छाउपडी प्रथाका विरुद्ध सबैको एउटै आवाज तर कहिले हुन्छ अन्त्ये ?

0
32


सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रमा महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला घरका कुनैपनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम छ। त्यसैले यस्तो बेलामा सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केहीपर बनाइएको झुपडीमा बस्न लगाइन्छ। यस्तो गोठलाई छाउपडी कुडी भनिन्छ।

छुई अथवा छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घर परिवारदेखि बेग्लिएर बस्नुपर्ने परम्परा हो। यो प्राचीनकालदेखि नै चलिआएको बताइन्छ। मुलुकका अन्य जिल्लाका अतिरिक्त मध्य तथा सुदूरपश्चिम पश्चिम नेपालका विकट पहाडी जिल्ला जुम्ला, कालिकोट, दैलेख, डोल्पा, बझाङ, अछाम र बाजुरालगायतका दुई दर्जनभन्दा बढी जिल्लामा यो प्रथा कायमै छ। छुईका कारण अलग्गै बसेका बेला महिलाहरूमा पटक(पटक अप्रीय घटना हुन थालेपछि यहाँका महिला चिन्तित छन्। विशेषगरी बाहुन, क्षेत्री, मगर, ठकुरी परिवारका महिला यो परम्पराबाट पीडित छन्। सुत्केरी भएको २२ दिनसम्म र महिनावारी भएको नौ दिनसम्म घरदेखि टाढाको छाप्रोमा बस्नु पर्ने हुन्छ।

डोटी जिल्लामा पछिल्लो समयमा हुने सार्वजनिक सरोकारका जुनसुकै कार्यक्रमहरूमा छाउपडी प्रथाका विरुद्धमा आवाजहरू उठ्ने गरेका छन् ।

बोगटान फुड्सिल गाउँपालिकाको सहयोग तथा सामुदायिक प्रहरी सेवा केन्द्र डोटीको आयोजनामा मङ्गलवार गाउँपालिकाको कार्यालयमा गरिएको समुदाय प्रहरी साझेदारी कार्यक्रममा बोल्ने अधिकांश बत्ताहरुले छाउपडी प्रथाका विरुद्धमा आवाज उठाएका थिए ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहनुभएकी दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मञ्जु मलासीले महिलाले हिंसा सहेर बसेका कारण महिला माथीे हिंसा बढ्दै गएको बताएकी छिन् ।

समाजमा रहेका विद्यमान कुरीतिका विरुद्धमा छाउपडी प्रथा, बाल विवाह, लैङ्गिक हिंसा, बहु विवाह तथा घरेलु हिंसा लगायतका घटना न्यूनिकरणका लागी प्रहरीको अगुवाइमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भइरहेको छ सबैले सहयोग गर्नुपर्ने समेत बताइन् ।

प्रहरीले पछिल्लो समयमा जनचेतना मूलक अन्तरक्रिया कार्यक्रमका साथै नागरिकलाई सहायता पुगोस् भन्ने हेतुले नेपाल प्रहरीको काम कर्तव्यका साथै कुनै अपराधीक घटना, प्रकोप जन्य घटना, कुनै दृघटना भई हाले प्रहरीलाई कसरी छिटो भन्दा छिटो सम्पर्क गर्न सकिन्छ भन्ने विषयमा पनि टोल टोल, क्याम्पस, विद्यालयहरूमा पनि फोन नम्बरहरू बाँड्दै जानकारी गराउँदै आएको छ ।

नेपाल प्रहरीले देश व्यापी रूपमा जनसम्पर्क बढाउन समय समयमा विभिन्न अभियानहरू सञ्चालन गर्ने गरेको छ । मुस्कान सहितको प्रहरी सेवा, टोलटोलमा प्रहरी, समुदायमा प्रहरी लगायतका अभियानहरू सञ्चालन गर्दै आइरहेको छ ।

LEAVE A REPLY