खेलकुद र शिक्षालाई अघि बढाउने राज्यको लक्ष्य : राष्ट्रपति

Sharing is caring!

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा औपचारिक रुपमा उद्घाटन भएको घोषणा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नेपालगञ्ज रंगशालामा आयोजित भव्य समारोहमा बिहीबार उदघाटन गर्नु भएको हो ।

‘आठौं राष्ट्रिय खेलकुद, हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने मूल नाराका साथ नेपालगन्जमा दोस्रोपटक बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले खेलकुदसँगै शिक्षाको विकासमा पनि जोड दिनुपर्ने बताउनु भयो । उहाँले नेपालगञ्जमा निर्माण भएका भौतिक संरचनाले खेलकुदको विकासमा अतुलनीय सहयोग पुग्ने बताउनु भयो । विद्यालय देखि नै खेलकुदका गतिविधि गर्न जरुरी भएको उहाँको भनाइ थियो ।

पहिलोपटक खेलाडीहरूले प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्न लागेका हुन् । प्रतियोगितामा पहिलोपटक गैरआवासीय नेपाली संघको समेत सहभागिता रहेको छ । सात प्रदेश बाहेक आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र एनआरएनगरी ११ वटा टिमको सहभागिता रहेको छ । २७ चैतदेखि नै सो प्रतियोगिताका विभिन्न खेलमा प्रतिस्पर्धा भएको छ । ११ वैशाखमा प्रतियोगिता सम्पन्न हुनेछ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले खेलकुदको विकासले देशको विकासमा टेवा पुग्ने बताउनु भयो । उहाँले प्रदेश ५ को औद्योगिक शहर नेपालगञ्जमा आठौँ राष्ट्रिय प्रतियोगिता आयोजना गरेर राखेपले ठूलो गुन लगाएको समेत बताउनु भयो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सुशासन, विकास र समृद्धि आजको आवश्यकता भएको वताउनु भयो । खेलाडीको सुविधा थप्ने र क्षमता, दक्षता बढाउन तालिम लगायत सुविधा थपिने उनले बताए। अन्तराष्ट्रिय पदक बढाउन वर्तमान सरकारले बजेट बढाउन लागेको विश्वकर्माले दाबी गर्नु भयो । कार्यक्रममा राखेपका सदस्य सचिव केशवकुमार विष्टले नेपालगञ्जमा आयोजना भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक भएको बताउनु भयो ।

कार्यक्रममा ओलम्पियन सुरेन्द्रबहादुर हमालले ओलम्पिक टर्च बाल्नु भएको थियो ।

Sharing is caring!

Loading...

LEAVE A REPLY