समायोजनका साथीहरुले घुस खाएछन कि क्या हो ? १८ पटकमा बल्ल इन्ट्री भो

– प्रेमप्रसाद सञ्जेल, उपसचिव

प्रेमप्रसाद सञ्जेल श्रम तथा रोजगार कार्यालय विराटनगरमा हाजिर भएको दुई महिनामै काज सरुवा भएपछि चर्चामा छन् । निजामती सेवा नियमावलीविरुद्ध सरुवा गरिएको भन्दै निरन्तर मन्त्रालयमा ताकेता पनि गरिरहेका छन् । श्रम कार्यालयको निमित्त रहिसकेका कारखाना निरीक्षक मणिनाथसँग उनको झिनाझप्टी नै चल्यो । खटाएको ठाउँ नगएका उनी आजकल सामाजिक सञ्जालमार्फत आगो ओकलिरहेका छन् । कसैको नजरमा ‘सन्काहा र खुस्केट’ भनेर चिनिएका उनै उपसचिव सञ्जेलको बकपत्र : 

निजामती सेवा ऐन दफा १८ को उपदफा खण्ड ख अनुसार मेरो सरुवा गैरकानुनी छ । त्यसविरुद्ध सरकारकै मेसिनरीमा उजुर गरेको छु, त्यहाँबाट न्याय नपाए अदालत जान्छु तर अनियमित काजसरुवा गरेको ठाउँमा कुनै हालतमा जान्नँ ।
दुई वर्ष बस्नुपर्ने ठाउँमा ७० दिनमै सरुवा गर्नु गैरकानुनी र त्यसविरुद्ध लड्नु मेरो कर्तव्य हो । अन्याय गर्नुभन्दा सहनु ठूलो अपराध हो । मैले भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरेको हुँ । मणिनाथ गोप अर्थात् अरू कोही पनि कर्मचारीको मानमर्दन गरेको छैन । उहाँको कार्यकालमा जीर्ण गाडी मर्मतै नभई सबै बजेट खर्च भएको छ । सबै इन्धन बजेट खर्च भए पनि गाडीचाहिँ नगरपालिकाबाहिर जाँदैन, चल्नै नसक्ने अवस्थाको छ । उहाँको कार्यकालमा दुई महिनाको ५७ हजारको बिल आयो र बाँकी ८० हजारको आउँदै छ । यी कानुनमा आधारित तथ्य हुन् ।

करोडौंको सम्पत्ति भएका धनाढ्यहरूले कारखाना निरीक्षकको जागिर खाएको अन्यत्र रेकर्ड छैन । सम्पत्ति अकुत तर सानो जागिरमा यसरी हत्ते हालेर बस्नुपर्ने कारण के रहेछ ? झापामा लामो समय निमित्त प्रमुख भएका कारखाना निरीक्षक शालिग्राम कोइरालालाई मोरङ ल्याइएको थियो । हाकिम भइसकेको मान्छे यसरी बसिरहन मिल्दैन, तपाईं आफैं जानोस् भनेर मैले भनेको हुँ ।

ठीक काम गर्नेको पछि लाग्नु अपराध हो तर जसले सेवाग्राहीलाई सताएको छ, जसको विरुद्ध उजुरी र गुनासो छ, जसबारे जनताले सूचना मागिरहेका छन्, त्यस्ता व्यक्ति र संस्थाबारे के भएको रहेछ भनेर खोजिनीति गर्नु दायित्व र परम कर्तव्य पनि हो ।

चाकडी गरेको दिन अन्तिम दिन होस् र हरामको खाएको चिज नरक होस् भनेर चालिस वर्ष पहिले निजामती सेवामा आएको हुँ ।

मैले कहीँ पनि कोही राजनीतिज्ञलाई मेरोबारे मिलाइदिनुप¥यो, यसो उसो गर्नुप¥यो, सुख–सुविधा मिलाइदिनुप¥यो भनेको छैन । अर्को कुरा, मेरो सरुवा मन्त्रीस्तरबाट हैन, सचिवस्तरबाट भएको छ । घुस नखाऊँ, खान जदिऊँ भनेर अफिसमै पोष्टर टाँसी बसिरहेको मान्छेलाई दुई वर्षको ठाउँमा ७० दिनमै सरुवा गरिदिँदा प्रक्रिया, पद्धति मिचियो कि मिचिएन ?
सरुवाबारे जानकारी पाएपछि विराटनगरस्थित पत्रकार महासंघ मोरङको सभाहलमा पत्रकार सम्मेलन गरें । त्यो सकेर सोझै आफनो कार्यालयमा पुगें किनभने मैले रमाना बुझेको थिइन । ल्यापटपलगायतका सामग्री पनि लिनु थियो । तर जुनियर मणिनाथ गोपले माथिल्लो तलामा रहेको मेरो कार्यकक्षबाट कुर्सी, टेबलसमेत बाहिर निकालिदिइसकेका रहेछन् । लामो समय कार्यालय प्रमुख रहेका उनले भाडाको घरको तल्लो साँघुरो तलामा कार्यालय अटाएर माथिल्लो तलाको पाँचवटै कोठा आफ्नो क्वार्टर बनाएका थिए ।

मैले २०२८ साल सेती अञ्चल अदालत दिपालय सिलगढीमा खुलेको अस्थायी सहायक स्तरको ननगजेटेड पदबाट लिखित, मौखिक परिक्षा दिएर सर्वोत्कृष्ट भई जागिर सुरु गरेको हुँ । त्यहाँ सवा वर्ष बस्दा बझाङ, बाजुरा, डोटी, अछाम र कैलालीको २८ दिने पैदल यात्रा गरेर काम गरेको छु ।

हाम्रो देशमा अस्तिको तारिख पर्सि दिएर पाँच रूपैयाँ खाने कर्मचारी छन् । म जापानमा पढेर आएको, सेवाग्राही आउनेबित्तिकै ऊ किन आएको हो र उसको काम किन हुन सक्दैन भनेर तुरुन्तै भनिदिनुपर्छ भन्ने मान्छे हुँ ।

नहुने भए तपाईंको काम यस कारणले हुन सक्दैन, कसैलाई चिया, नास्ता घुस खुवाएर नबस्नोस्, २० वर्ष धाए पनि हुँदैन, कानुनले मिल्दैन भनेर प्रष्ट भनिदिनुपर्छ । घुस्याहा कर्मचारीलाई यो काम गर भनेर दबाब नदिए कसलाई दिने ? पाँच मिनेटको कामलाई घण्टौं लगाएपछि किन भएन भनेर सोध्न पाउने कि नपाउने ? मलाई त कम्प्युटर, प्रिन्टर, गाडी, साइकल कलम चलाउनदेखि दर्ता चलानी गर्न सबै आउँछ । यसैले कसैलाई नपर्खी आफैं गरिदिन्छु ।

पाँच मिनेटको कामलाई पैंतालिस मिनेट लगाएपछि सहने कुरो आउँदैन । यसैले त्यस्ता कर्मचारीले मलाई हठी, सन्काहा, अभद्र व्यवहार गर्ने भनेका हुन् । म रोगी, मुडी, सन्की भएको भए नेपाल सरकारले ४० वर्ष किन जागिर दिने ? पहिले नै बर्खास्त गरिदिएको भए हुन्थ्यो ।

म भोजपुर जिल्लाको अरुण गाउँपालिका कार्कीछापमा जन्मेको हुँ । हाम्रा बाजेहरू धनी थिए रे तर म निरक्षर र सबै जग्गा–जमिन गुमाइसकेको, खान पनि नपुग्ने गरिब परिवारमा जन्मेको हुँ । आमाले दश जना सन्तान जन्माउनु भएकोमा पाँच जना कुपोषणले मरेछन् । बाबुले पसिना काढेर पढाएकाले मैले चर्चा पाउनका लागि हैन, साँच्चै जनताको दिलमा बस्न यो भ्रष्टाचारविरोधी काम गरेको हुँ ।
जापानमा एक घण्टाको पचास हजार कमाउने मान्छे म अझै महिनाको ३० हजारमा बाँचेको छु । काठमाडौंमा घर छैन । विराटनगर ५ मा बिनापिल्लरको एक तले घर छ । त्यो पनि हामी श्रीमान, श्रीमती र छोराछोरीको कमाइ जोडेर बनाएको । श्रीमती मभन्दा पनि पहिलेको जागिरे हुन् । उनी जनस्वास्थ्य कार्यलयमा अधिकृत छिन् । श्रीमतीको चालिस र मेरो चालिस जोड्दा पनि हामी बुढाबुढीले असी वर्ष जागिर खाइसकेका छौं । हाम्रा बच्चाहरू पनि जागिरे थिए । एक छोराले गंगालाल अस्पताल र अर्को नोबेलमा अनि एक छोरी नर्समा काम गर्थिन् तर अहिले तीनै जना पढ्न गएको अवस्था छ । हामीले कमाएको सम्पत्ति त्यही बिनापिल्लरको घर हो ।
मलाई २०३८ साल कात्तिक २८ गते जाँच लिएर सरकारी सेवामा पहिलो नियुक्ति दिने न्यायाधीश अहिले पनि काठमाडौं घट्टेकुलोमा बस्नुहुन्छ, उहाँलाई गएर सोधे मेरो अवस्था थाहा हुन्छ ।

जागिरको दौरान एक लाख ६ सय ३२ जना कर्मचारीसँग बसिसकें, ती कर्मचारी कसैले प्रेम सञ्जेलले यो विषयमा, यो अड्डामा काम गर्दा यसरी घुस खायो भनेर भनिदिए हुन्थ्यो । मैले एउटै अडामा सात वर्ष काम गरें । अर्बौं बजेट भएको शान्ति मन्त्रालयमा प्रवक्ता भएर बस्दा लाखौं कमाउन सक्थें होला तर सरुवा, बढुवा र घुसको विषयमा सचिवलाई नै भकुरें । कसैले भनेमा म सजाय भोग्न त्यही ठाउँमा आउन तैयार छु । मलाई फेन्टा, फ्रुटी, पेप्सी, जसले खुवाउला त्यसका बाउको र बाउ नभए आमाको रगत होला । बाबुआमा दुवै नभए खुवाउनेकै रगत होला भनेर सेवा प्रवेश गरेको मान्छे, मैले त्योभन्दा सस्तो चिज त के खाएँ होला र ? त्यो नै त खान्न भने घुस खाने प्रश्नै आउँदैन ।

यही भएर मलाई खुस्केट मात्र हैन पागल भन्थे । तेह्रथुम शिक्षा कार्यालयमा काम गर्दा पाँच सय एक्काइस शिक्षकको जागिर खुलेको थियो । त्यो बेला फोटोकपी थिएन । आफनै हातले एक्लै प्रश्नपत्र लेखेको थिएँ । त्यो बेला मेरो कान्छो सालो फेल भएको थियो र आजसम्म बोलेको छैन । उसले मलाई भिनाजुले ट्युसन पढाइदिएको भए हुन्थ्यो भन्ने चाहेको थियो तर मैले भ्याइनँ । त्यही बेला मलाई पाँच लाख घुस खान भनेका थिए, मानिनँ । त्यही बेलादेखि पागल भन्न थालेका हुन्, खुस्केट त अलि इज्जतिलो शब्द भयो ।
राम्रा कर्मचारीहरु बाहिर नआइदिएकोमा मेरो गुनासो छ । मैले उनीहरूलाई खासै गाली गरेको पनि छैन । मेरो बोली अलि तीतो र छुच्चो छ । यसैगरी बाहिर आएर पर्दाफास गरिदिनुभएको भए हाम्रो देश सप्रिनेथियो । विदेशमा सन्धि गर्नुप¥यो भने अक्षरदेखि कमासम्मको मस्यौदा लेख्ने भनेकै कर्मचारीले हो । सन्धिमा यसो भयो, उसो भयो भनेर राजनीतिज्ञको बदख्वाइँ त हामी गर्छौं तर खेस्रा गर्दा यहाँनेर नराम्रो छ, राष्ट्रहितमा छैन भनेर हामीले किन नभन्ने ? कर्मचारी ठीक भएको भए नेता र नेता ठीक भएको भए कर्मचारी तलमाथि सर्न सक्ने थिएनन् । सबै नेता र कर्मचारी खराब छन् भन्दिन तर हाम्रो दुर्भाग्य, सबै नेता घुस र कर्मचारीहरू कमिसन खाने भए ।

म लगत्तै रिटायर्ड हुन्न । तीन वर्ष जागिर बाँकी छ । अझै दुई वर्ष थपिने अवस्था छ । कर्मचारी जाती भएको भए दुई वर्ष थप्नुपर्ने थिएन । मैले समायोजनामा पनि फारम भरेको छु । अठार खेपमा बल्ल अनलाइनबाट फारम ओके गर्न सफल भएँ । समायोजन फारमको अनलाई बनाउने साथीहरूले पनि घुस खाएका रहेछन् कि क्या हो । मलाई अठार खेप लाग्यो भने अरुको के हालत भयो होला ?
घुस्याहा बोलीमा एकदम राम्रा, मजस्तो तीतो बोल्दै नबोल्ने, ब्वाँसाले पहिले भेडालाई काखामा राखेर कन्याउँछ । भेडो ब्वाँसोले माया ग¥यो भनेर मक्ख परी सुतिदिन्छ । यही मौका छोप्दै ब्वाँसोले हात हालेर आन्द्राभुँडी एकै तालमा निकालिदिन्छ । मृदृभाषी घुस खाइसकेपछि कर छल्न पनि सिकाइदिनेहरू नै भ्रष्टाचारी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here