नयाँ बर्षकै दिनदेखि सिंहदरबारले यसरी तोड्यो भारतीय सिण्डिकेट

0
76
बैंकको शाखा उद्घाट्न गर्दै सञ्चार सचिव महेन्द्रमान गुरुङ

सिंहदरबारभित्र विगत १२ बर्षदेखि भारतीय लगानी रहेको एभरेष्ट बैंकको मात्र एकाधिकार रहेकोमा उक्त सिण्डिकेट नयाँ बर्षकै दिनदेखि तोडिएको हो । राष्ट्रिय बाणिज्य बैंकले नयाँ बर्षका दिनदेखि सिंहदरबारमा शाखा कार्यालय स्थापना गर्न लागेको हो ।
यस अगाडि सांसद र संसद सचिवालयका कर्मचारीहरुको तलब भारतीय लगानीको एभरेष्ट बैंकबाट मात्रै दिईएको भन्दै तिव्र बिरोध भएपछि सरकारले राष्ट्रिय बाणिज्य बैंकलाई पनि सिंहदरबार प्रवेश गराएको हो ।
सङ्घीय संसद्मा पटकपटक सिंहदरबारभित्र किन सरकारी स्वामित्वको बैंकका शाखा खोलिएन भन्दै सरकारको ध्यानाकर्षण गराइएसँगै सरकारले भारतीय लगानीको एभरेष्ट बैंकको सिण्डिकेट तोड्दै त्यहाँ सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले समेत प्रवेश पाएको छ । यस अगाडि सांसद भीमबहादुर रावलले पछिल्लो पटक २०७५ फागुन २९ गते प्रनिधिसभाको बैठकमा नेपाली बैंकलाई भित्र जाने अनुमति नदिइनुका कारण के हो ? भन्दै प्रश्न उठाएका थिए । यस्तै सांसद विन्दा पाण्डेले पनि सङ्घीय संसद्बाट प्राप्त हुने सेवा सुविधा विदेशी बैंकको सट्टा स्वदेशी बैंकबाट भुक्तानी गर्ने व्यवस्था गर्न माग गर्नुभएको थियो । सांसद रेखा शर्मा र प्रेम सुवालले अर्थतन्त्रको मुख्य मानिने बैंकमा विदेशी संलग्नताले सबै सूचना विदेशीको कब्जामा जाने खतरा रहेको औँल्याउँदै तत्काल सरकारी स्वामित्वको बैंकको शाखा खोल्न माग राखेका थिए ।

अर्थमन्त्री डा युवराज खतिवडाले एभरेष्ट बैंक बाहेक अन्य जुनसुकै बैंकबाट पनि सांसदहरुले तलब लिन सक्ने बताएका थिए । अब सांसद र संसदका कर्मचारीले राष्ट्रिय बाणिज्य बैंकबाट समेत आफ्नो तबल भत्ता लिन सक्नेछन् ।

बैंकले आफ्नो २१८ औं शाखाका रुपमा सिंहदरबार प्रवेश गर्न लागेको हो । अब सिंहदरबारमा पनि राष्ट्रिय बाणिज्य बैंकको कार्यालय खुल्ने भएको छ । विसं २०६२/६३ को जनआन्दोलनको सफलतालगत्तै निजी क्षेत्रको एभरेष्ट बैंकले सिंहदबारमा शाखा खोली सेवा दिन थालेको थियो ।

गरे के हुँदो रहेनछ भने जस्तै भएको छ, सङ्घीय संसद्मा अर्थमन्त्री डा खतिवडाले जवाफ दिएको एक महीनापछि नयाँ बर्षकै दिन सिंहदबार परिसरमा रहेको ‘सर्भिस सेन्टरमा’ २१८औँ शाखाका रुपमा वाणिज्य बैंकले शाखा विस्तार गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले बैंकको शाखा उद्घाटन गरेका हुन् ।

LEAVE A REPLY