‘दन्त चिकित्सा क्षेत्रमा धेरै प्रगति र सुधार भएको छ’

डा. बिकास देसार, दन्त विभाग प्रमुख, पाटन हस्पिटल

सन् २००१ मा बीडीएस (ब्याचलर इन डेन्टल सर्जरी) अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त युनिभर्सिटी अफ मेडिकल साइन्सेस, भैरह्वामा भर्ना भएका थिए, डा. बिकास देसार । सन् २००६ मा स्नातक अध्ययन पूरा गरेपछि चार वर्ष पूरै कलेजमै रहेर काम गरे । सन् २०१० मा स्नाकोत्तर तह अध्ययनका लागि युक्रेन पुगे । युक्रेनमा साढे तीन वर्षको कोर्ष पूरा गरे । र, थप छ महिना फेलोसिपका लागि बेलायत पुगे । त्यसपछि नेपाल फर्केका उनले छ महिना देशकै जेठो अस्पताल वीर अपस्पतालमा काम गरे । वीर अस्पतालमा छ महिना जिम्मेवारी निर्वाह गरेपछि कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा सिफ्ट भए । यसअघि उनले हिमाल डेन्टलमा रहेर पनि बिरामीहरुलाई सेवा दिइसकेका छन् । साढे पाँच वर्ष टिचिङमा रहेर सेवा प्रदान गरेका उनी १० महिनादेखि पाटन हस्पिटलको दन्त चिकित्सक विभागका प्रमुख रहेका छन् । उनी बी एन्ड आर डेन्टल क्लिनिकका ओरल एण्ड म्याक्सीलोफेसियल सर्जन कन्सल्ट समेत हुन् । उनै डा. देसारसँग दन्त चिकित्सासम्बन्धि इडेभन्युजकर्मी लोक राज रुम्दालीले संक्षिप्त कुराकानी गरेका छन्:

पाटन हस्पिटलमा दन्त विभागको प्रमुख भएर आइसकेपछि भएका उपलब्धिमूलक कार्यहरु के के हुन् ?
परिवर्तन र उपलब्धिहरु भइरहेका छन् । यद्यपि, छिटो छरितो रुपमा बिरामीहरुलाई सेवा दिने नै कार्य नै प्राथमिकता हो । बिरामीको चापलाई मध्यनजर गर्दै डेन्टल चियर र मेसिन थप्ने काम गरिँदैछ । जस्ले बिरामीलाई सहज रुपमा सेवा र उपचार गर्न सकिन्छ ।

नेपालमा दन्त चिकित्साको अवस्था र भएका सुधारहरु कस्तो देख्नुहुन्छ ?
अन्य चिकित्सा क्षेत्रभन्दा डेन्टल (दन्त) क्षेत्रमा राम्रै प्रगती र सुधार भएको देख्छु । विगतमा सामान्य दाँतसम्बन्धि दुखाई भए पनि भारत नै जानुपर्ने बाध्यता थियो । तर, त्यो बाध्यता अहिले छैन । ती सबै तमाम समस्याहरु नेपलामै सम्भव भएको छ भने दन्त क्षेत्रतर्फ पनि विभिन्न विभागहरु रहेका छन् । धेरैले दन्त भन्नेबित्तिकै दाँतलाई मात्र बुझ्ने गर्नुहुन्छ तर, त्यसो होइन ।

दन्त चिकित्सा क्षेत्रभित्र के के विभागहरु रहेका छन् ?
दन्त विभागतर्फ पनि दश वटा जति विभागहरु रहेका छन् । ती विभागहरु दाँत भर्ने, गिजाको समस्यादेखि सर्जरी गर्ने विभिन्न खालका छन् । जसमा बूढाबूढी, बच्चाहरुको उपचार छुट्टै गरिन्छ । अहिले यी विभागहरुका विशेषज्ञमा हाम्रै देशका चिकित्सकहरु हुनुहुन्छ । यो खुसीको कुरा हो । यद्यपि, अन्य चिकित्सा क्षेत्रभन्दा दन्त चिकित्सा क्षेत्रको विकास, विस्तार र सुधार भइरहेको देखिन्छ ।

दन्त चिकित्सा भन्नेबित्तिकै दाँतलाई मात्र बुझिँदैन भन्नुभयो । यसबारे प्रष्ट पारिदिनुस् न,
जनमानिसले दन्त चिकित्सा भन्नेबित्तिकै दाँतसम्बन्धिमात्रै समस्याहरु बुझ्नुभएको छ । तर, त्यसो होइन यसभित्र ओरल एण्ड म्याक्सिलोफेसियल सर्जन पर्दछ । जसको आफ्नो छुट्टै विभाग पनि छ । यो उपचार सर्जरीमार्फत् गरिन्छ । मुखभित्रको भाँचिएको हड्डी जोड्ने, ट्युमर, क्यान्सर भएको खण्डमा सर्जरीमार्फत् त्यसको उपचार गर्ने । त्यस्तै बुढेसकाल लाग्दै जाँदा चाउरीदै जाने अनुहारको छालाहरुलाई तन्काउने काम पनि गरिन्छ । आँखीभै, नाक भाँच्चिएको वा बांगो टिंगो नाकलाई जस्ताको तस्तै सोझ्याउने र दुर्घटना हुँदा मुखको हड्डी भाँचिने हुन्छन् । यद्यपि, यी सबै तमाम उपचारहरु दन्त चिकित्साभित्र पर्दछन् । यस विषयमा अझैँ पनि जनमानसलाई जति बुझाउनुपर्ने त्यति बुझाउन सकिइरहेका छैन जस्तो पनि देखिन्छ । तर, विगतको तुलनामा निक्कै परिवर्तन भने आएको छ ।

सुन्दर शरीर बनाउन जति आवश्यक त्यसका लागि पहिलो दाँत अनिवार्य हो । दाँतसम्बन्धि साना साना कुरामा ध्यान नपुर्याउँदा निम्तिने समस्याहरु के के हुन् ?
एउटा दाँत न हो केही गरि बिग्रियो वा देख्यो भने निकालेर फालिन्छ अनि नयाँ दाँत भरिन्छ भन्ने हुन्छ । तर, त्यसो होइन । यस्तो सोचाइ पूर्व नै प्राथमिक सोचलाई अवलम्बन गर्न जरुरी छ । जबकि गिजामा इन्फेक्सन भई रगत जमी मुटु वा कलेजोमा पुगेको खण्डमा विभिन्न रोगहरु फैलिन सक्छन् । मानिसको मुखमा करोडौँ लुप्त रोगहरु लुकेका हुन्छन्, जस्लाई हामीले नाँगो आँखाले हेर्न सक्दैनौँ । थुकको माध्यमबाट सर्ने यो रोगले विभिन्न रोगहरु उत्पन्न गर्न सक्दछ । त्यसैले यसका लागि पहिले त मुख स्वस्थ हुनुपर्छ । मुख स्वस्थ हुनु भनेको दाँत सफा गर्नु हो ।

दाँत दुख्ने, बिग्रनेलगायत समस्याबाट कसरी मुक्ति पाउन सकिन्छ ?
दाँत शरीरको अन्य अंगझैँ अति महत्वपूर्ण अंग हो । जस्को सहायताबिना जिवनको कल्पना गर्न पनि सकिन्न । मुखभित्र रहेको दाँतले नै खाना चपाएर पाँचप्रणालीसम्म पुर्याउने कार्य गर्दछ । यदि यहिँ दाँतलाई बेवास्ता गरिएको खण्डमा त भविष्यमा विकराल रुप सिर्जना हुन सक्छ । यद्यपि, दाँत बिग्रने विभिन्न कारणहरु छन् । दाँत किराले खानुपूर्व नै सजगता अपनाइयो समाधान छ । तर, हामीकहाँ दाँत किराले खाएको निक्कै समयपछि वा दुख्न थालेपछि उपचार गर्ने बानी छ । यो बानीलाई पहिला त्याग्नुपर्छ । दाँतको नसामा बल्ल छोइसकेपछि मात्र बिरामीहरु अस्पताल दौडिन थालिन्छ । गिजाको सन्दर्भमा पनि ढिलो गरी बिरामीहरुल अस्पाल आउनुहुन्छ । यसकारण यस्तो हेल्चेक्र्याई बानीलाई छाडियो र, प्राथमिक उपचारतिर अघि बढियो भने स्वस्थ रहन सकिन्छ ।

मुख वा दाँतको समस्याहरु सिर्जना हुन नदिन के के कुराहरु ध्यान पुर्याउनुपर्ला ?
यो उपचार घरमै बसी बसी गर्न सकिन्छ । नुन पानीले ब्रस गर्ने, खाना खाइसकेपछि ब्रस गर्ने र मुख्य त खाना खाइसकेपछि पानीले कुल्ला गर्नुपर्छ । खाना वा खाजा खाइसकेपछि पानीले मुख कुल्ला गर्नुको सट्टा धेरैले न्याप्किन पेपरले मुख पुछ्ने गरिन्छ । यो बानी एकदमै नराम्रो बानी हुन्छ । दाँत सफा नगर्नाले स्याउ टोक्दा रगत आउने हुन्छन् । यद्यपि, यी कुराहरु सुनेर भन्दा पनि सबैले आफैँले महसुुस गर्दा उपयुक्त हुन्छ । समय समयमा अस्पताल गएर मुखसम्बन्धि चेकजाँच पनि गर्न सकिन्छ । त्यस्तै, हरियो सागपात, गेडागुडी, मकै भटमास खाँदा दाँत स्वस्थ रहन्छ ।

पाटन हस्पिटलमाचाहिँ दाँतसम्बन्धि कस्ता बिरामीहरु आउनुहुन्छ ?
कुनै गर्भवती महिलाले आफूलाई चाहिने हर पौष्टिक आहारा जुटाउनु अत्ति उत्तम हो । र, जुटाउनुपर्छ । तर, पछिल्लो समय यस अपस्पतालमा आफ्नो शरीरलाई स्वस्थ बनाउन जति महिलाहरु चिन्तित देखिनुहुन्छ त्यति मुखलाई सफा नगरेको पाइएको छ । हामीले यस विषय थाहा पाएसँगै उहाँहरुलाई सचेत पनि गराएका छौँ । गर्भवतीका निम्ति अर्काे मुख्य समस्या गिजा पाकिने, सुनिने समस्याले बज्जाको वजन घट्ने र अन्य केही समस्याहरु पनि देखा पर्ने गरेका छन् । त्यसैले गर्भवती महिलाले खान्कीसँगै मुख सफाइमा ध्यान पुर्याउनुपर्छ । र, मुख सफा सबैका लागि अपरिहार्य छ, स्वस्थ रहन ।

पाटन हस्पिटलमा दन्त चिकित्सा क्षेत्रका सेवा सुविधाहरुको बारेमा जानकारी गराइदिनुस् न,
दाँतसम्बन्धिका सम्पूर्ण उपचार गरिन्छ । यसभित्र दाँत निकाल्ने (कृत्रिम दाँत भर्ने), भर्नेदेखि दाँतसम्बन्धि सर्जरीका उपचार गरिन्छ । दैनिक एक सय जनाको दन्तसम्बन्धि बिरामीहरुको उपचार गरिन्छ ।

हाल हस्पिटलमा कति जना चिकित्सक सेवारत हुनुहुन्छ ?अहिले डेन्टल सर्जन चिकित्सकका रुपमा विशेषगरी तीन जना छौँ । र, हाम्रो टिमभित्र १६ जना दन्त चिकित्सकहरु हुनुहुन्छ । म यहाँको दन्त विभागको प्रमुख पनि हुँ । हामी फेसियल सर्जरी, हड्डी जोड्नदेखि लिएर सर्जरीसम्मका उपचारहरु गर्दै आएका छौँ ।

कृत्रिम उपचारपश्चात् कसैको दाँत प्राकृतिकै खालको बन्न सक्छ ?
प्राकृतिक भनेको प्राकृतिक नै हो । आफूले जन्मजातै पाएको अंगजस्तो बलियो त कहाँ हुन सक्छ । यो त भगवानले पनि गर्न सक्दैनन् । तर, समस्याको समाधानचाहिँ सत प्रतिशत सम्भव छ, कृत्रिम पद्धतिबाट । हाँस्दा खेरी नमिलेको दाँत देखिनु वा हिनताबोध हुने कारणहरु यो पद्धतिबाट सत प्रतिशत हटाउन सकिन्छ ।

नेपालमा यतिका धेरै डेन्टल हस्पिटल र चिकित्सकहरु रहे पनि प्रविधिमैत्री वातावरण सिर्जना हुन सकेको छैन भन्ने आमगुनासोलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
नेपालको सन्दर्भमा भन्नुपर्दा जतिपनि चिकित्सकहरु रहेका छन्,सबै सहरमुखी मात्र भएको देखिन्छ । परिचालनको विषयमा सरकारको पनि गल्ति भएको पनि देखिन्छ । भने, डाक्टहरुको पनि केही कमजोरी छन् ।

नेपालमा दन्त चिकित्सहरुको छाता संगठन दन्त चिकित्सक संघ पनि रहेको छ । यस्ले कस्तो खालको भूमिकाहरु निर्वाह गर्दै आएको देख्नुहुन्छ ?
म संघको सदस्य पनि हो । संघले दुर्गमा गाउँहरुमा गएर जनचेतामूलक कार्यहरु गरिरहेको छ । संघले ‘ओरल हेल्थ डे’ भन्ने जनचेतना कार्यक्रमहरु पनि गर्दैछ । यद्यपि, संघबाट त जनचेतना र दुर्गममा गएर खट्ने कार्यक्रमहरु त प्रभावकारी रुपमा गरिरहेको छ ।

अबको दन्त चिकित्साको क्षेत्र कस्तो हुनुपर्छजस्तो लाग्छ ?
मुख्य कुरा त भएका स्रोत साधनलाई उपयुक्त ढंगले प्रयोग गरिनुपर्छ । सरकारले दन्त चिकित्सकहरुलाई दूरदराजमा पठाउने राम्रो वातावरण मिलाउनुपर्छ । साना कुराले नै ठूला समस्या निम्त्याउने भएकोले हामीले मुखलाई विशेष ध्यान दिनुपर्छ ।

Loading...

LEAVE A REPLY