भगवान शिवले किन सेवन गर्छन् भाङ, धतुरो र गाँजा ? यस्तो रहेछ कारण

 सोमवार हिन्दूधर्मावलम्बीहरुले महाशिवरात्रि पर्व मनाउँदैछन् । शिवभक्तहरु भगवान शिवको पूजा, आराधना र उपाशनाका लागि शिव मन्दिरहरुमा जाने गर्छन् । शिवका केही भक्त भने महाशिवरात्रीलाई गाँजा, भाङ, धतुरो लगायतका नशा सेवनको पर्वको रुपमा लिन्छन् ।
शिवरात्रि नशा सेवनको पर्व हो त ? प्रश्न उठ्ने गरेको छ । धर्मशास्त्रहरुका अनुसार शिवरात्रि शिव भगवानको उपासना र आराधनाको लागि महत्त्वपूर्ण पर्व हो । शिव भगवानलाई खुसी पार्न र आफ्ना मनोकामना पूरा गर्न यो पर्व मनाउनुपर्ने मत रहेको छ । तर, महाशिवरात्रिमा पशुपति लगायत शिवमन्दिरहरुमा गाँजा, भाङ धतुरो लगायतका नशाको सेवन खुलमखुल्ला रुपमा हुने गरेको छ । यसलाई सबैले सामान्य रुपमा लिने गर्छन् ।
तर प्रश्न उठ्छ, भगवान शिवले नसाको प्रयोग किन गरे ?
यस्तो छ कथा
देवता र दैत्य मिलेर अमृतका लागि समुन्द्र मन्थन गरिरहेका थिए । उक्त समुन्द्र मन्थनमा अमृतका साथसाथ विष पनि निस्किरहेको थियो ।
पवित्र अमृतलाई त भगवान विष्णुले अत्यन्तै सुन्दर स्त्रीको रूप धारण गरेर लगे । त्यसपछि बाँकी रह्यो विष । यो विष निकै घातक थियो । त्यसको एक थोपाले पनि पृथ्वीमा ठूलो हानी पुर्‍याउन सक्थ्यो । श्रृष्टिको लागि विनाशकारी सावित हुन सक्थ्यो । यो विषलाई यत्तिकै छोड्न मिल्दैन थियो । अब समस्या पर्न गयो कि यो विष कसले पिउने रु
यसपछि सबै देवताले भगवान शिवलाई अनुरोध गरे । सबै देवीदेवताले शिव भगवानलाई यो विष धारण गर्न आग्रह गरे, किनकी भगवान शिवले मात्र त्यो विषको प्रकोपलाई सहन गर्न सामर्थ्य राख्थे । सबै देवताको अनुरोध र संसारको कल्याणका लागि भगवान शिवले उक्त विष पिए ।
शिव भगवानले विष पिउना साथ उनको गलालाई शिव पत्नी पार्वतीले समातिन् । विष भगवान शिवको शरीर भित्र पस्न पाएन । विष भगवान शिवको गलामा रोकियो जसका कारण शिव भगवानलाई नीलकण्ठ भन्ने गरिन्छ ।
विष पिउनाले भगवान शिवको स्थिति बिग्रन लाग्यो र भगवान शिव अचेत हुन लागे । तब त्यसको प्रभाव शान्त गर्नका लागि भगवान शिवलाई भांग, धतुरो, गाँजा, दूध तथा जल अर्पण गरियो ।
भगवान शिवले भांग धतुरा चढाउने परम्परा भगवान शिवको पूजा तथा अभिषेकको एक हिस्सा बनेको हो । तर अर्को अर्थमा भांग र धतुरो नशायुक्त पदार्थ हुन् । भगवान शिवलाई भांग, धतूरो चढाउनुको अर्थ हो आफ्नो खराबीलाई भगवानलाई समर्पित गर्नु या आफ्ना नराम्रो बानी र खराबीलाई त्याग्नु नै शिवको सही अर्थमा आराधना हो ।

LEAVE A REPLY