सरकारी जागिरमा महिलालाई ५० प्रतिशत आरक्षण,क्षेत्री बाहुनलाई पनि कोटा

लोकसेवा आयोगले प्रदेशका कर्मचारीहरु आफैं भर्ना गर्ने बताइरहँदा २ प्रदेश नम्बर सरकारले प्रदेश निजामती सेवा गठनको तयारी अघि बढाएको छ । अहिले दुई नम्बर प्रदेश सरकारलाई झण्डै ५ हजार कर्मचारी आवश्यक रहे पनि कर्मचारी समयोजन मार्फत न्यून कर्मचारी मात्र दुई नम्बर प्रदेशमा पठाइएकोले प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगमार्फत प्रदेश निजामती सेवाका लागि आवश्यक कर्मचारीहरू आफैं भर्ना गर्ने तयारी साथ विधेयक दर्ता गरेको प्रष्टाएको छ । सहायक तेस्रो तहदेखि बाह्रौं तहका अधिकृतसम्मको पदपूर्ति प्रदेश सरकारले गर्नेगरी कानून बनाउन बनाउन लागिएको हो । जसअनुसार प्रमुख सचिवसम्मका कर्मचारी आफैं पदपूर्ति गर्ने गरी प्रदेश नम्बर २ को तयारी छ । यो विद्येयक केही दिन अगाडि मात्र यहाँका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभामा दर्ता गराएका छन् ।
सदनमा दर्ता गराइएको उक्त प्रस्तावमा सहायक तेस्रो तहमा शत प्रतिशत र नवौं तहमा २० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाका आधारमा गरिने छ । दशौं, एघारौं र बाह्रौं तहमा भने खुला प्रतिस्पर्धाबाट कर्मचारी लिइने छैन ।

विधेयकमा प्रदेश निजामती सेवाअन्तर्गत प्रदेश सरकारले सहायक तेस्रो तहदेखि पाँचौं तहसम्म र अधिकृतको छैठौं तहदेखि बाह्रौँ तहसम्मका कर्मचारीहरू राख्ने प्रावधान राखिएको छ । श्रेणीविहीन पदमा कार्यरत कर्मचारीहरूले तहगत प्रणालीमा आबद्ध हुन चाहेमा त्यस्ता कर्मचारीलाई तोकिएबमोजिम सहायक तेस्रो तहमा कायम गरिने उल्लेख छ ।

यस्तै बढूवा गर्दा जस अनुसार खुला प्रतियोगिताबाट सहायक तेस्रो तहमा शत प्रतिशत, चौथो तहमा ५० प्रतिशत, पाँचौं तहमा ७० प्रतिशत कर्मचारी लिइने छ । खुला प्रतियोगिताबाट अधिकृत छैठौं तहमा ४० प्रतिशत, सातौं तहमा ७० प्रतिशत, आठौं तहमा १० प्रतिशत र नवौं तहमा २० प्रतिशत पदपूर्ति गरिने उल्लेख छ । उक्त विद्येयकमा पदपूर्ति गर्नका लागि आरक्षणको व्यवस्था पनि गरिएको छ । जसमा मधेशीलाई ५४ दशमलव ३६ प्रतिशत, दलितलाई १७ दशमलव २९ प्रतिशत, मुस्लिमलाई ११ दशमलव ५८ प्रतिशत, आदिवासी जनजातिलाई ६ दशमलव ६१ प्रतिशत, थारुलाई ५ दशमलव २७ प्रतिशत र आर्थिक रूपले विपन्न खस तथा आर्यलाई ४ दशमलव ८९ प्रतिशत आरक्षण कोटा छुट्याइएको छ । विधेयकमा आरक्षणका लागि प्रत्येक समूहमा ५० प्रतिशत सम्बन्धित समूहका महिलाका लागि आरक्षणको व्यवस्था गरिएको छ ।

आरक्षणको सुविधा एक व्यक्तिले सेवा अवधिभर एकपटक मात्र लिन पाउनेछन् ।

Loading...

LEAVE A REPLY