पार्टीमा अस्वाभाविक मान्छे हुलेपछि यस्तै हो, अझै दुर्गती भोग्न बाँकी छ

– अंगद बूढा, पूर्वएमाले, हाल : कांग्रेस नेता

अंगद बूढाको अहिलेको राजनीतिक परिचय हो, नेपाली कांग्रेस डोल्पाको सभापति । उनको राजनीतिक जीवनको २६ वर्षचाहिँ कम्युनिष्ट आन्दोलनमा बित्यो, त्यसअघि राप्रपामा थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनअघिसम्म नेकपा (एमाले) का नेता थिए । तर, राप्रपाबाट एमाले प्रवेश गरेका धनबहादुर बूढाले पार्टी प्रवेशलगत्तै चुनावको टिकट पाएपछि उनी असन्तुष्ट बने । केन्द्रका नेताहरुलाई राप्रपाका उनै नवप्रवेशी मन पर्नाले अंगदको पार्टीप्रतिको मोहभंग भयो । अहिले नै धनबहादुर पर्यटन राज्यमन्त्री छन् । व्यक्तिहरुको यस्तो अस्वाभाविक विकासक्रमले कम्युनिष्ट आन्दोलनको साख क्रमशः गिर्दै गएको उनको धारणा छ ।

० अहिले के गर्दै हुनुहुन्छ ?
– जिन्दगी एमालेलाई सुम्पिएको थिएँ । त्यसका लागि घर, परिवार, व्यक्तिगत स्वार्थ सबै त्यागेँ । डोल्पामा आज पनि कतिपय मान्छेलाई कम्युनिष्ट पार्टी वा एमाले भन्न आउँदैन, अंगदको पार्टी भन्छन् । मैले नेतृत्व लिँदा पार्टी यति कमजोर थियो कि, ५÷६ सय मत पनि आउँदैनथ्यो । त्यस्तो कमजोर संगठनलाई जिल्लामा व्यापक बनाएर जित्ने अवस्थामा पु¥याएपछि निर्वाचनको समयमा टिकट पाउनुपर्ने व्यक्तिको हक अधिकार खोसेर अर्कैलाई दिइयो । पार्टीमा प्रतिवेदन पेश ग¥यौं तर सुनुवाई भएन । टिकट ठेकेदारलाई दिनुको तात्पर्य तपाईंहरुले बुझ्नुहुन्छ नि † जीवन–जवानी सुम्पिएको पार्टीले देखाएको व्यवहारका कारण धेरै दुःख लाग्यो । स्वतन्त्र उम्मेद्वारका रुपमा लडेँ, १८ सयभन्दा बढी भोट ल्याएँ । धरौटी फिर्ता भयो । कांग्रेस पार्टीबाट लडेको साथीको धरौटी पच भयो । धेरै साथीले पार्टीमा फिर्ता बोलाउनुभयो । तर, सिद्धान्तसँग व्यवहार नमिल्ने पार्टीमा फर्कन सकिनँ, खोक्रो आदर्श बोकेर हिँड्न सकिनँ । मैले डोल्पाली जनतालाई एमाले जे हो भनेर बुझाएको थिएँ, एमालेले आफू त्यो होइन भन्ने कुरा व्यवहारले देखाएपछि मलाई कस्तो भयो होला ? मसँग कांग्रेस र माओवादीमध्ये कतै प्रवेश गर्ने विकल्प थियो । एमाले सफ्टलाइनरमा हामी अटाएनौँ भने माओवादीजस्तो कट्टर र हार्डलाइनर पार्टीमा त झन् अट्ने कुरै आउँदैनथ्यो । वीपीको आदर्श र सिद्धान्तबाट म एकदमै आकर्षित । स्वभाव पनि प्रजातान्त्रिक । त्यही कारण कांग्रेसमा प्रवेश गरेँ ।

० यो बीचमा एमालेमै फर्किनुस् भनेर केन्द्रीय नेताहरुले भनेन् ?

– जब टिकट बिक्री भयो, केपी ओलीलाई भेट्न बालकोट गएँ । उहाँले ‘अंगद कमरेड, म तपाईंलाई समानुपातिकमा ल्याउँछु, हुँदैन ?’ भन्नुभयो । मैले भनेँ, ‘एसएलसी वास्तविक परीक्षार्थीले तयारी गरेको हुन्छ । त्यसको विकल्पमा अरु पठाउन मिल्दैन । हजुरहरुले सम्बन्धित व्यक्तिसँग जस्तोसुकै फाइदा लिनुस्, मलाई मतलब भएन तर समानुपातिकमा उहाँलाई ल्याउनुस्, प्रत्यक्षको टिकट मलाई दिनुस् । साँप मर्ने, लठ्ठी पनि नभाँचिने !’ तर, बचन दिन सक्नुभएन । त्यसपछि समानुपातिक इन्कार गरेर स्वतन्त्र लड्ने निर्णय गरेको हुँ ।

अंगद बूढा, पूर्वएमाले, हाल : कांग्रेस नेता

० अहिले धनु बूढाले पाएको अवसर एमालेमै बसेको भए घुमिफिरी आफूतिर आउँथ्योजस्तो लाग्दैन ?

– प्रायःले ‘एमाले छोड्न नहुने ! त्यहीँ बस्नुपर्ने ! तपाईंलाई समानुपातिकमा ल्याइहाल्थ्यो, मन्त्री भइहाल्नुहुन्थ्यो’ भन्छन् । स्वाभिमान, निष्ठा, आस्था र प्रतिष्ठामा आँच आएपछि मान्छेले सहन सक्दैन । मलाई लाग्यो, म एमालेमै बसिरहँदा त्यहाँ गुटबन्दी चल्छ । टिकट पाउनेलाई च्याप्ने एउटा पक्ष हुन्थ्यो । पैसाको ठूलो चलखेल हुन्थ्यो ।

० कांग्रेस छाडेर एमाले प्रवेश गरेकाहरु धेरै भेटिन्छन् । तर, कम्युनिष्ट स्कुलिङबाट आएकाहरु कांग्रेस प्रवेश गरेको बिरलै भेटिन्छन् । तपाईंलाई कांग्रेसको मोहले कसरी तान्यो ?

– मदन भण्डारीको जनताको बहुदलीय जनवाद र वीपीको प्रजातान्त्रिक समाजवाद नामले मात्र फरक । नेपाली समाजमा हामीले लागु गर्ने समाजवादी व्यवस्था हो । तर बिडम्बना, कांग्रेसले आज वीपीको दर्शनलाई बिर्सियो । वीपीको सिद्धान्त र आदर्शबाट प्रभावित भएर कांग्रेसमा गएको हुँ । विनोद चौधरी पनि कुनै समय एमालेमै थिए नि !

० माओवादी र एमालेबीचको पार्टी एकता कत्तिको फलदायी होलाजस्तो लाग्छ ?

– केपी ओली र प्रचण्डका आ–आफ्नै स्वार्थमा पार्टी एकता भएको हो । मैले नजिकबाट चिनेको र बुझेको केपी ओली एकदमै चतुर मान्छे । प्रचण्ड मैले भन्नै परेन । उहाँहरुको गठबन्धन स्वार्थको हो । देश र जनताको हितका लागि होइन । स्वार्थ मिलुन्जेल सँगै रहन्छन्, स्वार्थ नमिलेपछि दुर्घटना हुन्छ । अहिले नै हेर्नुस् न, आफ्ना पकेटका मान्छेलाई मन्त्री बनाउन, ठाउँ–ठाउँमा नियुक्ति दिनका लागि कमिटीहरुको एकता नै गरेका छैनन् । एकता गरेपछि त कमिटी प्रणालीमा चल्छ । कमिटी प्रणालीले पार्टीमा गरेको योगदानका आधारमा अवसर वितरण गर्छ । ठेकेदारहरुलाई कमिटी प्रणालीले पोस्दैन । त्यस्तालाई पोस्ने भनेको स्वार्थ बोकेका नेताले हो । तिनीहरुले नेतालाई पनि बदलामा त्यस्तै केही गर्लान् । यही लोभमा परेर अहिलेको नेकपा क्रमशः पलायन हुँदै जाने देख्छु ।

० सरकारको एक वर्षे कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

– एक वर्षमा काठमाडौंलाई सिंगापुर बनाउन त गाह्रो हुन्छ । तर, यो सरकारले गफबाहेक त्यसको कुनै संकेतसम्म दिन सकेको छैन । देश बनाउन हैन, केही मान्छेहरु बन्नका लागि सरकार बनेजस्तो जनताले महसुस गर्न थालिसकेका छन् । आगामी चुनावमा जनताले यसको जवाफ परिणामबाट दिने छन् ।

० सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउने कुरामा कांग्रेस सभापतिको पनि समर्थन छ । यसमा के भन्नुहुन्छ ?

– सङ्लो पानीलाई धमिलो पारेर माछा मार्ने खेलमात्र हो यो । विप्लव भूमिगत भएकै छैनन् । तर, सरकारकै कारण भूमिगत हुँदैछन् । सरकार आफैं देशमा अस्थिरता र द्वन्द्व निम्त्याउँदैछ । प्रचण्डको भूमिगत अवस्था कस्तो थियो ? देश पूरै आतंकित थियो । प्रचण्डसँग वार्ताबाट देशले निकाश पाउने । त्यही व्यक्तिसँग अहिले पार्टी एकता गर्न सक्नेले विप्लवलाई लुटेरा भन्नु हाँस्यास्पद हो । देशमा अशान्ति, अराजकता निम्ताएर आफू सत्तामा टिक्ने प्रयास मात्र हो ।

० डोल्पाबाट वामदेवलाई उपचुनावमा उठाएको भए जित्ने सम्भावना कतिको रहन्थ्यो ?

– वामदेवलाई जिताउने शर्तमा राज्यमन्त्री बनाइएका मान्छे खुराफातीको मामिलामा एकदम अगाडि छन् भन्ने मलाई थाहा थियो । उनले राजीनामा दिँदैनन्, वामदेवलाई धोका दिन्छन् भन्ने प्रष्टै थियो । त्यही कारण मैले यसमा त्यति ध्यान दिइनँ, वास्ता पनि गरिनँ । यदि चुनाव भइदिएको भए सिंगो नेपाली कांग्रेसको इज्जतको सवाल आउँथ्यो । वामदेवले जो नचिताएको हो, त्यस्तो परिणाम आउँथ्यो । म उम्मेदवार हुन्थेँ । अहिलेसम्म सांसद भइसकेको हुन्थेँ । तर, कन्फर्म कुरा के हो भने, इमान–जमान नभएको मान्छेको भर पर्दा वामदेवलाई विरोधीहरुले बद्नाम गरे । पार्टीमा अस्वाभाविक मान्छे हुलेपछि आउने परिणाम त यस्तै हो नि ! यो त केही होइन, अझै दुर्गती भोग्न बाँकी छ । समय आएपछि नेकपाका नेताहरुले देखिहाल्नु हुन्छ ।

० कांग्रेसकै केही नेताहरु भन्न थालेका छन्, इतिहासकै कमजोर प्रतिपक्ष देखियो । संसद, सडक कतै पनि विरोधका आवाज बुलन्द पार्न सकेन । कारण के हो ?

– सडक तोडफोड गर्दै हिँड्ने प्रचलन थियो, त्यो देखिएन । यसलाई सकरात्मक रुपमै लिनुपर्छ । शान्तिपूर्ण तवरले गर्नुपर्ने, प्रतिपक्षको तर्फबाट हुनुपर्ने विरोध हुन नसकेकै हो । वाइडबडी, निर्मला हत्या प्रकरण, ठेकेदारलाई कारवाही गर्नेलगायतका यस्ता दर्जनौं इस्युहरु थिए । तर, लहरो तान्दा पहरो झर्ने कारणले पनि हुनसक्छ । तपाईं–हामीलाई के–को डर छ ?

० पार्टी सभापतिविरुद्ध ५४ जिल्लाका सभापतिहरु भेला हुनुपर्ने स्थिति छ । यस्तो अवस्थाचाहिँ किन आयो ?

– महासमितिको बैठक डाकियो । जसले केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान हटाउने भनिएको हो । केन्द्रीय कार्यसमितिले पालना गरेन । सबै जिल्ला सभापतिहरु एक हुन्छन् भने म छुट्दिन भनेर मैले भौतिक अनुपस्थितिबिना मौखिक सहमति दिएकै हुँ । महाधिवेशनमा भोटिङबाट हटाउने प्रबन्ध हुँदाहुँदै सभापतिहरुले गुटबन्दीका आधारमा यसरी बाहिर अवधारणा व्यक्त गर्नु उचित होइन । अहिलेको सभापतिले ठीक ढंगबाट पार्टी हाँक्न सकेका छैनन् । पार्टी उहाँकै कारण कमजोर भएको छ भने महाधिवेशन उहाँले रोकेर रोकिँदैन । निर्विरोध हुँदैन । मतदान गरेर ल्याउन सकिन्छ । संस्थापन पक्षलाई सहयोग गर्नुपर्छ ।

० भातृसंगठनतिर पनि कांग्रेसमा भद्रगोल छ । यस्तो अवस्था आउनुमा सभापति कत्तिको जिम्मेवार ?
– सभापतिलाई कति अधिकार छ ? कांग्रेसमा म नयाँ अनुहार । जतिखेर एमालेको जिल्ला अध्यक्ष थिएँ, त्यतिबेला हाम्रो कमिटी धेरै अनुशासित थियो । हरेक तीन महिनामा फूल बैठक बस्थ्यो । प्रतिवेदन प्रस्तुत गरिन्थ्यो । कांग्रेसमा के परिपाटी स्थापित रहेछ र प्रजातन्त्रलाई कसरी परिभाषित गरिएको रहेछ भने, जे मन लाग्यो त्यही गर्न पाउनुपर्ने † जे भन्न मन लाग्यो भन्न दिनुपर्ने । त्यसलाई नियन्त्रण गर्न खोजियो भने निरंकुशतावादीको ट्याग लाग्ने । भातृसंगठन एनजिओ–आइएनजिओको रुपमा चलिरहेको छ, जसमाथि पार्टीको नियन्त्रण छैन ।

० भनेपछि तपाईंलाई कांग्रेस पनि त्यति गतिलो लागेन ?

– यो पार्टीलाई सांगठानिक रुपमा जसरी बनाउँछु भन्ने सोचले कांग्रेस प्रवेश गरेको थिएँ, त्यो अनुसार काम गर्ने वातावरण नै पाइनँ । जुन परिपाटीका गुट र उपगुट यहाँ छन्, अचम्म–अचम्मका † घात–अन्तर्घात चल्दै आएको रहेछ, त्यो मेरालागि नयाँ हो । हामीले केका लागि र कसका लागि संगठन गर्ने ? प्रधानमन्त्रीदेखि गृहमन्त्रीसमेत आफ्नै भएको समयमा एमालेका उम्मेद्वारले केन्द्रीय नेतालाई समेत प्रभावमा पार्दछ भने (निर्वाचनको समयमा) कसको लागि संगठन बनाउने ? हाम्रो गुनासो उहाँहरुको कानसम्म पुग्नै दिइँदैन । त्यस्तो सञ्जाल रहेसम्म कहिले पनि कांग्रेस सफल होलाजस्तो लाग्दैन । एमालेमा हुँदा केपी भने केपी, माधव भने माधव, वामदेव भने वामदेवसँग कुरा लैजान सकिन्थ्यो । यहाँ त अचम्मको घेराबन्दी छ ।

० निराशा बाँकी नै छ, हैन ?

– हिजो एमालेमा जुन घात व्यहोरेर कांग्रेस प्रवेश गरिएको थियो, यहाँ त त्यहाँभन्दा पनि धेरै ठूलो समस्या रहेछ । केही गरौँ भन्ने मान्छेलाई हतारो हुन्छ । मलाई कांग्रेसमा सबैभन्दा बढी आपत्तिचाहिँ ७५ बर्ष भइसकेको, कपाल फुलेको मान्छेलाई युवा भन्ने † हामीसँग प्रशस्त समय छ भन्न खोजिएको हो । तर, काम गर्ने मान्छेका लागि समय छैन । कहिलेकाँही फ्रस्टेसन हुन्छ । तर, भन्छन् नि, सास छउञ्जेल आश !

० जिल्लामा भएको एउटा ४० करोड माथिको अनियमितता प्रकरण । त्यसको बिषयमा उजुरी बोकेर  विभिन्न पाँच निकायमा पुग्नुभयो । तर, कारवाही भएन । त्यो प्रकरण के थियो ?

– ड्रिलिप भन्ने एउटा विदेशी डोनर र नेपाल सरकारको सहयोगमा हुने कार्यक्रम । करोडौंको बजेटमा डोल्पाको दुनैदेखि लासिधापसम्म मोटरबाटो निर्माणको कुरा थियो । ४४ करोडमा चार करोड खर्चेर सबैले आफ्नो गोजीमा हाले । यो प्रकरणमा सानो ठेकेदारदेखि डोलिडारका इञ्जिनियर हुँदै धनबहादुर बूढासम्म जोडिए ।

त्यो अनियमितताको प्रकरण बोकेर सम्पत्ति शुद्धिकरण, राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार, प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसम्म उजुरी हालियो । तत्कालिन शान्ति मन्त्री सत्या पहाडीलाई जिम्मा लगाएको हो, डोल्पाबाट कुरियर गरेर । उहाँको हातमा प¥यो भन्ने जानकारी त पायौँ । तर, कहीँ पनि पुगेन । घरमै थन्क्याउनुभयो वा अन्य केही सम्झौता भयो ? थाहा भएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here