स्थानीय तहमा १४६६२ कर्मचारी अभाव

निजामति कर्मचारी समायोजन सकिएसँगै देशैभरका स्थानीय तहमा १४ हजार ६ सय ६२ जना कर्मचारी दरबन्दी अभाव रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालका अनुसार देशभरिका ७ सय ५३ वटा स्थानीय र त्यहाँका ६ हजार १ सय वडा कार्यालयहरुमा गरी साढे १४ हजार कर्मचारी अभाव भएको छ । हाल देशभरका ५ सय ५५ स्थानीय तहमा उक्त संख्यामा कर्मचारी अभाव भएको जनाएका छन् ।

स्थानीय तहमा करीब ५७ हजार कर्मचारी आवश्यक परे पनि झन्डै १५ हजार कर्मचारीको अभाव भएको हो।

कर्मचारी समायोजनपछि ठूलो संख्यामा कर्मचारी दरबन्दी खाली भएको भन्दै मन्त्रालयले ती कर्मचारीका पदपूर्तिका लागि पहल थालिएको उल्लेख गरेको छ । प्रदेश लोकसेवा आयोग गठन भइनसकेकाले स्थानीय तहहरूले पठाएको मागका आधारमा उक्त मन्त्रालयले लोकसेवा आयोगमार्फत कर्मचारी भर्ना गर्नसक्ने भएकाले सबै दरबन्दी एकीकृत गरेर लोकसेवा आयोग पठाइसकिएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव भूपाल बरालले जनाएका छन् ।

LEAVE A REPLY