँपलाई हिसाब गरेर साथीभाइसँग भेटघाट गर्ने, गफिने, कार्यक्रममा सरिक हुन्छन् । ६४ जिल्लामा महासंघको क्रियाशिल शाखा र ११ हजार बढी आबद्ध रहेको यस संस्थाको जिम्मेवारी पाँच वर्षदेखि निष्पक्ष रुपले सम्हाल्दै आइरहेका मोहन राज्यले यो क्षेत्रको विकास गरि मुलुक समृद्धिका लागि बाटोहरु पहिल्याउँदै गएको सुनाउँछन् । उनी भन्छन्, ‘पछिल्ला दिनहरुमा बैंक तथा वित्तिय संस्थाहरु लगानी मैत्री बन्न नचाहेको गुनासोहरु व्याप्त छन् । व्यावसायिक ऋण पाउन झन्झटिलो र अकासिलो ब्याजदरले पनि व्यवसायी मारमा पिल्सिदै आएका छन् । तर, अहिले यी तमाम समस्याहरु घट्दै गइरहेका छन् ।’ सरकारबाट अब हरेक स्थानीय तहमा उद्योग ग्राम खोल्नका लागि बनाइएको त्यो समितिको ड्राफ्टमा हस्ताक्षकरकर्ता मोहन पनि एक हुन् । यस अलवा देशको राष्ट्रिय नीति (सीटीइभीटीलगायतका) का दस्तावेजमा मोहनको नाम र हस्ताक्षर रहेको छ ।
त्यसो त संघमा मोहनको आगमनपछि संघको नीति निर्माणदेखि बाहिर देखिने गरी थुप्रै कामहरु भएका छन् नै । त्यो भन्दा पनि मोहनको अर्को क्षमताको पाटो हो, सरकारले संघीय संरचनामा उद्योगसम्बन्धि नीतिहरु ल्याउँदा विशेषगरी मोहनको उपस्थिती । आश्चर्य नै मान्नुपर्छ, विश्वमा आफ्नो नाम स्थापित गरिसकेका विनोद चौधरी, शेखर गोल्छा, चन्द्र ढकाललगायत थुप्रै उद्योगपतिहरु छन् तर, ती सबैको साझा प्रतिनिधित्वकर्ताका रुपमा मोहन छानिन्छन् ।
अपरिहार्य क्षेत्र
अहिले पनि ग्रिल व्यवसायी भन्नेबित्तिकै हेय दृष्टिले हेरिन्छ । बरु गिलास उठाउने काममा तयार तर, यो प्राविधिक क्षेत्रमा जो सुकै आउन आनाकानी गर्दछन् । देशको विकासमा मेरुदण्डका रुपमा लिइने यो प्राविधिक व्यवसायमा डाक्टर, इन्जिनियर क्षेत्रमा असफल भएपछि बल्ल यतातिर लाग्ने प्रचलन पनि रहुन दुःखद कुरा रहेको उनी सुनाउँछन् । बाहिरी मुलुकको विकासको फड्को हेर्ने हो भने प्राविधिक क्षेत्रको विकास सम्भव भए पछि मात्र अन्य क्षेत्र तंग्रिएका छन् । यसकारण मुलुकमा साँच्चिकै प्राविधिक क्षेत्र मजबुत नभई विकास असम्भवझैँ रहेको उनको धारणा रहेको छ ।
सदाबहार ग्रिल व्यवसायी
अब, सरकारले प्रत्येक प्रदेशमा कतिवटा ग्रिल उद्योगहरु सञ्चालन गर्दा उपयुक्त हुन्छ ? आवश्यक पूर्वाधारहरु के के चाहिन्छ ? दक्ष जनशक्तिको आवश्यक्ता कति पर्छ ? यी सबैको कागजी अनुसन्धानमात्र नभई साँच्चिकै सतहमा आउने काम हुन जरुरी रहेको उनको बुझाई छ । र, उनी निरन्तर लागिपरिरहेका छन् । हो, उनी आफ्नो छोरालाई पनि प्राविधिक बनाउन चाहन्थे तर, छोराको चाहनाअघि उनको केही सीप चलेन । हाल उनका छोरा सीए छन् । अन्तमा उनी भन्छन्, ‘कसैले ग्रिलमाथि व्यक्तिगत गाली गर्यो भने त्यो मतलब राख्दिन । तर, कसैले ग्रिललाई गाली गर्यो भने त्यो सहन सक्दिन । प्रतिवादमा उत्रिन तयार छु । यद्यपि, मेरो परिवार सदाबहार ग्रिल व्यवसायी हो ।’

Sharing is caring!

Loading...

LEAVE A REPLY