“जनप्रतिनिधि आइसकेपछि विकासका मूल फुटेका छन्”

कृष्ण बहादुर वाइवा, अध्यक्ष, बागमती नगरपालिका–५

काभ्रेमा जन्मिएर सर्लाही राजघाटमा हुर्किए, कृष्णबहादुर वाइबा । हाल सर्लाही जिल्ला, बाग्मती नगरपालिका–५ का वडाध्यक्ष रहेका उनी पिता श्रीमान वाइबा र माता माइली वाइबाको गर्वबाट ३१ पौष २०२१ मा जन्मिएका हुन् । सानैदेखि वाइबा समाज सेवामा रमाउथे । स्थानीय सबैले पत्याउँथे । विश्वास गर्थे । र, नेकपा (तत्कालीन एमाले) बाट ०५४ मा पहिलो पटक वडा न. ६ को जनप्रतिनिधि चुनिए । ०७४ को स्थानीय निर्वाचनमा बागमती नगरपालिका–५ बाट वडाध्यक्षको टिकट पाएर जित हासिल गरेका उनै वाइबासँग जनप्रतिनिधिमा निर्वाचित भइसकेपछि के के काम भयो ? वडा अध्यक्ष कृष्ण बहादुर वाइवासँग हाम्रो सहकर्मी अञ्जना सुवेदीले हाम्रा नियमित स्तम्भ पाँच प्रश्नमा केही जिज्ञासा राखेकी छिन्

वडाध्यक्षमा निर्वाचित भइसकेपछि देखिने गरी भएका उपलब्धिमूलक कामहरु के के हुन् ?

वडाध्यक्षमा निर्वाचित भएसँगै हाम्रो पहिलो उद्धेश्य भनेको खानेपानी, सडक निर्माण, बिजुली नै थियो । जुन कार्य पहिलोचोटी हामीले नयाँ तरिकाले अघि बढायौँ । अहिले यहाँको खानेपानीको समस्यालाई मध्यनजर गर्दै खानेपानी ट्याङ्कीको निमार्ण गरिँदैछ । साथै, यहाँको गा.वि.स.को आफ्नै निजी भवन थिएन । हामी जनप्रतिनिधि निर्वाचित भएसँगै भवन निर्माणसँगै सहज रुपमा जनतालाई सेवा प्रदान गरिएको छ ।

५ वर्षे योजना  के के बनाउनुभएको ?

थुप्रै छन् । अहिले यस वडाभित्रका सडकमा ग्रावेल भइसकेका छन् । अब, पाँच वर्षको कार्यकालभित्र सडक कालोपत्रे हुनेछ । यससँगै मुख्य रुपमा कृषिको क्षेत्रलाई विकास गर्ने लक्ष्य लिइएको छ ।

स्थानीय तहमा जनप्रतिनिधिहुनु र नहुनुमा के फरक  देख्नुहुन्छ ?

समाजसेवा गर्नका लागि जनप्रतिनिधि नै हुनुपर्छ भन्ने छैन । हिजो म जनप्रतिनिधि नहुँदा पनि समाजसेवासँगै यो क्षेत्रको विकासका लागि उत्तिकै रुपमा खटिएको थिए । अझ सशक्त ढंगले अघि बढ्नुपर्छ भन्ने हिसाबले जनप्रतिनिधिका रुपमा चुनिइयो । यद्यपि, जनप्रतिनिधिको रुपमा निर्वाचित भइसकेपछि पहिलेभन्दा केही धेरै बोझ खेप्नु त पर्यो तर, मलाई बोझभन्दा पनि बढी जोस, जाँगर मिल्यो । यसरी भन्नुको मतलब विगतदेखि जनप्रतिनिधिबिहीन रहेको यस वडामा जनप्रतिनिधि आइसकेपछि विकासका मुहानहरु फुटेका छन् ।

चुनाबअघि गरिएका बाचा कति पूरा भए भन्ने लाग्छ ?

म बाचा बन्धनको कुरा गर्दिन । काम भन्ने कुरा बाचा बन्धनमा बाँधिएर गर्ने होइन । मतलब समाजको काम भनेको बाचा खाएर गर्ने होइन । निरन्तर गरिरहने हो । नराम्रोविरुद्ध लडिरहने हो र जनताको हकमा सदैव लागिरहने होे । जस्तैः बजेट आउनुपूर्व यति बजेट ल्याउँछु भनेर बाचा गर्ने तर, पछि त्यो भन्दा कम बजेट ल्याउँदा के हुन्छ ? त्यसैले जे कुरा पनि सबैतिर सोचेर, मनन गरेर, अनुसन्धान गरेर ल्याउनुपर्दछ । यसकारण मैले आजसम्म यो अवधिमा यी कामहरु पूरा गर्छु भनेर बाचा बन्धन गरेको छैन ।

जनप्रतिनिधि र कर्मचारीबीच मनमुटावले सेवाग्राहीले मर्का खेप्नु परेको छ । के भन्नुहुन्छ ?

यहाँ जनप्रतिनिधि र कर्मचारीबीच सौहार्दपूर्वक वातावरण रहेको छ । कुनै खालका नकारात्मक भावनाहरु छैनन्, एकअर्काबीच । एकले अर्काबीचको सहयोगले काम गर्न सजिलो भइरहेको छ ।

Loading...

LEAVE A REPLY