खबरदारी गर्नु मेरो कर्तव्य हो :जनार्दन शर्मा (प्रभाकर)

जनार्दन शर्मा (प्रभाकर), स्थायी कमिटी सदस्य, नेकपा

Sharing is caring!

जनार्दन शर्मा (प्रभाकर), स्थायी कमिटी सदस्य, नेकपा
पूर्वमाओवादी केन्द्रका प्रभावशालीमध्येका नेता जनार्दन शर्मा (प्रभाकर) पनि सरकारका कामप्रति उति सन्तुष्ट छैनन् र संसदमा त्यहीअनुसारका अभिव्यक्ति पेश गरिरहन्छन् । माओवादी शान्ति प्रक्रियामा आएयता रुकुमबाट निरन्तर चुनावमा विजय हुँदै आएका उनी जिल्लाकेन्द्रित काममा सक्रिय हुने थोरै माओवादी नेताभित्र पर्थे । अहिले पनि उनले त्यो छवि कायम राखेका छन् । पार्टी एकतापूर्व एकताको पृष्ठभूमि, आधार र त्यसलाई सम्भव बनाउने काममा उनी सक्रिय थिए । तर, एकतापछि भूमिकाबाट पछि पारिएका नेतामा उनी नै परे । जनयुद्धकालका डेपुटी कमाण्डरमध्येका एक थिए । अहिले पनि विचारमा प्रष्टताका कारण उनी बेला–बेला चर्चामा आइरहने उनै शर्मासँग हरि गजुरेलले केही जिज्ञासा राखेका छन् ।

० बलमिच्याइँ शैलीमा प्रधानमन्त्री अघि बढेको, यही कारण पार्टी एकता पनि संकटमा पर्दै गएको, जनताको बहुदलीय जनवादकै कारण एकता भाँडिने खतरा भएकोजस्ता कुराहरु के हुन् ?
– एकता गर्ने सन्र्दभमा भएका छलफलहरु र सोका आधारमा बनेका सहमतिहरु, राजनीतिक प्रतिवेदन, विधान सबैमा के कुरा स्पष्ट छ भने, जनताको जनवादको कार्यनीति र समाजवादी रणनीतिअनुरुप पार्टी अगाडि बढ्ने । बहुदलीय जनवादको कुरा अहिले कुनै छलफलको विषय होइन । सहमतिको बुँदामा ‘वहुदलीय जनवाद, २१ औ ंशताब्दीको जनवाद र माओवादको विचारले आन्दोलनमा खेलेको भूमिकालाई स्थापित गर्दै नयाँ कार्यदिशा निर्माण गर्ने क्रममा नयाँ ढंगले संश्लेषण गर्नेछौंं’ भनिएको छ । त्यसकारण वहुदलीय जनवादको बिषयले पार्टी एकतामा ढिला भएको भन्ने प्रश्न होइन । प्रश्न पार्टी एकतालाई अलि–अलि पार्टीभित्र, विगतको पार्टीमा रहेका केही गुटजन्य काम–कारवाही र आ–आफ्ना मान्छेलाई कसरी जिम्मेवारी दिने भनेर उठेका प्रश्नले ढिलाई भएको हो भन्ने मलाई लागिरहेको छ ।
० के दुई अध्यक्षबीच पछिल्ला दिनमा यही कारण असहज सम्बन्ध बनिरहेको हो ?
– दुुई अध्यक्षबीच असहज सम्बन्ध छैन । उहाँहरुबीचमा खुला खुला बहस छलफल भइरहेको छ । पार्टी भित्रको बहस छलफललाई असहज सम्बन्धका रुपमा भन्दा पनि एउटा खुला बहसले समस्याको सामाधान गर्ने दिशातिर लैजानुपर्दछ भन्ने कुरा हो । उहाँहरुका अलिअलि सहमति कार्यान्वयन गर्ने वा नगर्ने भन्ने प्रश्नमा हिजो भएका सहमति कार्यान्वयन गर्ने वा नगर्ने भन्ने विषयमा भएको ढिलाईले अलिकति चिसोपना देखिएको थियो । त्यसलाई पनि उहाँहरुले छलफलद्धारा सामाधान प्रयास गर्दै हुनुहुन्छ ।
० तपाईंले पनि सर्लाहीमा विप्लव समूहका नेताको हत्यादेखि बजेट विनियोजनसम्ममा सार्वजनिक असन्तुष्टि व्यक्त गर्दै आउनुभएको छ । सत्तारुढ नेताले यस्तो अभिव्यक्ति दिँदा पार्टी र सरकारलाई अप्ठेरो हुँदैन ?
– मैले असन्तुष्टि व्यक्त गरेको होइन । सरकार, पार्टी, संसद, बजेट निर्माण गर्दाका कमजोरी कहाँ छन् ? त्यसले के समस्या उत्पन्न हुन्छन् ? पार्टीमा समस्या पैदा नहोस भनेर ती कुरा सच्याउन आफ्नो विचार राखेको हो । त्यसलाई म असन्तृष्टी मान्दिन् । मेरा असन्तृष्टी छैनन् । किनकी, नेकपाको एकीकरण हुँदा महŒवपूर्ण भूमिका खेलेको हुँ । त्यसकारण पनि मेरो मेरा असन्तुष्टि छैन । तर, त्यहाँ कमजोरी हुन थालेपछि खबरदारी गर्नु मेरो कर्तव्य हो । सर्लाहीको घटनामा प्रहरी रिपोर्ट आयो । त्यहाँ कमजोरी देखेपछि खबरदारी गरेँ । त्यस्ता घटना हुन हुँदैन । त्यस्तो काम अहिलेको सरकारले गर्न मिल्ने होइन । तत्काल चेक गर्नुस् र सामाधान गर्नुस् भनेँ । माननीय गृहमन्त्रीले छानबिन गरेर सत्य पत्ता लगाउँछु भन्नु भएको छ । यस्तै, संसदमा वितरण भएको बजेटको असन्तुलनको बारेमा प्रतिनिधिमूलक ढंगले, प्रतिकात्मक रुपमा बजेटको असन्तुलन भएको बिषय मैले दर्शाएँ । थुप्रै माननीयज्यूहरुको त्यस्तो भावना छ । त्यो भावनाको प्रतिनिधित्व मैले गरेँ । कतिपय विधेयकमा सैद्धान्तिक रुपमा त्रुटी छन् । तिनलाई सच्याउन हामीले प्रयत्न गरिरहेका छौँ । लोकसेवालगायतका धेरै विधेयकमा त्यस्ता त्रुटी छन् । कमजोरीलाई ढाकछोप होइन कि सच्याउनुपर्छ भन्ने मान्यताअनुरुप मैले आफ्ना विचार राखेको हुँ ।
० प्रचण्डले पार्टी एकता हुँदाको सहमतिका आधारमा एकजना पार्टी अध्यक्ष र एकजना प्रधानमन्त्री हुनुपर्ने कुरा गर्नुभयो । त्यसमा केही पूर्वएमालेहरुबाट आपत्ति जनाइयो । यसको वास्तविकता के हो ?
– वास्तविकता त्यहीँ लेखिएको छ नि † दुईवटा अध्यक्ष रहने, उनीहरुले आलोपालो गर्ने भनिएको छ । त्यही बास्तविकता हो । यसमा लम्बेतान बहस गर्नुपर्ने कुरा छैन । त्यो सहमति हो । र, त्यो सहमतिको कार्यान्वयन पनि फेरि अर्को सहमतिबाटै गर्ने भनिएको हुँदा यसैमा मथिंगल विगारेर कसैलाई फाइदा पुग्दैन ।


० एमाले र माओवादीकेन्द्रको एकीकरण नभएर एकता घोषणा मात्रै भएको हो भन्ने घनश्याम भुषालको ठहर छ । यसमा तपाईंको टिप्पणी के हो ?
– घनश्यामजीको भनाइमा मैले टिप्पणी गर्ने आवश्यकता छैन । उहाँले एकता समयमा नटुंगिएको कुरालाई, तलसम्म कमिटिहरु प्रणाली सञ्चालन नभएको कुरा गर्नुभएको हो । मैले पनि कमिटी प्रणालीमा जानुपर्छ र पार्टी संस्थागत हुनुपर्छ भनिरहेको छु । हामी संस्थागत भएनौँ र व्यक्तिगत ढंगबाट पार्टी चलायौँ, व्यक्तिगत ढंगबाट सरकार चलायौंँ भने नेकपाको लक्ष्य पूरा हुँदैन । जनताको आशा, आकांक्षा सम्बोधन हुन सक्दैन । संस्थागत हुनुपर्छ भन्ने कुरा मैले पनि स्पष्ट रुपमा राख्दै आएको छु । पार्टीलाई संस्थागत बनाउने कुरा नै मुख्य हो । मेरा मित्र घनश्यामजीले पनि संस्थागत भएन, परिचालित भएन भनेरै त्यो कुरा राख्नुभएको भन्ने मैले बुझेको छु । यो कुरा घनश्यामजी र मैले मात्र हैन, पार्टीका सबै नेता, कार्यकर्ता र शुभचिन्तकसम्मले भनिरहेकै कुरा हो । नेतृत्वले समयमै सुन्नुपर्छ । ढिलो सुनियो भने धेरै कुरा बिग्रिंसकेको हुनेछ ।
० तपाईं त पार्टीको कर्णाली प्रदेश इञ्चार्ज पनि हुनुहुन्छ । एकताको काममा के–के समस्या झेलिरहनुभएको छ ?
– माथिको गुटबन्दी, नेतृत्वको फरक दृष्टिकोणका कारण तल एकतामा असर परिरहेको छ । सौहाद्र रुपमा एकता टुंग्याउन तल तयार भएको देखिन्छ । तर, माथिका कारण तल समस्या परिरहेको छ ।
० पछिल्लो समयमा गृहमन्त्री पूर्वमाओवादीको नभएर केपी ओलीको हुन थाल्नुभयो भन्ने गुनासो पूर्वमाओवादीपंक्तिमा सुन्ने गरिन्छ । तपाईंले सुन्नुभएको छ ?
– त्यस्तो कुरा विल्कुलै होइन । उहाँ जनयुद्धबाट विकसित भएर आउनुभएको नेतृत्व । पूर्वमाओवादीको नेता । अहिले उहाँ माओवादीको हुनु पर्दैन । एमाले हुन पनि पर्दैन । प्रचण्ड, केपी– कसैको हुनै पर्दैन । अहिले उहाँ नेकपाको हुने कुरा हो । नेकपाकै हुनुहुन्छ । सरकारको गृहमन्त्री हुनुहुन्छ । जब उहाँ जे–जे हुनुपर्ने हो, त्यो भइरहनुभएको छ भने अरु साथीले किन टाउको दुखाउने ? त्यसैले यो बेकारको प्रश्न हो ।
० यदि प्रधानमन्त्रीको कार्यशैली यस्तै भयो र असन्तुष्टिहरुको व्यवस्थापन भएन भने के हुन्छ ?
– सबैतिरबाट सुझाव, आलोचना भइरहेको सन्दर्भमा यो कुराको राम्रो अध्ययन गर्नुभएको र त्यसको सामाधानका लागि एउटा प्रक्रियामा अगाडि बढ्नुभएको छ । असन्तुष्टिको सम्बाधेन गरेर उहाँ अगाडि बढ्नुपर्छ र बढ्नुहुन्छ भन्नेमा विश्वस्त छु ।
० हालै मात्र नेकपा अध्यक्ष प्रचण्ड र देउवाबीच सानेपा हाइटको एउटा होटलमा घण्टौं वार्ता भयो । त्योसँगै राजनीति अलिकति तरंगित भएको छ । कतै नेपाली कांग्रेससँग मिलेर सरकार त ढालिदैन ?
– हाइपोथेटिकल कुरा । कसैले यस्तो सोच्न पनि सक्दैन, कुनै हालतमा सम्भव पनि छैन । सानेपामा भएको भलाकुसारी टिआरसीलगायतका शान्तिप्रक्रियाका समस्यालाई सामाधान गर्ने बिषयमा थियो । नेताहरुको भेटघाट, भलाकुसारी नहुने भन्ने कुरा भएन । एक–अर्काेलाई पूरै निषेध गर्नुपर्छ भन्ने छैन । एकापसमा भागेर हिँड्ने कुरा पनि भएन । राष्ट्रियस्तरका सबै पार्टीका लिडरहरु आफ्नो ठाउँबाट समस्यालाई सामाधान कसरी गर्ने ? राष्ट्रलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा एकपटक होइन, बारम्बार छलफलमा बस्नुपर्छ । त्यो अहिले आवश्यक पनि छ ।
० अहिले मन्त्रीहरु परिवर्तनको कुरा उठिरहेको छ । तपाईं फेरि मन्त्री बन्ने कत्तिको सम्भावना छ ?
– मलाई थाहा छैन । प्रधानमन्त्रीले कस्तो आवश्यकता महसुस गर्नुभएको छ ? उहाँको आवश्यकतामा भर पर्ने कुरा हो । जिम्मेवारी दिँदा नभाग्ने र नपाउँदा विरक्तिनुपर्ने त्यस्तो कुनै बानी मेरो छैन । पार्टी, जनताका आवश्यकताका आधारमा जसरी पनि अगाडि बढ्न सकिन्छ ।
० सरकारबारे व्यापक जनगुनासो छ । के भन्नुहुन्छ ?
– जनता भड्किनेखालका काम सरकारले गर्नु हुँदैन । त्यतातिर सचेत हुनुपर्छ भन्ने मेरो सुझाव छ ।

Sharing is caring!

Loading...

LEAVE A REPLY