“सम्बृद्ध नेपालको आधार नै पर्यटन उद्योग “

Sharing is caring!

बलराम न्यौपाने नेपालको पर्यटन क्षेत्रमा चिनाइरहनुपर्ने नाम होइन । आजभन्दा झण्डै ६ दशक अघि दुर्गम रसुवा जिल्लामा जन्मिएका हुन् । आजभन्दा ५८ बर्ष अगाडि रसुवाकै भोर्ले गाविसमा गुणानिधि र आमा कुष्णकुमारी न्यौपानेको कोखबाट जन्मिएका हुन उनी । मध्यम बर्गीय परिवारमा जन्मिएका उनी नेपालको पर्यटन क्षेत्रमा दतचित्त भएर लागिपरेका छन् । संघर्ष गरेर कहिल्यै नथाक्ने न्यौपानेको अहिलेको जीवन जति चमक छ उस्तै कहालीलाग्दो छ उनको विगत । उनी कुर्नै समय ज्याला मजदुरीदेखि पर्यटकको झोला बोकेर पनि हिडेका हुन । त्यही संघर्षले पुराएको हो उनलाई यो उचाईसम्म । अहिले उनी राजधानीको ठमेलमा रसुवा ट्रेक एण्ड एक्सपीडिसन प्रालिका प्रमुखका जिम्मेवारी सम्हाल्दै आएका छन् । न्यौपानेकै शव्दमा यो क्षेत्रले उनलाई यसरी मोहनी लगाइदियो कि उनी यो क्षेत्र छाडेर अन्त जानै सकेनन् । न्यौपाने आज सफल पर्यटन व्यवसायीको रुपमा चिनिन्छन् । सामाजिक विकास र सेवामा मात्र होइन राजनीतिमा पनि उत्तिकै सक्रिय छन न्यौपाने । अहिले उनीे रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष समेत हुन् । उनै न्यौपानेसँग पर्यटनको सम्भवना, सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्राउनका लागि के कस्ता चुनौतिहरु छन् भन्ने सेरोफेरोमा रहि हाम्रा सहकर्मी महेश्वर गजुरेलले केही जिज्ञासा राखेका छन् :

तपाई लामो समयदेखि पर्यटन क्षेत्रमा हुनुहुन्छ । तर नेपाल आउने पर्यटकको संख्या संख्यात्मक रुपमा बढे पनि गुणात्मक रुपमा बढ्न सकेन । कारण के हो ?

अहिले नेपालमा आउने पर्यटकको संख्या दिनहुँ बढ्दो छ । नेपालमा आउँने पर्यटक धेरै धनी हुँदैनन् । उनीहरू धेरै रकम खर्च गर्न मात्र आएका हुँदैनन् । उनीहरू विभिन्न तरिकाले नेपालका पर्यटकीय क्षेत्रको भ्रमण गरेर र्फकन्छन् । त्यसैले गाउँ तहदेखि सबै ठाउँमा पर्यटन व्यवसायमा लागेका दाजुभाई दिदी वहिनीहरूमा लगनशील भएर ढुक्कले लाग्न आग्रह गर्दछु । उनीहरूलाई राम्रो सुविधा दिर्नुपर्छ । इमान्दार र लगनशील भएर पर्यटन व्यवसाय गरे जीवन चलाउन गाह्रो छैन । पर्यटन व्यवसायले अर्थतन्त्रको ठूलो भाग लिएको हुन्छ ।

पर्यटन व्यवसायको अझ विकास गर्नका लागि के आवश्यक छ ?

मुख्य कुरा सरसफाई हो । उनीहरूले सफा खोज्छन, तर हाम्रो मुलुकको राजधानी शहर सफा राख्न सकेका छैनौं । उनीहरू प्लेनबाट झर्नासाथ एयरपोर्टदेखि नै दिक्क हुने खालको वातावरण छ । त्यो सुधार हुन सकेको छैन । जथाभावी फालिएका कागजहरू, फोहोरहरुले शहरको सौन्दर्य बिगारेको छ । त्यसमाथि पनि हाम्रोमा सिस्टम् राम्रो छैन । स्वतन्त्र रूपमा पर्यटक आफै ठाउँ रोजेर बस्न पाएका छैनन् । यहाँ तानातान हुन्छ, त्यस्तो हुनु नराम्रो हो । ट्याक्सी ड्राइभरदेखि नै हाम्रो होटलमा जाउँ भनेर उनीहरुलाई दिक्क पारिन्छ । राम्रो स्वागत सत्कार गर्ने सकेमा अझै राम्रो हुन्छ । जसले गर्दा यहाँको प्रचार पर्यटक आफैले गर्छन् ।

बर्षोनी हजारौं विदेशी पर्यटकहरू नेपालको के कुरा प्रति आकषिर्त भएर आउँछन् ?

नेपालमा हाम्रो आफ्नै संष्कृति छ । हामी संष्कृतिमा धनी छौं । विभिन्न जातजाती, भाषा, भेषभूषा, फरक फरक हावापानी यहाँको भौगोलिक विषमता, वन, वन्यजन्त, डाडाँकाँडा हरियाली वनपाखा विभिन्न आकर्ष हिमाली दृष्यहरू उनीहरू निकै मन पराउछन् । एक डाडाँबाट अर्को डाडाँ आउछ , त्यस्तै उनीहरू मन पराउँछन् ।

सन् २०२० मा २० लाख पर्यटक भित्राउन सकिएला ?

पर्यटन विकासका लागि नेपाल पर्यटन बोर्ड लगायतका विभिन्न संस्थाहरू विभिन्न नीजि क्षेत्र जस्तै टान, नाटा, नारा जस्ता संस्थाहरूले पनि सक्दो तयारी गरिरहेका छन् । तर सोचनिय बिषय सिजनमा होटलहरू यहाँ ठमेल क्षेत्रमा पनि पाईदैन । केहि समय अघि अन्नपूर्ण क्षेत्रमा भिडभाड भयो, लाङटाङमा पनि निकै भिड भएको थियो । त्यसैले बास तथा खाना कसरी व्यवस्थापन गर्ने ? सरकारले पर्याप्त पूर्वाधारहरूको विकास गर्न सकेको छैन । पर्यटन बर्ष घोषणा गर्नुभन्दा अगाडि होटल र रेष्टुरेण्ट पूर्वाधारको विकास गर्नुपर्छ । प्रशस्त तयारी र योजना गर्नु पर्छ । राम्रो व्यवस्थापन गर्न सकेनौं भने नराम्रो सन्देश जान्छ । तर पनि पर्यटन बर्ष सन् २०२० सफल हुनेमा म विश्वस्त छु ।

सरकारले कस्तो नीति ल्याएको खण्डमा पर्यटन व्यवसायले फड्को मार्न सक्छ ?

सरकारले पहिलो कुरा सरसफाईमा ध्यान दिनु पर्यो । देशको पहिलो परिचय हाम्रो राजधानी शहर राम्रो र सफा छैन । यसले गर्दा पर्यटकहरू आउँदैनन् । हप्तौंसम्म राजधानीमा फोहोर उठ्दैन । फोहोरले विभिन्न रोग निम्त्याउँछ सधै नाक नथुनी हिंड्न नसक्ने अवस्था छ । मास्क लगाएर हिड्नु पर्ने अबस्था सुध्रन सकेको छैन् । हामीलाई नै हाम्रै शहरमा सहजता छैन भने विदेशी पर्यटकले के सोच्दा हुन् ? बाहिर गएर कस्तो प्रचार गर्दा हुन् ? यस्तै सरसफाईको अलावा सुरक्षा बाटोघाटोको विकास र राम्रो खानपान व्यवस्था राम्रो हुन सकेमा ढुक्क भएर नेपाल आउने विदेशी पर्यटक अहिले भन्दा दोब्बर हुन्छ ।
यस्तै नीतिगत विषयमा मात्र संसोधन गर्ने हो भने पनि पर्यटन क्षेत्रले राहत महशुष गर्न सक्छ । अझै पनि नेपालमा मेचीदेखि महाकालीसम्म तिब्बतसंग सिमाना जोडिएका निषेधित क्षेत्रहरु छन। ती क्षेत्रहरु खोल्नैपर्छ । टानको पहलले केही ठाउँहरु खोलिए पनि अधिकांश स्थानहरु निषेधित छन । सवै एकैपटक नखोले पनि विस्तारै खोल्दै जाने नीति अबलम्वन गर्नुपर्छ । यस्तै प्रमिटबाट मात्र शुल्क लिने नीतिभन्दा पर्यटकको बसाई बढाएर आम्दानी गर्ने नीति अबलम्बन गर्नुपर्दछ । यस्तै नेपाल बायुसेवा निगमको फ्लाईट पञ्चायत कालमा बरु धेरै स्थानमा हुन्थे आजती स्थानमा पनि हुँदैनन । नेपाल वायुसेवा निगमसंग एक दर्जन जहाजहरु हुनैपर्छ,कमसेकम पनि हिजो भएका ठाउँहरु नियमित उडान भएको खण्डमा धेरै फड्को मात्र सक्छ ।

Sharing is caring!

Loading...

LEAVE A REPLY