प्रहरीको कुटाइबाट ७४ वर्षीया वृद्धको मृत्यु

बैतडीको पाटन नगरपालिका ६, भकुडाका ७४ वर्षीय बृद्ध कमलाकान्त पन्तको प्रहरीको कुटाइबाट मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी नायब निरिक्षक असोक बहादुर पालको नेतृत्वमा खटिएको टोलीले सोमबार राति पन्तको घरमै गएर कुटपिट गरी हत्या गरेको पारवारिक स्रोतको दाबी छ। मृतक पन्तका ४० वर्षीय छोरा लवदेव पन्तको सोही दिन साँझ स्थानीय बजारमा होटल मालिक शान्ति पन्तसँग मदिरा सेवन गर्दा समान्य विवाद भएको थियो। पसल मालिक शान्तिले इलाका प्रहरी कार्यालय पाटनलाई खबर गरेपछि पन्तलाई पक्राउ गर्न प्रहरी नायब निरक्षक पाल, ज्ञानसिहं धामी, टुकराम राना, दानसिहं भण्डारी र भुपेन्द्र महरा सहित ५ जनाको टोली मध्यरातमा पन्तको घर पुगेको आफन्त हरिदत्त पन्तले जानकारी दिएाका छन्।

उनले घटनास्थल पुगेका प्रहरी टोलीले मदिरा सेवन गरेको र लवदेव पन्तलाई बजारबाट घर आएर सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा बुवा कमलाकान्तले रोक्ने प्रयास गरेपछि प्रहरीले कुटपिट गरेको बताए। पन्तका अनुसार कमलाकन्त माथि प्रहरीले एक्कासी थप्पड, मुक्का र डण्डा प्रहार गरेका थिए। छोरालाई लिएर गएको दोस्रो बिहान कमलाकान्तको मृत शव भेटाइएको स्थानीयको भनाइ छ। जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नेत्रमणि गिरीले सोही विवाद मिलाउन प्रहरी टोली घटनास्थल पठाइएको तर प्रहरीको कुटाइबाट मृत्यु भए नभएको पोष्टमार्टम पश्चात मात्र पुष्टि हुने बताए। मृतक पन्तको शव पाटन स्वास्थ्य कार्यालयमा राखिएको छ । डिएसपी गिरीका अनुसार मृतकको पोष्टमार्टम आज नै गरिने छ ।

पीडित पन्त परिवारले घटनामा संलग्न प्रहरीलाई कारबाही‍ र पीडित पक्षलाई उचित क्षतिपुर्तिको माग राख्दै राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयमा निवेदन दर्ता गराएका छन्।

LEAVE A REPLY