बलात्कारका घटना किन रोकिएनन् ?

0
75

विचार : मोहन कार्की


राष्ट्रिय जनगणना ०६८ को तथ्यांकअनुसार जनसंख्याका हिसाबले पुरुषभन्दा महिलाको संख्या झन्डै तीन प्रतिशतले बढी देखिएको छ तापनि महिला अधिकार सुरक्षित हुन सकिरहेको छैन । दिन प्रतिदिन महिलामाथि हुने गरेका बर्बरता, ज्यादती, अपमान अनि हत्या बढ्दो छ । कतै बलात्कारबाट मारिएको खबर छ भने कतै आफ्नै श्रीमान्ले जिउँदै जलाएका त कतै बाबुद्वारा बेचिएको खबर छ ।

मोहन कार्की

दुई दशकअगाडि बलात्कारका घटना देशैभर वार्षिक दुई सयको हाराहारीमा दर्ता हुन्थे। नेपाल प्रहरीको तथ्यांकअनुसार अहिले त्यो संख्या करिब १२ सय पुगेको छ। अर्थात् दुई दशकमा बलात्कारका घटना कम्तीमा ६ सय प्रतिशतले बढेको छ। बलात्कारका घटना किन बढिरहेछ भन्नेबारे खासै अध्ययन भएको छैन। आमसञ्चार र सामाजिक सञ्जालमा आएका टिप्पणी हेर्दा गरिबी, बेरोजगार, अशिक्षा, वैदेशिक रोजगार, अश्लील चलचित्र र पुरुषप्रधान सोच आदिका कारण बलात्कार हुन्छ भन्ने मान्यता स्थापित भएको देखिन्छ। तर समाजशास्त्रीहरू भने अपराधमा संलग्न व्यक्तिहरूको पृष्ठभूमिदेखिकै अध्ययन गर्नुपर्नेमा जोड दिन्छन्।

प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांक अनुसार बलात्कारका घटनामा उल्लेख्य बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा जबरजस्ती करणीका ११ सय ३७ उजुरी परेकोमा यो आर्थिक वर्षमा ३ सय ४३ ले बढेर १४ सय ८० उजुरी परेका छन् ।

हिजोआज दिनहुुँजसो बलात्कारका समाचारले पत्रिकाका पेज भरिएका छन् । रेडियो, टेलिभिजनमा पनि बलात्कारकै समाचार बजेका छन् । त्यतिमात्रै होइन, सामाजिक सञ्जाल पनि यही समाचारले ढाकिएका छन् ।

बलात्कारीको आरोपमा मानिसहरु प्रहरीद्वारा पक्राउ नभएका पनि होइनन् । कतिपय घटनाका दोषीहरु जेल सजाय भोगिरहेका छन् । तर पनि बलात्कारका घटनामा भने अझै पनि कमी आउन सकेको छैन । अनुपातमा झ्न बढ्दो छ ।

आखिर किन हुन्छ बलत्कारका घटना ? कानुन कमजोर भएर कि दोषीलाई उचित कारबाही नभएर ? चेतनाको कमी अथवा चेतनालाई प्रयोगमा नल्याएर ? यो अध्यनको विषय बन्ला । तर, यसले समाजलाई चिन्तित बनाएको छ ।

बालिकादेखि शिक्षित युवती तथा वृद्धाहरुमा अझै पनि असुरक्षाको भय उत्तिकै छ । घरबाहिर निस्केकी छोरी समयमा घर नआइपुग्दा परिवारमा चिन्ता हुन थालेको छ । कामका लागि अरुको घरमा बसेका छोरीहरु बलात्कारको शिकार हुन पुगेका छन् । परीक्षा दिन गएकी छोरीको मृत शरीर घर आउने अवस्था सृजना भएको छ ।

बलात्कारको अर्थ एक निरीह महिलामाथि हुने यौनहिंसामात्रै होइन, आफ्नै श्रीमती पनि यौन सम्पर्क गर्न राजी हुँदिनन् र त्यो अवस्थामा यौन सम्पर्क गरिन्छ भने त्यो पनि बलात्कार हो । अझ भनौँ– असहमतिमा, प्रलोभनमा, जबर्जस्ती गरिने यौन सम्पर्क नै बलात्कार हो ।

नेपालको सन्दर्भमा आधुनिकता र फेसनका नाममा पहिरिने छोटा कपडा पनि बलात्कारको प्रमुख कारण बन्न गएको छ । समुदायको हिसाबमा पीडित संख्या मुस्लिम समुदायमा कम हुनुले पनि यो कुरालाई प्रस्ट पार्दछ । युवावस्थाका करिब १८ वर्षदेखि ३० वर्षसम्मका युवतीहरु प्रायः छोटो कपडा लगाउने र छोप्नेभन्दा धेरै देखाउन खोज्ने प्रवृत्ति बढ्दो देखिन्छ, जसका कारण विपरित लिङ्गीलाई आफूतिर आकर्षण गर्न सहयोग गर्छ ।

फलस्वरुप, दिमागमा नकारात्मक असर पर्न जान्छ, जसको कारण असहाय बालबालिका एवम् वृद्ध महिलाहरुमाथि नै यौन दुव्र्यवहार हुने गरेको पाइन्छ । जो अर्धनग्न छ उही बलात्कारको शिकार हुने होइन, अर्धनग्न शरीरको कारण त्यसको असर अन्यत्र देखिने हो ।

LEAVE A REPLY