प्राचार्य गणेश भट्टराईको आँट,संगीताको साथ


‘हरेक श्रीमानको सफलताको पछाडि एक असल श्रीमतीको हात हुन्छ ।’ यो भनाइ कतै श्रीमतीलाई मख्ख पार्न मात्र त भनिएको हो र ? अवश्य पनि होइन । विश्वमा त्यस्ता धेरै श्रीमतीहरु छन्, जो आफ्नो श्रीमानलाई सफल बनाउन आफू दियोझैँ जल्न तयार हुन्छन् । श्रीमातीको सहयोग र हौसलाका कारण सफलताको शिखर चुम्न सफल विश्वका चर्चित व्यक्तिहरु फिलिप मे, जोआकिम स्वयर, डेनिस ट्रोपर, विल क्लिन्टन, रवर्ट वाड्रा, विनोद मानन्धर, दुर्गा प्रसाद सुवेदी यसको उदारण हुन् । यद्यपि, दुनियामा प्रसिद्ध भएका जो जो पुरुषहरु छन् उनीहरुको पाइलाका सारथी महिला नै हुन् । म पनि त्यहिँ व्यक्ति हुँ, जो श्रीमतीको साथले आज यहाँसम्म आइपुग्न सफल भएको छु ।
चैत ०४५ को त्यो कालो दिन । आकाश निलो थियो तर, मेरा लागि सदाबहार कालोझैँ भयो । सडक पार गर्दै थिए, एक्कासी पछाडिबाट एउटा गाडी जोडले बत्तिएर आएजस्तो लाग्यो । म अचानक भुइँमा ढले । पीडाले भुइँमा छटपटाउन थालेँ । बालुवामा पानीविनाको माछाजस्तै छटपटाउँदै थिए, चालकले फेरी गाडी पछाडी फर्काएर किच्न तयार भयो । मेरो गुहारको पछाडि उस्को केही चलेन । बाटोमा हिँड्ने मानिसहरु म भएतिर आए । केही क्षणमै मानिसको भीड लाग्यो । त्यसपछि मैले नयाँ जीवन पाए । भीडलाई पन्छाउँदै प्रहरी घटनास्थलमा आएपछि चालक पक्राउ पर्यो । यससँगै मलाई तुरुन्त उपचारको लागि पाल्पा मिसन हस्पिटल लगियो ।

जीवन संगी संगीताको साथमा प्रध्यापक गणेश


मलाई मेरो शरीरको अंग कस्तो अवस्थामा छ ? भन्ने कुराको राम्रो ख्याल भन्दा पनि दोस्रो जीवन बाँच्न पाउनु नै ठूलोजस्तो लाग्यो । अस्पतालको बेडमा पुर्याइएपछि डाक्टरको मधुर स्वर सुुने–‘घुडाँभन्दा माथिको भाग काम लाग्दैन, नकाटी नहुने भयो ।’ त्यसपछि घुँडाभन्दा मुनिको भाग काटियो । सबैले भन्ने गरेको सुनेको थिए, आफ्नो भाग्यमा जे लेखिएको हुन्छ त्यहिँ भोग्नुपर्छ । मैले पनि भोगे । कुनै चिन्ता गरेर विगतका ति कलकलाउँदा दिनहरु फर्काउन असम्भव थियो । बाँकी जीवनलाई नयाँ उचाईमा पुर्याउनु थियो । ‘संसारमा मजस्ता हजारौँले इतिहास रचेका छन्, मैले पनि रच्न सक्छु’ यहिँ प्रणका साथ मैले नयाँ जीवनलाई सार्थक जीवन बनाउन लागिपरे ।
सोच्थे, रुखको जरा नै आधी काम नलाग्ने भएपछि त्यो रुखले हाँगाबिँगाको भारलाई कसरी थेग्न सक्छ ? केही समय यस्तै नानाथरीको नकारात्मक कुराहरु सोच्थे । तर, श्रीमतीले मलाई ती कहालीलाग्दा दिनहरुमा साथ दिइन् । बिसन्चो शरीरका अंगहरुमा मल्हम बनिदिइन् । आज पनि यहिँ सोच्छु, भोलि पनि यहिँ कुरा सोच्छु– मेरी श्रीमती संसारको सबैभन्दा असल श्रीमती ।


गणेश भट्टराई, प्रध्यानध्यापक, रुपन्देही लिलाराम न्यौपाने उच्च माध्यमिक विद्यालय, भैरहवा


मेरो यस्तो हालतमा उनको पेटमा कान्छी छोरी थिइन् । यतापट्टि मेरो हालत ठीक उल्टो । जबकि, छोरी खुसीले बुवा–आमा साथ बाहिरी संसार हेर्न चाहन्थिन् । तर, मेरो हालत ? खै कसरी ती काला दिनहरुको कुन शब्दमा वर्णन गरु ? श्रीमतीलाई स्याहार्नुपर्ने बेलामा मलाई स्याहार्नुपर्ने । उनले पाल्पाको उकाली–उरालीको बाटोमा लडिबुडी गर्दै हस्पिटलमा मेरो स्याहासुसार गरिन् । नरोएको कुनै रात थिएन । अन्ततः मैले यो अठोट गरेँ कि मैले यसरी हरेश खाएर हुँदैन । नयाँ जीवनलाई नयाँ तरिकाले नै सदुपयोग गर्नुपर्छ । जतिसुकै दुःख गरेर पनि आफ्नो परिवारलाई दुःखी हुन दिन्न । यहि अठोटलाई निरन्तरता दिँदै गए । हाल रुपन्देहि लिलाराम न्यौपाने उच्च मा.वि.को प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गरिरहेको छु ।

यो श्रेय मेरो श्रीमतीको कारणले भएको हो । आज म जुन स्थानमा छु त्यो स्थान श्रीमतीले दिएकी हुन् ।


तल्लो तहमा काम गर्न कठिन छ भनिन्छ तर, त्यो भन्दा पनि गाह्रो माथिल्लो तहमा बसेर काम गर्न गाह्रो हुनेरहेछ । मैले पनि त्यो चूनौतीको सामना गरे । र, आज मेरो विद्यालय भैरहवा जिल्लाको नमुना विद्यालयको रुपमा रहेको छ । अन्य सरकारी विध्यालयको तुलनामा अग्र स्थानमा छ । महँगो शुल्क लिएर पढाईदै आइएको विद्यालयसँग तुलना गर्दा कयौँ फरकपन छ । हामीले बिनाप्रचार एउटै सेक्सनमा ७२ जनाको संख्यामा विद्यार्थीहरुलाई अध्यापन गराइरहेका छौँ । कक्षामा ३ ओटा सेक्सन छुट्याएर अध्यापन गराइँदै आइएको छ ।


मैले भैरह्वाबासीको अतुलनीय सहयोग पाएको छु । इट्टामाथि इट्टा थप्ने काम स्थानीयबासीबाट भयो । एउटा स्वतन्त्र व्यक्तिले काम गर्दा पाउनुपर्ने सेवा सुविधाहरु के के हुन् ? ति जम्मै भैरहवा पाए । र, आज यो स्थानमा रहेर जिम्मेवारी सम्हालिइरहेको छु । त्यो दुर्घटनापछि मैले शिक्षण पेशाालाई प्रमुख बनाई नरोजेको भए आज अर्कै स्थानमा हुन्थे होला । सायद राजनीति रोजेको भए मेरो सठपाठी, सहयात्री, बालकपनाको मित्र घनश्याम भुसालझैँ सांसद हुने थिए होला । देशको मुल खम्बा राजनीति हो तर, राजनीतिको त्यो दुर्गन्धमा मिसिन मन कसरी लाग्थ्यो ? त्यसतर्फ बाटो पहिल्याइन । लागे चक डस्टर समाउने पेशातिर । यसअघि प्रहरी निरिक्षकको लागि पनि अवसर आएको थिएँ । तर, त्यो अवसर पनि रोजिन । आज त्यो स्थानमा भइदिएको भए धेरै माथिसम्म पुग्थे होला । तर, यी सबै मलाई पटकै मन नपर्ने कोटामा पर्थे । केवल देशमा शिक्षामा नयाँ क्रान्ति नभएसम्म केही हुँदैन भन्ने लागेर शिक्षा पेशामा लागे । निरन्तर लागिरहनेछु ।
जो कोही व्यक्ति न गुरु न चेला हुन्छन् । उनीहरु त केवल साथी हुन् । एकले अर्कालाई सिकाउँदै र सिक्दै जाने रथ पो हुन् । म आफूँ र विद्यार्थीलाई उत्तर भन्दा पनि प्रश्न बुझ्नुपर्छ भन्ने ठान्दछु । जब जिन्दगीको कुनै उत्तर छैन । त्यसकारण हामी सदाबहार प्रश्नभन्दा पनि उत्तरतिरमात्र बढ्यो तर, प्रश्न गर्नु र बुझ्नु नै महान हो ।
१२ असोज ०१९ मा कामको सिलसिलामा तात्कालीन भारतको पूर्वी पाकिस्तान (हालको ढाका) मा मेरो जन्म भयो । पूख्र्यौली घर पाल्पाको छरेलुङ । जन्म जहाँ भएपनि पछि हामी सबैजना आफ्नौ बाबुबाजेको जन्मभुमी र अहिलेको मेरो कर्मभुमी पाल्पाको छेरलुङमा आयौँ । मेरो प्रारम्भिक शिक्षा यहाँबाटै आरम्भ भयो । हामी ६ जना दिदी बहिनी । पाँच जना दाजुभाइ । म कान्छो भएकोले पनि होला सबैभन्दा बढी माया मैले नै पाएँ । बुबाले जति नै दुःख गरे पनि हामीलाई दुःखको अनुभव कस्तो हुन्छ भनेर चाख्न पनि दिनु भएन । भिनाजुले तानसेनको सेन इस्टिच्युटमा लगेर अध्ययन गराउनुभयो । दुई वर्षपछि तराइ झरेँ । रुपन्देहीको मडिग्रामको शान्ती नमुनामा माविबाट ७ कक्षा उत्तीर्ण गरे । कक्षा ७ सम्मको शिक्षा दिक्षा मणिग्राम शान्ती स्कुलबाट भयो । त्यसपछि दाजुसँग बसेर पाल्पामा रहेको जनता मा बि तान्सेनबाट अध्ययन गरे । यस्तै त्रिभुवन बहुमुखी बाट बि कमसम्म र भैरहवा क्याम्पसबाट बि ए अध्ययन पूरा गरे ।

माडिग्राममा दाई शिक्षक हुनुभएकाले अध्ययनका लागि मणिग्राम ल्याउनु भयो । माडिग्रामबाट एस्.एल्.सी (हाल एसइई) उत्तीर्ण गरेँ । ०३६ सालमा जनमत संग्रह घोषणाको समय थियो त्यो । आजका चर्चित नेताहरु बालकृण्ण खाँड घनश्याम भुसालसँग सँगै आन्दोलनमा सक्रिए भएर आन्दोलन चर्कायौँ । जतिबेला बहुदलीय कि निर्दलीय शासन पद्दति लागू गर्ने भन्ने विषयमा मतदान गराइएको थियो । राजा महेन्द्रले सुरू गरेको दलविहीन पञ्चायती व्यवस्थाको चौतर्फी विरोध भएपछि नेपालमा बहुदल वा तत्कालिन शासनरत पञ्चायती व्यवस्था मान्ने भनेर जनमत ससंग्रह घोषणा भयो । चौधौँ अञ्चलमा बहुमत र जिल्लाको आधारमा ५४ जिल्लामा पञ्चायत पक्ष बहुमतले विजयी भयो । लामो प्रयास खेर गयो । तरपनि र्निवाचन हो हार जित त भैइहाल्छ नि भन्ने सोचेर चित्त बुझायौँ । त्यसपछि थप अध्ययनको लागि पाल्पा तिर लागे र पुन अध्यान सुरु गरेँ ।
०३८ मा मेरो जिवनको एउटा सुखको क्षण आयो जुन क्षणमा दुई आत्माको मेल मात्र नभएर दुई परिवारको पनि मेल हो अर्थात् मेरो संगिता भट्टराईसँग विवाह भयो । स्नातक पुरा भएको थिएन । विवाहपछि स्नातक पुरा गर्नको लागि म परिवारसहित भैरहवा आएको थिए । भैरहवा बहुमुखी क्याम्पसमा अर्थशास्त्र र संस्कृतिमा ग्रयाजुएट गरें । अध्ययनको क्रममा बुटवल वाणिज्य बैकंमा काम गर्थे पछि विविध कारणले मैले राजीनामा दिएँ । त्यसपछि एउटा निजी स्कुलमा अंग्रेजी शिक्षक भएर जागिर खाए । ०४२ सालबाट निरन्तर पढाउन थालेँ । पढाईलाई उमेरले छेक्दैन– जेठी छोरी र मैले सँगै समाजशास्त्रमा स्नातकोत्तर गरेँ । यहिँ हो मेरो छोटो कहानी हो ।

म मेरो परिवार र बिद्यालय दुबैलाइ बराबरी माया गर्छु । आज परिवार सबै सेटल भएको छन । ,छोरा किरण भट्टराई काठमाडौ मा कन्सल्तेन्सीमा आवद्ध छन । छोरी सृष्टि कलेज पढाउछिन,कान्छी कृति अमेरिकाको टेनेसी मा छिन ,तीन सन्तान बाट चार नाति नातिनी छन,अन्त्तत मेरो परिवार खुशी र सुखी छ् र सबै हामी प्रसन्न छौ । ,साहीत्यतर्फ मेरो रुची छ । छिट्टै साहित्यिक कृति प्रकाशन गर्ने तयारी गरिरहेको खबर पनि सुनाउदै

प्रस्तुति :- महेश्वर गजुरेल

Loading...

LEAVE A REPLY