वर्किङ भिसाको विषयले बजार तातिएको छ

अनुजकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक साकुरा नेपाल कन्सल्टेन्सी,

अनुजकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक
साकुरा नेपाल कन्सल्टेन्सी, काठमाडौं

नुवाकोटको विदुर नगरपालिका वडा नम्वर २, अशोकबारीमा जन्मिएका अनुजकुमार श्रेष्ठले एक दशकअघिदेखि काठमाडौंको सामाखुशी चोकमा साकुरा नेपाल कन्सल्टेन्सी सञ्चालन गरिरहेका छन् । कन्सल्टेन्सीका प्रबन्ध निर्देशक श्रेष्ठ सामाजिक कार्यमा पनि क्रियाशील रहेका छन् । लायन्स क्लब अफ काठमाडौं ग्लोबल टाउनका अध्यक्ष, नुवाकोट सरोकार समाजका सचिव श्रेष्ठ विभिन्न सामाजिक संघ संस्थाहरुमा आबद्ध छन् । कुनै समय नुवाकोटका चर्चित विद्यार्थी नेता समेत रहेका श्रेष्ठ राजनीतिमा समेत सकृय छन् । नेपाली समाजमा अध्ययनका लागि विदेश जाने क्रम बढेको छ । उच्च शिक्षा अध्ययनका लागि जापान जाने विद्यार्थीको पहिलो रोजाईमा परेको साकुरा नेपाल कल्सल्टेन्सीेबारे प्रबन्ध निर्देशक श्रेष्ठसँग गरिएको कुराकानी अहिले सान्दर्भिक देखिएको हुँदा त्रिशुली खबरबाट यहाँ साभार गरिएको छ : 

कन्सल्टेन्सी व्यवसाय शुरु गर्ने सोच कसरी आयो ?

वैदेशिक शिक्षासँग नेपाली विद्यार्थीको बढ्दो आकर्षण, नेपालमा अध्ययन पूरा भइसकेपछि के काम गर्ने भन्ने अन्योल, अवसरको कमी र विद्यार्थीको छिटो स्थापित भई पैसा कमाउने चाहनाले विदेश जाने इच्छा, यी सबै कुराले गर्दा कन्सल्टेन्सी व्यवसाय शुरु गर्ने सोच आयो । ०६२/ ६३ को आन्दोलनपश्चात् विद्यार्थीको विदेश अध्ययन गर्न जाने चासो बढेको र सोही समयमा मैले पढाइ सकाएर के व्यवसाय गरौँ भन्ने योजना बनाउँदै गर्दा कन्सल्टेन्सी शुरु गरिएको हो ।

नेपाली विद्यार्थीको मनोविज्ञान कस्तो रहेको छ  ?
वर्तमान परिपे्रक्ष्यमा नेपाली विद्यार्थी पढाइसँगसँगै आम्दानी पनि गर्न चाहन्छन् । आम्दानीका अवसरहरू नेपालमा प्रशस्त नपाइने भएकाले विद्यार्थी त्यसमा पनि विकसित मुलुकहरूमा जान आकर्षित भएको देखिन्छ । जहाँ पढाइसँगै केही समय काम पनि गर्न पाउने स’विधा छ, त्यहाँ बढी आकर्षण भएको पाइयो ।

जापान जाने प्रक्रिया कस्तो रहेको छ ?

जापानका लागि सरल प्रक्रिया रहेको छ । सर्वप्रथम जापानका लागि जापानिज भाषा अध्ययन अनिवार्य रहन्छ । जापानिज भाषाको पढाइ नगरी जापानका लागि कुनै पनि प्रक्रिया शुरु हुँदैन । भाषा अध्ययन सँगसँगै भाषाको विभिन्न तहगत परीक्षाहरू उत्तीर्ण गर्नुपर्छ । जापानमा गएपछि पनि भाषा नै अध्ययन गर्नुपर्ने भएकोले नेपालमा जति राम्रोसँग भाषा पढ्यो त्यति नै जापानमा सहज हुने गर्छ । भाषा राम्रो हुनेले अवसरहरू पनि राम्रै पाउने गर्छन् । त्यसपश्चात् विद्यार्थीको शैक्षिक प्रमाणपत्रको आधारमा कलेज, स्कुलहरू छनोट हुन्छ । शैक्षिक सत्र, प्राप्त अङ्क, नियमित विद्यार्थी हो कि होइन, जापान गएर उच्च शिक्षा पढ्न सक्षम छ कि छैन, परिवारिक आर्थिक हैसियत के–कस्तो रहेको छ त्यो पनि जापानिज सरकारले हेर्ने गर्छ । त्यसैले बैंक ब्यालेन्स, ट्रान्जेक्सन, वार्षिक आम्दानी, सम्पत्ति विवरण, कर तिरेको कागजात आवश्यक पर्दछ । जापानले विशेष गरी विद्यार्थी जापान गई अध्ययन गर्न सक्षम छ कि छैन र अभिभावकको आर्थिक स्थिति के कस्तो छ, त्यो हेर्ने गर्छ ।

यी प्रक्रिया पूरा गरेपछि जापान जान पाउँछन् त ? 
प्रक्रिया पूरा गर्दैमा जापान जान पाउँछन् भन्ने हुँदैन । प्रक्रिया पूरा गरेका विद्यार्थीको जापानको अध्यागमन कार्यालयमा पेस हुन्छ । अध्यागमनले सर्टिफिकेट अफ इलिजिबिलिटी प्रदान गर्ने कार्य हुन्छ । जसले इलिजिबिलिटी पेपेर पाउँछ ती विद्यार्थीले नेपालस्थित जापानिज राजदुतावासमा भिसाको निम्ति आवेदन गर्न सक्छन् । भिसा आवेदन गर्नु अगाडि विद्यार्थीले अन्तर्वार्ता तयारी कक्षामा बस्नुपर्ने हुन्छ ।

विद्यार्थीले एसईईपछि पनि आवेदन गर्न सक्छन् कि ?
एसईई मात्रैै गरेको विद्यार्थीहरू जापान जानै नपाउने भन्ने हुँदैन । जापानमा भाषाका विभिन्न कोर्सहरू हुन्छन् । सर्टटर्म कोर्स, लङटर्म कोर्सहरू हुन्छन् । तर, साकुराले लङटर्म कोर्सको निम्ति मात्रै काम गर्छ । जहाँसम्म एसईई मात्रै गरेका विद्यार्थीको सवाल छ, उनीहरू कम उमेरको हुने भएकाले विदेशमा गई अध्ययन गर्नुभन्दा नेपालमै बाह्र कक्षासम्म अध्ययन गर्नु उपयसक्त हुन्छ । अझै ब्याचलर लेभलसम्म अध्ययन पूरा गरी विदेश जाने विद्यार्थीले धेरै राम्रा अवसर पाइरहेका छन् ।

साकुराको अन्य सेवाबारे बताउनु हुन्छ कि ?

साकुरा विशेषतः भाषा अध्ययन केन्द्र हो जहाँ शैक्षिक परामर्शहरू पनि पाउन सकिन्छ । कोरियन भाषा र अङ्ग्रेजी भाषा, जापानिज भाषासमेत यहाँ अध्ययन गर्न सकिन्छ । हामीसँग भाषाका राम्रा शिक्षक रहेका छन् । नेपाल सरकार शिक्षा मन्त्रालयसँग स्वीकृति लिएर कार्य सञ्चालन भइरहेको छ । तालिमप्राप्त परामर्शदाताहरूले मात्रै परामर्श सेवा प्रदान गर्ने र अनुभवी प्रशिक्षकहरूबाट अध्यापन गराउने भएकाले नै हामी स्थापित हुन सकेका छौँ ।

विद्यार्थीले साकुरा नेपाललाई नै अध्ययनको निम्ति किन रोज्ने ?
विद्यार्थीले भाषा अध्ययनका निम्ति यस्तो संस्था रोज्नुपर्छ, जहाँ नियमित कक्षा सञ्चालन होस्, अनुभवी प्रशिक्षक र संस्था केही वर्ष पुरानो होस् ।

सञ्चालकका नियत र नैतिकताबारे पनि बुझ्नुपर्ने हुन्छ । हामी भाषा अध्यापनसँगै विशेषतः जापानको निम्ति उच्च शिक्षा पढ्ने विद्यार्थी पठाउने काम पनि गर्दै आइरहेको छौँ । जापानको काम दशौं वर्षदेखि गर्दै आइरहेका छौँ । तसर्थ हाम्रो अनुभवमाथि विद्यार्थीले ढुक्क भएर विश्वास गर्न सक्छन् ।

बजारमा भिसा ग्यारेन्टी ट्रेन्ड चलेको छ । पास नभए पैसा फिर्ताको पनि हल्ला सुनिन्छ । हामी त्यस्तो कुरामा विश्वास गर्दैनौं । कुनै पनि देशका भिसा ग्यारेन्टी हुँदैन । कसैले ग्यारेन्टी लिन्छ भने त्यो मुर्खता हो । हामी भिसाको आश्वासन दिएर काम शुरु गर्दैनौँ । जे हो त्यही स्पष्ट बताउँछौँ । त्यसैले विद्यार्थीले हामीलाई विश्वास गर्छन् ।

विद्यार्थी भिसामा जानेले काम पाउँछन् त ?
जापानमा विद्यार्थी भिसामा जानेले हप्तामा २८ घन्टा काम गर्न पाउँछन् । त्योभन्दा बढी काम गरेमा गैरकानूनी ठहरिन्छ । विद्यार्थीले आफू केका निम्ति आएको भन्ने बुझ्नु जरुरी छ । विद्यार्थी भिसामा जानेले मुख्यतः पढाइमा केन्द्रित हुनुपर्छ । यदि कुनै विद्यार्थीले आफू जापान पढ्न होइन काम गर्न गएको हो भन्ने भन्ने बुझ्छ भने ऊ कहिले पनि सन्तुष्ट हुन सक्दैन र दुःख पनि पाउँछ ।

विद्यार्थीले जापानको भिसा कति अवधिको पाउँछन् ?
जापानको भिसा अवधि कलेज, स्कुलको अवस्था हेरेर हुन्छ । जुन स्कुल, कलेजमा विद्यार्थी जाँदैछन्, त्यो संस्था कति पुरानो हो, प्रतिष्ठा के–कस्तो छ, त्यसको आधारमा जापान जान चाहने विद्यार्थीले भिसा पाउने हो । कम्तीमा ६ महिना र बढीमा २ वर्षसम्मको भिसा पाउँछन् । औसतमा हेर्दा धेरैले १५ महिना पाएको देखिन्छ । कसैले कति अवधिको भिसा पाउँछन् भनेर तोकेर मिल्दैन, त्यो जापान सरकारको अधिकारको कुरो हो ।

नेपालबाट वार्षिक कति विद्यार्थी जापान जान्छन् ?
समग्र नेपालमा हेर्ने हो भने उच्च शिक्षाको निम्ति विदेश जाने सङ्ख्या बढ्दो छ । शिक्षा मन्त्रालयबाट एनओसी लिने सङ्ख्याको आधारमा भन्नुपर्दा वार्षिक १० देखि १५ हजारसम्मको सङ्ख्यामा जापान जान्छन् । तर, एनओसी लिने सबै जनाले जापानिज राजदुतावासबाट भिसा पाउँछन् भन्ने छैन । दुतावासले लिने अन्तर्वार्तामा उत्तीर्ण विद्यार्थीले मात्र भिसा पाउँछन् ।

अहिले जापानको लागि वर्किङ भिसाको विषयले बजार तातेको छ नी ?
हो, अहिले वर्किङ भिसाको विषयले बजार तातिएको छ । यो हामी नेपालीहरुकोलागि ठुलो अबसर हो । निकट भबिश्यमा जापान सरकारले नेपाल लगाएत नौ वटा देश बाट ठुलो संख्यामा कामदार भित्र्याउँदै छ । यस बारेमा छलफल गर्न जापान सरकारको प्रतीनीधी मन्डलको नेपाल भ्रमण समेत सम्पन्न भैइ सकेको छ । यो वर्किङ भिसा जि टु जि प्रोग्राम अन्तर्गत हुने भएकोले नेपाल सरकार र जापान सरकारबीच सम्झौत भएपछि मात्रै यो कार्यक्रम लागुहुने छ । भर्खरै मात्र नेपालबाट जापानसम्म सिधा उडानको लागि हावाई सम्झौता समेत सम्पन्न भएकोछ । यसले नेपाल र जापानबीचको पारस्परिक सम्बन्धमा सुधार हुने देखिन्छ ।

अहिले शुरु हुन लागेको वर्किङ भिसाको प्रक्रियाको बारेमा केही बताई दिनु हुन्छ कि ?
वर्किङ भिसाको बारेमा कुरा के छ भने यो जापान सरकारले तय गरेको प्रकृया अनुसार अगाडी बढ्ने कार्यक्रम हो । मैले अघि पनि भने यो जि टु जि प्रोग्राम अन्तर्गत हुने भएकोले सर्वप्रथम दुई देशबीच सम्झौता हुनु जरुरी छ । त्यस पश्चात कुन बिधीबाट कामदार छनौट गर्ने हो त्यस्को टुङ्गो लाग्ने छ । अहिले सुन्नमा आए अनुसार भाषा परीक्षा र सिप परीक्षणबाट कामदार छनौट गर्ने कुरा आएको छ तर कुन तहको परीक्षा लिने हो, परीक्षा लिने निकाय कुन हो, यो सबैको टुङ्गो भने लागेको छैन । यहाँ के स्मरण गर्नु जरुरी छ भने २००५ मा दक्षिण कोरियाले यसरी नै कामदार लग्ने निर्णय गरेको थियो । फिलिपिन्स, म्यानमार, भियतनाम लगायत देशहरुमा २००५ मै भाषा परीक्षा भएको थियो तर नेपालमा बिभिन्न कारणले २००८ मा मात्रै भाषा परीक्षा हुन सकेको थियो । त्यसैले अहिले पनि त्यस्तै वातावरण देखिदै छ । यसमा नेपाल सरकार गम्भिर हुनु जरुरी छ । यो नेपालमा रेमिट्यान्स भित्र्याउने अवसर मात्रै होईन, जापानी प्रविधी र शिप भित्र्याउने अवसर पनि हो । तसर्थ यस बिषयमा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।

तपाईं व्यवसायमा बाहेक सामाजिक सेवामा पनि सक्रिय हुनुहुनछ ?
अवश्य । हुन त मैले यो पेशा, व्यवसायलाई पनि सेवाकै रूपमा लिएको छु । मैले भन्ने गरेको छु कि यो पेशामा ५१ प्रतिशत व्यवसाय हो भने ४९ प्रतिशत सेवा हो । काठमाडौंमा भाडाको घर प्रयोग गरेर शिक्षक, कर्मचारीलगायतको खर्च जुटाउन व्यवसायी बन्नुपर्ने अवस्था छ । विदेश अध्ययनको निम्ति केही नब’झेको गाउँबाट भर्खर काठमाडौं आएको विद्यार्थीलाई सही परामर्श दिएर विदेश जाँदा उत्पन्न हुन सक्ने विभिन राम्रा–नराम्रा परिस्थितिको जानकारी दिनु पनि सेवा नै त हो । त्यसबाहेक म विश्वकै सर्वाधिक पुरानो सामाजिक सेवाको संस्था लायन्स क्लबमा आबद्ध छु, नुवाकोट सरोकार समाजमा पनि सक्रिय छु । शहरमा रहेका सडक बालबालिका, मानसिक सन्तुलन गुमाउनु भएका दुःखीहरूको उद्धार, खाने–बस्ने व्यवस्था गरिदिन सक्रिय रहन्छु । नयमित रक्तदान गर्छु र रक्तदानको निम्ति अरूलाई पे्ररितसमेत गर्ने गरेको छु । सबैले आफूभन्दा केही कमजोर दीनदुःखीलाई सहयोग गर्न सके अति राम्रो हुन्छ । दुःखी असहायको निम्ति आर्थिक सङ्कलन गरेर उपचारलगायत कार्यमा सहयोग गर्दै आइरहेको छु । यसो गर्दा आत्मसन्तुष्टि प्राप्त हुने र सधैँ खुशी रहन सकिन्छ भन्ने कुरामा विश्वास गर्दछु ।

अन्त्यमा, तपाईं नुवाकोटमा जन्मिएको मानिस, बदलिदो परिबेशमा नुवाकोट मै केही गर्ने योजनामा हुनुहुन्छ कि ?

पर्यटकीय र कृषिको हिसाबले हाम्रो नुवाकोट अत्यन्तै सम्भावना रहेको जिल्ला हो । त्यसर्थ यो दुबै क्षेत्रलाई सम्योजन गर्ने गरी एक अर्गानिक फर्म सहितको रिसोर्टको काम गर्दैछौं । खास गरि नुवाकोटको विकासको निम्ति हामी नुवाकोटकै जनताले केही सोच्नु पर्ने देख्छु । हामी जहाँ सुकै होऔ, जहाँ सुकै बसौ, हामी नेपाली हौ र नुवाकोटबाट प्रतिनिधित्व गर्छौ भन्ने बिर्सनु हुन्न । नुवाकोटमा जन्मियौ, नुवाकोटमै हुर्कियौ र अहिले विभिन्न कारणले नुवाकोट बाहिर रह्यौ भन्दैमा नुवाकोटलाई भुल्यौ भने त्यो हाम्रो ठुलो कमजोरी हुनेछ, समृद्ध नुवाकोटको निम्ति देश विदेशमा रहेका हामी सबै जना एकजुट हुनु जरुरी छ र त्यसको निम्ति सबैमा अपिल गर्न चाहन्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here