‘संसद्मा नसुने सडकमा आउँछौं’

मंगलबार प्यूठान विजयनगरमा भएको जनसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता गगन थापाले संसद्मा कांग्रेसले उठाएका सवालहरुलाई बेवास्ता गरे सडक आन्दोलनमा उत्रने बताएका छन् ।

“संख्याको दम्भमा रहेर सरकारले प्रतिपक्षका कुराहरु सुन्न चाहेको छैन,” नेता थापाले भने, “संविधानको मर्म विपरित आउने विधेयकलाई कुनै हालतमा पारित हुन दिँदैनौ ।” आफ्ना आवाज सरकारले नसुने सडकमा जानुपर्ने स्थिति आए तयारी अवस्थामा बस्न उनले कार्यकर्ताहरुलाई आव्हानसमेत गरे । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक, गुठी विधेयकलगाएत संविधानको मर्म विपरित भएको उनको भनाइ थियो । “बहुमतका नाममा सरकार तानाशाही व्यवहार देखाउँदै छ,” नेता थापाले भने, “देशको चिन्तामा बोल्नेहरुका मुखमा ताल्चा लगाउने प्रवृति हामीलाई सह्य छैन ।”

एकीकरणको डेढ वर्षपछि नेकपामा विचार सिद्धान्तका विषयमा चलेको छलफलले नै पार्टीको कुनै सिद्धान्त नभएको स्पष्ट हुने उनले बताए । पार्टी एकीकरण सिद्धान्त भन्दा कांग्रेसलाई हराउनकै लागि भएको उनको विश्लेषण छ ।

LEAVE A REPLY