प्रचण्ड,केपी ओली,गिरीजा सबै अपराधी हुन

राजेन्द्र महतो अध्यक्ष, राजपा

– राजेन्द्र महतो, राजपा अध्यक्ष मण्डलका अध्यक्ष
राष्ट्रिय दल बन्नमा थ्रेसहोल्ड बाधक भएपछि मधेसकेन्द्रित सात दलबीच एकता गरेर राष्ट्रिय दलको मान्यता पाएको राजपाभित्र विवादहरु ज्युँकात्युँ छन् । पार्टी चलाउन र मिलाउन ‘भ्यागुताको धार्नी’ जस्तो भइरहेको छ । र, त्यस्तो पार्टीको शीर्ष नेतृत्व राजेन्द्र महतोले गरिरहेका छन् । जब राजेन्द्रले पार्टी नेतृत्व लिए, तब महन्थ ठाकुरहरु आफ्नो पकडबाट नेतृत्व गुमेजस्तो अनुभव गर्दै विभिन्न भेला, बैठक र छलफल गर्ने स्थितिमा छन् । यस्तो स्थितिमा सरकारलाई समर्थन गरेको राजपाभित्र सरकारबारे फरक फरक दृष्टिकोण आउने गरेको छ ।

० तपाईंहरु विगतदेखि नै संविधान संशोधन भनिरहनुभएको छ । विकसित घटनाक्रम हेर्दा अब के होला भन्ने लाग्छ ?

– दुनियाँमा असम्भव केही छैन । दृढ इच्छाशक्ति भएको खण्डमा मुलुकको समस्या तत्कालै समाधान गर्न गाह्रो छैन । जबसम्म मुलुकमा कुनै द्वन्द्व रहन्छ अधिकार र पहिचानको संघर्ष भइरहन्छ ।

० संविधान संशोधन भएन, तपाईंहरूले सरकारलाई दिनुभएको समर्थन पनि फिर्ता भएन । के कुराले समस्या ल्यायो ?

– संविधान संशोधन, रेशम चौधरीको शपथ ग्रहण, लक्ष्मण थारुलगायतका साथीहरुको रिहाइका सवालहरु प्रधानमन्त्री केपी ओलीले समाधान गर्छु भनेपछि हामीले सरकारलाई समर्थन गरेका हौँ । तर, पटक–पटक ताकेताका बाबजुद कुनै काम पूरा हुन सकेन । रेशम चौधरीलाई शपथ गराइयो । एउटै मुलुकमा दुईथरी व्यवहार गर्ने ? गिरिजा, प्रचण्ड, केपी ओलीजीले आन्दोलन गर्दा ठीक हुने, मधेसी, थारु जनजातिहरुले गर्दा अपराधी हुने ? रेशम चौधरीलाई संसदमा प्रवेश गराइँदैन भने हामी समर्थन फिर्ता लिएर संघर्षमा जान्छौँ, त्यसपछि कुरा सिद्धिहाल्यो । अहिले पनि प्रधानमन्त्रीलाई यी कामहरु गर्नुस्, नत्र समर्थन फिर्ता लिन बाध्य हुनुपर्ला भनेका छौँ । जबसम्म बहुल राज्य बन्दैन, तबसम्म आन्दोलन भइरहन्छ । दुनियाँको सबैभन्दा गरिब दर्जाको मुलुक आइसक्यो । कहिलेसम्म गरिब राज्य बनाएर राख्ने ? ५० लाख जनता रोजीरोटीको लागि कहिलेसम्म बाहिर गइरहने ?

० अहिले महन्थ ठाकुरले बनाएका जिल्ला अध्यक्षहरु धमाधम बदल्दै हुनुहुन्छ । किन ?

– विधानअनुसार नै चक्रीय प्रणालीमा गइएको हो । जिल्ला अध्यक्षमण्डलका अध्यक्षहरु बदल्ने काम हुन सकिरहेको छैन । कुनै कारणले निस्क्रिय भएको छ । पार्टी छोडेको छ । कतै लागेको छ । रिक्त ठाउँमा परिवर्तन गर्ने काम भएको हो । अध्यक्षमण्डलका अध्यक्षहरुलाई त्यो अधिकार सुरक्षित छ । महन्थ ठाकुरले दर्जनौं ठाउँमा परिवर्तन गर्नुभएको थियो । शरद्सिंह भण्डारीको सिफारिसमा धनुषा जिल्ला अध्यक्ष मण्डलको एक जना सदस्यलाई परिवर्तन गरिएको थियो । त्यसपछि कोही अध्यक्ष परिवर्तन भएको छैन । काम नगर्नेलाई किन राख्ने ?

० पूर्व तमलोपाहरु एकता भाँड्न सक्रिय भएको बजार हल्ला कति सत्य हो ?

– यो मुलुक हल्लाको रहेछ । ६ वटा पार्टी एक भएर राजपा राम्रै चलेको हो । एकता हुन नदिन कुनै भोटै पुग्दैन । बस्न मन लागेन भने छोडेर जाने लोकतान्त्रिक अधिकार हो ।

० प्रधानमन्त्रीले राजपालाई मन्त्री बनाउने मान्छेको नाम माग्दा पनि दिन नसक्नुको कारण विवाद नै हो ?

– हामीले सरकारमा जाने मनस्थिति बनाएकै छैनौँ । उठाएका सवालहरु केही संबोधन भएकै छैन । संविधान संशोधन, रेशम चौधरीहरु रिहा भएका छैनन् । लक्ष्मण थारुहरुको मुद्दा फिर्ता भएको छैन । यस्तो अवस्थामा सरकारमा दौडिहाल्ने सोच छैन ।
० संसदभित्र पनि राजपा प्रभावकारी रुपमा प्रस्तुत भएन । शक्ति क्षीण भएको हो या नीति नै त्यस्तो हो ?

– जबसम्म समर्थन फिर्ता हुँदैन, तबसम्म संघर्षको बाटो रोजिएको छैन । चरम हिसाबले हिँडिएको छैन ।
० तीन–तीन महिनाको चक्रीय प्रणालीबाट पार्टी अगाडि बढाउन गाह्रो हुँदैन ?
– एकता गर्दा नै चक्रीय प्रणालीबाट चलाउने भनेको हो । अबको तीन महिनापछाडि महाधिवेशन हुन्छ । त्यसपछि चक्रीय प्रणाली अन्त्य हुन्छ ।
० तर, चक्रीय प्रणालीअन्तर्गत भन्दै तपार्इंले तीन महिनामै अध्यक्ष÷संयोजक पद महेन्द्र यादवका लागि छाडिदिनुभयो । महन्थ ठाकुरले किन त्यसो गर्नुभएन ?
– यो कुरा महन्थजीलाई सोध्नुपर्ला । उहाँले पनि हस्ताक्षर गर्नुभएको हो, तीन–तीन महिना अध्यक्ष चलाउने भनेर । तर, यसमा केही साथीले असहज मान्नुभयो । अहिले गलत कुरा गर्ने, अनैतिक कुरा गर्ने सबैले जवाफ पाए ।

० रेशम चौधरीलाई शपथपछि पनि जेल पठाइयो । के तपाईंहरुको सहमति थियो ?

– यो सरकारले चलाएको जगहँसाई हो । अन्याय, अत्याचार नै भयो । आन्दोलनकारी, त्यो पनि जनताबाट अनुमोदित सांसदलाई शपथ गराएर कानुन र अड्डा अदालत देखाएर, जेलमा कोच्ने ? एउटा मुलुकमा दुईथरी कानुन ? ऊ आन्दोलनकारी हो, अपराधी होइन । आन्दोलनकारी अपराधी हुने हो भने प्रचण्डजी, केपी ओली पनि अपराधी । कांग्रेसीहरुले पनि आन्दोलन गरेका थिए । त्यो आन्दोलनको क्रममा मान्छे मारिएका हुन् ।

के उनीहरुलाई पनि अपराधी भन्ने ए नि ! हामी थारु, मधेसीहरु मात्र अपराधी ? यो हुन सक्दैन । दुनिँयाले देखिरहेको छ, यस्तो चरम भेदभाव । पापको घडा भरिरहेको छ । अन्याय, अत्याचारको पराकाष्टमा पुगिरहेको छ । हेर्दै जाऊँ न † अड्डा अदालत, नियम, कानुन र संविधान त प्रचण्डजीले आन्दोलन गर्दा पनि थियो । कांग्रेसीहरुले गर्दा पनि थियो । अनि, उनीहरु आन्दोलनकारी, परिवर्तनकारी भए । प्रधानमन्त्री र सरकार निर्माण गर्ने भए । रेशम चौधरीजस्ताका भोटले जितेर त्यो ठाउँमा पुगे । यो मुलुकमा मधेसी थारुले न्याय पाउने कि नपाउने ? न्याय नपाएको खण्डमा हामीले गर्ने के ?

० सरकारको कार्यशैलीप्रति के टिप्पणी छ ?

– जनताले धेरै आशा गरे । जतिखेर हामी मधेश आन्दोलनमा थियौँ, त्यसलाई मान्यता दिन चाहनुभएन । बरु, सीधा भारतको नाकाबन्दी भनेर जनताको आँखामा छारो हालियो । थुप्रै महत्वकांक्षा देखाउनुभयो । जनताले भरोसा पनि गरे । शक्तिशाली सरकार बन्यो । तर, जनताको आकांक्षाअनुसार काम भइरहेको छैन । दिनप्रतिदिन जनता निराश भइरहेका छन् । निर्मला हत्या प्रकरण, सुन प्रकरण, वाइडबडी प्रकरणजस्ता प्रकरणै प्रकरण आइरहेको छ । यसमा सरकार गम्भीर भइरहेको छैन ।
० केही दिन अगाडि २ नम्बर प्रदेशका मन्त्रीबाट सचिव कुटिए । यस घटनालाई कसरी हेर्नुहुन्छ ?
– हातै छोड्न हुँदैनथ्यो । समस्या हो भने नियम–कानुन, परिधिभित्र रहेर सामाधान गर्नुपथ्र्याे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here