मध्य र पश्चिम तराईमा ‘लु’का कारण, जनजीवनमा नकारात्मक असर

नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने बाँकेको नेपालगञ्ज, जहाँ अहिले अत्यधिक गर्मीका कारण जनजिवन प्रभावित भएको छ । नेपालगञ्ज लगायत पश्चिम तराईका विभिन्न ठाउँहरुमा चर्को घाम र तातो हावा चलेको छ । जसलाई ९लु० पनि भनिन्छ । ‘लु’ का कारण यस क्षेत्रको जनजीवनमा नराम्रो असर परेको छ । नेपालगञ्जमा रहेको मौसम विज्ञान विभागको शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस अभिलेख भएको थियो । गर्मी याम शुरु भएसंगै पानी नपरे पछि चर्को घामका साथै ‘लु’ चल्न थालेको हो । सोही कार्यालयका अनुसार नेपालगञ्जको तापक्रम अधिकतम ४३ र न्यूनतम ३७ डिग्री सेल्सियस आसपास रहेको छ ।

यस वर्षको सबै भन्दा बढी तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ । आइतबार ३७ डिग्री सेल्सियस रहेको तापक्रम बिहीबार सम्म आइपुग्दा ४३ डिग्री सेल्सियस पुगेको उक्त कार्यालयका मौसम विज्ञान सहायक योजना बस्ताकोटीले जानकारी दिए । ‘तातो हावा र तापक्रम वृद्धिले बढी गर्मी महसुस भइरहेको छ,’ उनले भने । चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको छ । तापक्रम बढ्नाका साथै चल्ने तातो हावा, हुरी, धुलोसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ । तातो हावाहुरीकै कारण फलफुल तथा हरियो तरकारी खेती पनि प्रभावित भएको छ । यहाँ कामदारको दैनिक जीवन कष्टकर बन्न थालेको छ । तातो हावाकै कारण दिउँसो बाहिर हिँडडुल गर्न समेत गाह्रो भएको छ । तापक्रम उच्च भएपछि बालबालिका बिरामी हुन थालेका छन् ।

वैशाख महिना भर नेपालगञ्ज लगायत पश्चिम तराईमा पानी परेको छैन । गर्मीका कारण घाउखटिरा, आउमासी, टाइफाइड ज्वरो, झाडापखाला लगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको सम्बद्ध चिकित्सकहरुले जनाएका छन् । यहाँका अस्पताल तथा स्वास्थ्य केन्द्रमा गर्मी मौसममा लाग्ने विभिन्न रोगका बिरामीको चाप बढ्दै गएको बताइएको छ । गर्मी बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले चिकित्सकले सजगता अपनाउन सुझाव दिएका छन् । गर्मी तथा वर्षायाममा बढी मात्रामा देखिने समस्या खाना विषाक्त हुनु हो । काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, पचाउन नसकिने खाद्य पदार्थले खाद्यान्न विषक्त हुने र यसबाट वान्ता हुने, पखाला लाग्ने र ज्वरो आउनेजस्ता समस्या देखापर्न सक्छ ।

अत्यधिक गर्मीमा वायु मण्डलले तातो हावा फ्याँक्दा ‘लु’ लाग्न सक्ने र यसका कारण शरीरबाट पसिना धेरै निस्केर शरीरमा पानीे कम हुन्छ । पानी कम भएपछि अङ्गहरुले तापक्रमलाई व्यवस्थित राख्न नसक्दा कमजोरी हुनेलगायत अन्य शारिरिक समसया देखा पर्ने भएकाले यसबाट बच्न पर्याप्त पानी पिउन भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रूपानन्द अधिकारीले सुझाव दिए । जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रामबहादुर चन्दका अनुसार बिहान ११ देखि दिउँसो ३ बजेको समयमा घाममा ननिस्कने, निस्कनै परेमा छाताको प्रयोग गर्नुपर्ने, पानीको बोतल साथैमा राखी पटक पटक पानी पिउनुपर्ने खानामा शाकाहारी खानेकुरा, झोल पदार्थ र फलफूल प्रशस्त मात्रामा खानुपर्ने र कडा घाममा नशालु पदार्थ सेवन गर्न नहुने ।

LEAVE A REPLY