थुम्सी वरिपरि प्रहरी पोष्ट थप्नुपर्ने आवश्यकता छ

0
42
लोकबहादुर जिसी प्रहरी निरीक्षक

प्रहरी सेवालाई देश र जनताको सेवा गर्ने अवसरको रुपमा लिने प्रहरी निरीक्षक लोकबहादुर जिसीले इलाका प्रहरी कार्यालय, गैंडाकोटको नेतृत्व सम्हालेको ६ महिना भएको छ । यसअघि प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए । उनै प्रहरी निरीक्षक जिसीसित गैंडाकोटको शान्ति सुरक्षाको अवस्थाबारे हाम्रा सहकर्मी अजय गोर्खालीले गरेको कुराकानी ।

१) समग्रमा भन्नुपर्दा गैंडाकोट क्षेत्रको शान्ति सुरक्षाको अवस्था कस्तो छ ?


– गैंडाकोट नपाभित्र पछिल्लो तीन वर्षको अन्तराललाई हेर्ने होे भने मुद्दा दर्ता संख्या र आपराधिक घटना क्रमशः घट्दो छ । समग्रमा भन्नुपर्दा शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त नै छ ।


२) यस क्षेत्रमा आपराधिक तथा अराजक गतिविधि के कस्तो भएको वा हुने गरेको पाइएको छ ? र, नियन्त्रणका लागि कार्यालयबाट के कस्ता कदम चालिएका छन् ?


– विशेषगरी गैंडाकोट नगरपालिकाभित्र घरेलु हिंसा र लागुऔषधसँग सम्बन्धित आपराधिक गतिविधि हुने गरेको पाइएको छ । त्यसको न्यूनीकरणको लागि हामीले समुदाय, टोल एवम् स्थानीय सरकारसँग मिलेर उनीहरुसितको सहकार्यमा आवश्यक कार्यहरु अगाडि बढाइरहेका छौं र त्यसको नतिजा पनि राम्रै आएको छ ।


३) इलाका प्रहरी कार्यालय गैंडाकोटले कहाँदेखि कहाँसम्मको क्षेत्र र कति जनसंख्यालाई सुरक्षा दिइरहेको छ ?


– इलाका प्रहरी कार्यालय गैंडाकोटको कार्यक्षेत्र भनेको गैंडाकोट नगरपालिकाका १८ वटै वडाहरु पर्दछन् । यसको हाइवेमात्रै २२ किलोमिटर छ, जुन नारायणी पुलदेखि झराही खोलासम्म हाम्रो हाइवे एरिया पर्दछ । पछिल्लो जनगणनाअनुसार यहाँको जनसंख्या ४६ हजारको हाराहारीमा हो तर अहिले त बढिसक्यो, त्यसको यकिन तथ्याङ्क चाहिँ छैन ।


४) तपाईंहरुलाई काम गर्नलाई स्रोत–साधनको अभाव छ कि छैन ? कार्यालय मातहत कति जनशक्ति रहेको छ ?


– स्रोतसाधनको कुरा गर्नुपर्दा हामीसित दुईवटा गाडी छन् । हाम्रो आफ्नो भवन राम्रो नहुँदा प्रहरी कर्मचारीलाई बस्न र खानको लागि मिनिमम पूर्वाधारको अभाव छ । २०४० सालमा बनेको पञ्चायतको भवनमा नै हामीले वर्तमान गुजार्नु परिरहेको अवस्था छ । जनशक्ति पनि पर्याप्त छैन । इलाका प्रहरी कार्यालयमा जम्मा ३१ जनाको मात्रै दरबन्दी रहेको छ । इप्रका गैंडाकोट मातहत अस्थायी प्रहरी पोष्ट बेल्डिहा छ, हामी टोटल ४३ जना कार्यरत छौं । कम्तीमा ६०÷६५ जना भएमा राम्रो तरिकाले काम गर्न सकिन्छ र बीचमा एउटा मातहतको पोष्ट थपियो भने अझ धेरै राम्रो काम गर्न सकिन्छ ।


५) मातहतको पोष्ट कहाँ थप्नुपर्ने देखिएको छ ?


– बेल्डिहामा जस्तै थुम्सीको वरिपरि एउटा अस्थायी प्रहरी पोष्ट बनाइयो भने काम गर्न सजिलो हुन्छ । विशेषगरी सडक दुर्घटनामा हिट एण्ड रनको अवस्थालाई नियन्त्रण गर्न पनि त्यो आवश्यक छ ।


६) सडक दुर्घटना निकै हुने गरेको जिल्ला हो नवलपरासी । दुर्घटना न्यूनीकरणका लागि प्रहरीस्तरबाट के–कस्ता क्रियाकलाप सञ्चालित छन् ?


– बाहिरबाट झट्ट हेर्दा दुर्घटनामा प्रहरी सक्रियता कम भए जस्तो देखिन्छ । वास्तवमा भएकोचाहिँ के छ भने विकासको क्रमसँगै, जनसंख्या वृद्धिसँगै हामीसँग सवारीको चाप पनि बढ्दो छ तर हामीसँग त्यही पुरानै दुई लेनको सडक छ, त्यो पनि जीर्ण अवस्थामा, जसले गर्दा यो क्षेत्रमा सडक दुर्घटनाको समस्या बढी नै छ । त्यसको नियन्त्रणको लागि हामीले विभिन्न समयमा ट्राफिक प्रहरीसँग समन्वय गरेर, विभिन्न एनजीओ÷आइएनजीओ अनि सहकारी संस्था, बैंकहरुसित को–अर्डिनेसन गरेर, स्कूले भाइबहिनीहरुलाई पनि लिएर पैदल यात्री कसरी हिँड्नुपर्छ, ड्राइभिड्ड गर्दा कसरी गर्नुपर्छ भनेर चालकहरुलाई पनि रोकेर प्लेकार्डसहित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं ।


७) विकृति विसंगतिको कुरा गर्नुपर्दा कस्ता खाले समस्या पाउनुभएको छ यस क्षेत्रमा ? एकदमै सुधार गर्नुपर्ने विषय के छ ?


– सुधार गर्नुपर्ने भनेको वडा नं. ३ र १८ मा टिपिकल लोकल टाइपका मान्छेहरु अर्थात् मंगोलियन बसोबास बढी छ । उहाँहरुले घरेलु मदिरा उत्पादन गर्ने, सेवन गर्ने गर्नुहुन्छ, यसले गर्दा घरेलु हिंसा हुन जान्छ । त्यसको नियन्त्रणको लागि हामीले सम्बन्धित वडाका प्रतिनिधिहरुसित समन्वय गरेर काम गरिरहेका छौं । त्यसलाई अझ नियन्त्रण गर्न सकियो भने घरेलु हिंसालाई धेरै हदसम्म न्यूनीकण गर्न सकिन्छ ।


८) अनि लागुऔषधको समस्या नि ?


– लागुऔषधजन्य अपराध पहिलेभन्दा कम भएको छ । १५ देख २५ वर्ष उमेरका केटाकेटीहरुमा लागुऔषध सेवन गर्ने प्रवत्ति बढी पाइएको छ । उनीहरुलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौं । लागुऔषध प्रयोग गरिसकेको वा गर्दै गरेको अवस्थामा हामीले मासिक १०÷१५ जना फेला पारिरहेका छौं । उनीहरुलाई समातेर अभिभावक बोलाई सम्झाइबुझाइ गरेर हुने हो कि, रिह्याबमा पठाउनुपर्ने हो कि वा मुद्दा चलाउनुपर्ने हो, त्यो गरिरहेका छौं । कम्तीमा अर्काेपटक लागुपदार्थ सेवन नगरुन् । उनीहरुलाई लागुऔषध सेवनबाट टाढा राख्ने प्रयास हामीले गरिरहेका छौं । यसो हुँदै गर्दा त्यो लक्षित वर्गका लागि हामीले अझै प्रभावकारी ढंगले काम गर्न सक्यौं भने यो क्षेत्रमा पनि धेरै राम्रो काम हुने छ ।


९) यतिबेला सरकार धमाधम विप्लवका मान्छे पक्रिन लागिपरेको छ, गैंडाकोटबाट कोही समातिए ?
– हालसम्म हामीले कोही पनि समातेका छैनौं । सरकारको त्यो निर्णयपछि हामीले खोजी कार्य जारी राखेका छौं । गैंडकोटमा त्यस्ता व्यक्ति रहेको रेकर्डमा त देखिएको छैन । तैपनि अन्तबाट समेत आउनसक्ने सम्भावनालाई मध्यनजर गरेर सिभिलमा प्रहरी परिचालन गरी निगरानी बढाइरहेका छौं ।
१०) बम विष्फोटका घटना भएको छ कि छैन यहाँ ?


– गैंडाकोटमा त्यस्तो कुनै पनि घटना भएको छैन । एकचोटि बन्दको बेला जयश्री पुलमा तर्साउने हिसाबले बम जस्तो देखिने वस्तु राखिएको थियो तर त्यो सक्कली बम थिएन ।
११) तपाईं यहाँ आउनुभएपछि बलात्कार र हत्याका घटना भएका छन् कि छैनन् ? छन् भने अपराधी पक्राउ परे कि परेनन् ?


– म यहाँ आइसकेपछि यो छ महिनामा कुनैपनि कर्तव्य ज्यान तथा हत्याका घटना भएको छैन । जबरजस्ती करणीका दुईवटा घटना दर्ता गरिएको र दुईवटै घटनाका दोषीलाई पक्राउ गरेर सफल अनुसन्धानपश्चात् दुईवटै प्रतिवादीहरु अहिले कारागारमा छन् ।


१२) कहिलेदेखि कुन पदबाट जागिर सुरु गर्नुभएको र कहाँसम्म पुग्छु भन्ने लागेको छ ?


– २०७० साल १२ महिना ९ गतेदेखि मैले प्रहरी निरीक्षक पदबाटै जागिर सुरु गरेको हुँ । म कहाँसम्म पुग्छु भन्ने मेरो व्यक्तिगत कुरा होइन । मेरो अहिलेसम्मको पर्फर्मेन्स र भविष्यको पर्फर्मेन्स कस्तो रहन्छ, संगठन र राष्ट्रलाई मैले के दिन सक्छु त्यो अनुसार नै मेरो वृत्तिविकास हुने हो ।

LEAVE A REPLY