पर्दा पछाडिको हिरो अर्थात अर्जुन सुनाम !

पर्दापछाडिका हिरो हुन्, गायक अर्जुन सुनाम । जस्ले आधुनिक गायकसरी ‘स्टेज’मा नभई एउटा सानो घरको कोठामा दर्शकलाई उफार्छन्, रुवाउँछन् । ०३९ सालमा कैलालीको लम्कि चुवा नगरपालिकामा जन्मिएका सुनाम चलचित्र बन्धकीको ‘बुल्बुले ताल’ बोलको गीतबाट सांगितिक दुनियाँमा उदाएका हुन् । केही दिन अघि जमलस्थित राष्ट्रिय नाचघरमा ‘अर्जुन सुनाम सुमधुर साँझ—०७५’ एकल साँझ सम्पन्न गरेका उनी ०५९ सालमा गाउँबाट काँधमा झोला भिरेर सपनानगरी काठमाडौँ खाल्डोमा आए । आठ दाजुभाई तथा दिदी बहिनीमध्ये परिवारको कान्छो सुनामले सानैमा आमाको मायाबाट टाढिनुपर्यो । बुवाले नै सबै सन्तान हुर्काए, पढाए । प्रकृतिको नियम, डेढ वर्ष भयो दैवले बुवालाई खोसेर लगेको । ‘सलल बगेको भेरी नदी’, ‘कहाँ पुग्यौ नेटो काटी’, ‘तिम्रै यादमा’, ‘राम कसम’ र ‘तिम्रै झल्को आउँछ मेरी निरमाया’ जस्ता उनका दर्जनौँ गीतहरु बजारमा हिट छन् । स्कुले जीवनदेखि नै अध्ययनभन्दा सांगितिक क्षेत्रमा सोख राख्ने अर्जुन सुनामले आफ्नो प्रस्तुतिका लागि थुप्रै देश पुगिसकेका छन् । सांगितिक यात्राका क्रममा विदेश दौडधुप गरिरहने सुनामलाई अनामनगरस्थित एक क्याफेमा भेट्ने अवसर जुर्यो । र, सोधियो । तपाई किन पर्दापछाडि बसेर सांगितिक यात्रामा लागिरहनुभएको छ ? ‘यात्रुलाई पर्दा अघि आउनु र नआउनुमा केही असर नपर्नेरहेछ । केवल यात्रालाई निरन्तर अघि बढाउन बाहेक ।’ चर्चित चलचित्र बन्धकीमा स्वर दिने उनै गायकसँग इडेभन्युजकर्मीले कुराकानी गरेको छ : 

सांगितिक यात्रा
सांगितिक क्षेत्रमा लागेको आज १७ वर्ष बितेछ । सांगितिक क्षेत्रमा लागेर विस्थापित पनि भएको छैन । निरन्तर यात्रामा छु । यात्रामा हिँड्ने क्रममा कठीनाई त हुन्छ तर, आफ्नो यात्रासँग रमाइरहेछु । विगत र वर्तमान अवस्थामा सांगितिक क्षेत्रलाई तुलना गर्ने हो भने आकाश पतालको फरकपन छ । स्वर सम्राट नारायणगोपालको पालामा सांगितिक दुनियाँ अँध्यारो नै थियो । पर्याप्त मात्रामा आवश्यक सामाग्रीहरु थिएनन् । अहिले यसतर्फ कुनै अभाव छैन । यद्यपि, अझैँ पनि व्यवस्थापनको पाटोतर्फचाहिँ आवश्यक सुधारहरु भएका छैनन् जस्तो लाग्छ । तर, सांगितिक यात्राको गन्तव्य भने उचाइतर्फ नै  लम्किएको देख्दछु । ०५९ मा गाउँघरमा तिहारका लागि भनेर विशेष देउसी भैँलो कार्यक्रम आयोजना गरियो । कार्यक्रममा  ‘नमुछे आमा दहिमा टिका’ गीत प्रस्तुत गर्ने मौका पाए । कृष्णभक्त दाईको स्वरमा गाइएको यो गीतको संगीत नारायण रायमाझी दाइल भर्नुभएको थियो भने शब्द लक्ष्मण रायमाझीले गर्नुभएको हो । रेडियोमा बारम्बार यो गीत सुन्ने गर्दथे । किनकि बालपनदेखि नै संगितले तानेको थियो । कार्यक्रममा आफ्नो प्रस्तुती  दिएपछि गाउँले दर्शकले औँधी प्रशंसा गर्नुभयो । त्यहिँ प्रशंसाले नै मनोबल बढाए । अनि आजिवन संगित क्षेत्रमा लाग्ने प्रण गरे । 

 

यो अनि त्यो युग
अहिलेको युग नव युग नै हो । जहाँ बसेर पनि गीत÷संगित रेकर्डिङ गरेर बजारमा ल्याउन सकिन्छ । कुनै सीमित क्षेत्रमा बसेर मात्रे गीत रेकर्डिङ सम्भव छ भन्ने छैन । तर, नेपाली समाज, संस्कृति अनि माटो असुहाउँदिलो भर्रा गीतले भने कता कता नेपालीपनलाई लात हानेको जस्तो देखिन्छ । योचाहिँ वर्तमान अवस्थामा भयावह नै हो । अर्काे कुरा साधना नगरी गीत÷संगित रेकर्डिङ गरे पनि हुन्छ भन्ने प्रचलनले स्थान पाएको छ । संगितको साधनाले गायकलाई सफल बनाउँदछ । आफूसँग यो क्षेत्रको राम्रो ज्ञान र क्षमता छ र खर्च गर्ने तागत छ भने जुनसुकै क्षेत्रमा गीत रेकर्डिङ गर्न सकिन्छ तर, चर्चा बटुल्ने तरिकाले पाइँला टेक्नुचाहिँ गम्भीर भूल हो जस्तो लाग्छ । संगित क्षेत्रमाा स्वर सम्राट नारायणगोपालको कमी त जहिल्यै पनि रहिरन्छ । किनभने, ००७ मा रेडियो स्थापना हुँदै गर्दा यो क्षेत्रको समस्याहरु बग्रेल्ती थिए । मैले पनि यो सुनेको हुँ । सत्यता हो वा होइन, त्यतिबेला रेडियो नेपाल मा स्वर परीक्षणका लागि हिन्दी गीत गाउन लगाइन्यो रे । श्रद्धेय गायक प्रेमध्वज प्रधान, संगित स्रमाट गोपाल योन्जन उहाँहरुले सांगितिक क्षेत्रको धारलाई मलजल गर्नुभयो । सांगितिक क्षेत्रमा ‘सिस्टम’ बसालिदिनुभयो । अहिले पनि उहाँहरुले देखाउनुभएको बाटोलाई पछ्याइरहेका छौँ । 

 

ऊर्जा 
त्यतिबेला कैलाली जिल्लामा संगित सिक्ने त्यस्तो खालको वातावरण थिएन । त्यसपछि संगितकै लागि भनेर सुर्खेत झरे । सुर्खेत मावलीघर पनि हो । त्यहाँ मामा कुलमान नेपालीले संगित क्षेत्रलाई हृदयदेखि नै माया गरेर अघि बढिरहनुभएको थियो । उहाँ नृत्य निर्देशक समेत हुनुहन्छ । त्यहाँ अहिले पनि ‘वागिना’ भन्ने सामूहिक क्लब छ । कैलालीबाट सुर्खेत आएर यहिँ क्लबमा गुरुजनबाट संगित सिक्ने मौका पाए । सुर्खेतमा आयोजना हुने विभिन्न सांगितिक कार्यक्रमा भाग लिन्थे । त्यहाँ पनि ‘नमुछे आमा दहिमा टिका’ गीत गाए । सबैले ‘यसको स्वर र साधना त बडो गजबको छ । यस्ले यो क्षेत्रलाई केही गर्छ’ भन्थे । यसले मलाई अझ ऊर्जा थपिदियो । तर, प्रशंसाले मातिइन । यसरी सुर्खेतमा यसरी नै संगित क्षेत्रमा जम्दै गर्दा मामाले काठमाडौँ ल्याउनुभयो । काठमाडौं आएपछि माामाले आदरणीय दाई नारायण रायमाझीसँग भेट भयो । भान्जाप्रति मामाको यो गुण कहिल्यै तिर्न सक्दिन होला । नारायण दाईसँग भेट भएपछि निरन्तर सांगितिक यात्राले गति पायो । पछाडि फर्केर हेर्नुपरेको छैन । उहाँको यो योगदान कहिल्यै बिर्सन सक्दिन । 

 

संगीतको भोक 
विशेषगरी मेरो साथमा मामा हुनुभएकाले संगत संगीत क्षेत्रका माथिल्लो व्यक्तित्वहरुसँग हुन गयो । यसकारण पनि मलाई संगीत  क्षेत्रमा अघि बढ्न धेरै पापड बेल्नुपरेन । तर, धेरै दुःख भने भोगे/गरे । दुःख नगरी कमाएको पैसा र बनाएको क्षमता काम लाग्दैन भनेर हरदिन सोच्थे । यद्यपि, मामाको अपार ममताले नै काठमाडौँ आएपछि पहिलो संगत नारायण दाईसँग गर्ने मौका पाए । त्यसपछि संगितकार बीबी अनुरागी दाईसँग हिमचिम बढ्यो । उहाँसँग दर्जनौँ गीत रेकर्डिङ गरेको छु । यसै सिलसिलामा सत्यवती कलाकेन्द्रका प्रबन्ध निर्देशक उदीराम खड्का दाइसँग भेट भयो । यसरी दिग्गज व्यक्तिहरुसँग हिमचिम बढाउदैँ संगित क्षेत्र रफ्तारमा बढ्यो । तर, मलाई संगीत क्षेत्रको भोक कहिले मरेन । प्यास लागिरह्यो । भनिन्छ नि, पेट अघाए पनि मन अघाएन । जति संगीतको बारेमा थाहा पायो उति जान्न मन लाग्थ्यो । 

 

आर्थिक उपार्जन
संगीत क्षेत्रमा बसेर आर्थिक उपार्जन तथा परिवार पाल्न असम्भव छ ? यसप्रति सत प्रतिशत सहमती छु । विगत १५ वर्षदेखि विभिन्न ठाउँमा गएर आफ्नो कला प्रस्तुत गरेको छु । तर, पनि अझैँ भविष्य अन्धाकार जस्तो नै छ कि जस्तो पनि लाग्छ । मतलब जबसम्म एक मुठी सास र हातखुट्टा चल्छ तबसम्म जसोतसो गरेर आर्थिक उपार्जन गर्न सक्षम छु । अहिले म रेष्टुरेन्ट, दोहोरी साँझमा अफर आएपछि गीत गाउन जान्छु । विदेशबाट पनि अफर आएपछि थुप्रैचोटी विदेश पुगेर प्रस्तुती पस्किएको छुँ । अहिले पनि बोलाइरहनुहुन्छ, जान्छु । तर, अलिकति अघि गएर हेर्ने हो भने त एउटा गायकलाई यो अवसर पनि थिएन । यद्यपि, देशमा संगित क्षेत्रका लागि पनि मापदण्ड बनिदिएको भए उदाउँदा नव गायकलाई सहजपन हुन्थ्यो र यो क्षेत्रको कोसे ढुंगा साबित हुने थियो । 

 

गीत कि अक्सिजन
समयसँगै गीत परिवर्तन हुँदै आइरहेका छन् । आधुनिक, लोकदोहोरी, पपको बाढी आयो । भनिन्छ, संगीतको कुनै सीमा हुँदैन । जुन गीत आए पनि संगीतको मर्म र दर्शकको मन छुनु नै ठूलो कुरा हो । गीतको संगीत, शब्दचयन, लय ठीक छ भने त्यो गीत हिट भइहाल्छ नै । तर, गीतमा यी चिजहरु अभाव छ भने ओझेल पर्दाेरहेछ । यद्यपि, समयको गतिसँगै राम्रा गीतहरु आझेलमा परेका छन् र नराम्रा गीतहरुले प्राथमिकता पाएका छन् भन्न खोजेको पनि होइन । आखिर हिरा त हिरा नै हुन्छ, जब कि त्यो हिरा कुनै पनि दर्शकले मन नपराउने भन्ने नै हुँदैन । केवल समयसँगै साँगितिक क्षेत्र परिवर्तनशिल छ भन्न खोजेको हुँ । पछिल्लो समय चलचित्र होस् या अन्य सांगितिक क्षेत्रमा होस् पूर्वेली गीतहरुलाई रुचाएको पाउँदछु । पूर्वेली गीतलाई प्राथमिकता दिँदै गर्दा मेरो विचारमा गीत संगीतको परिभाषा यहिँ नै भन्ने हुँदैन र त म यसतर्फ आकर्षित हुन पुगे । यदि सीमा हुँदो हो त म किन यो गीत सुन्न रुचाउँथे । यसकारण मेरो लागि गीत भनेको अक्सिजन हो । शरीरलाई अक्सिजन कमी भयो भने मृत भइदिन्छ । त्यस्तै, दुःख होस् या सुख संगित अपरिहार्य छ । जस्ले सबैलाई जिवन्त राख्दछ । यसकारण सामाजिक प्राणीको दर्पण पनि हो, संगीत ।  यहिँ समाजका मानवीय भावनालाई शब्दमा उनेर स्वर दिने व्यक्ति नै गीतकार हो र उसको भावना बुझ्ने अर्काे व्यक्ति, गायक हो । 

 

व्यस्तता
केही समयअघि राष्ट्रिय नाचघरमा ‘अर्जुन सुनाम सुमधुर साँझ २०७५’ एक साँझ सम्पन्न गरेको छु । कार्यक्रमको उद्घाटन वन तथा वातारणमन्त्री शक्ति बस्नेतज्यूले गर्नुभएको थियो । सत्यवती कला केन्द्र प्रबन्ध निर्देशक उदीराम दाई, नारायण दाईहरुको सल्लाहले भव्य रुपमा यो साँझ सम्पन्न गरियो । यो कार्यक्रमबाट बचेको रकम एक जना क्यान्सर पीडित पूर्ण श्रेष्ठ भाईलाई प्रदान गरिनेछ । अहिले केही रकम उठ्न बाँकी नै छ । एकल साँझको कार्यक्रममा स्टेज कार्यक्रमजत्तिकै मानिसहरुको भीड लाग्नु एक जना गायकका लागि यो भन्दा अर्काे खुसीको सीमा हुँदैन । यस्ले पनि अझ सांगितिक क्षेत्रको माया लागेर आउँछ । एक हजार कमाई गरे भने दुई सय समाजसेवाका नाममा समर्पित गर्दै आएको छु । 

 

गायक भर्सेस समाजसेवी 
जीवनमा जतिसुकै महान बने पनि त्यो समाजकै लागि गर्ने हो । यसकारण हामीले आयोजना गर्दैै आएको कार्यक्रमले पनि यहिँ सामाजिक कार्य गर्दै आएको छ । बेलाबखमा विदेश पनि जाने मौका पाइरहेको छु । मलेसिया, सिंगापुर, बहराइन, नेदरल्याण्ड, बेल्जियमलगायत देशहरुमा पुगेर आफ्नो प्रस्तुत दिने मौका पाएको छु । तत्कालका लागि भनेर दर्शकलाई केही नयाँ पन ल्याउन सकिँरहेको छैन । आयोजक दाईहरुकै कार्यक्रममा व्यस्त छु । यद्यपि, पहिलो योजना पूर्ण क्यान्सरपीडित भाइलाई भेट्नु थियो भेटे । दोहोरी साँझ सञ्चालन गरेपछि बचेको २० हजार एक सय पाँच रकम पूर्ण श्रेष्ठको उपचारका लागि हस्तान्तरण गरे । समाजमा बसेपछि सबैको उत्तिकै दायित्व, अधिकार र कर्तव्य हुन्छ । म पनि त्यहिँ समाजको एक सामाजिक प्राणी हुँ । भनौँ न, अलिकति चेतनशिल प्राणी । यसकारण जहाँ र जुनसुकै क्षेत्रमा रहे पनि समाजप्रति सबैको उत्तिकै जिम्मेवारी रहन्छ । म पनि समाजका लागि आफ्नो तर्फबाट केही सहयोग गर्न चाहन्छु । त्यसैले कोहीले मलाई समाजसेवी भनेर पनि बोलाउनुहुन्छ । जस्ले अझ समाजप्रतिको योगदान बुझ्ने मौँका पाएको छु । यद्यपि, गायक र समाजसेवीको मिश्रणले अझ ताल मिलेको देख्दछु । यो ताल निरन्तर यसरी नै बजिरहनेछ । 

 

जाँदाजाँदै…..
संगीतको लागि भनेर मैले ०५९ मा घर छाडे । सुर्खेत झरे । त्यसपछि फेरी संगीतकै लागि भनेर काठमाडौं छिरे । महाकवि लक्ष्मिप्रसाद देवकोटाले भने, ‘उद्धेश्य के लिनु उडि छुन चन्द्र एक’ जसरी यात्रालाई अझैँ पनि सशक्त बनाउन नसकेपनि त्यतिबेला संगीतकै लागि भनेर घर छाडेको थिए ।  अरुलाई भरपुर मनोरञ्जन र खुसी पनि दिने प्रयासरत छु । यो दुनियाँमा जमेको दुई दशकको परिधिमा पुगेको छ । यदाकदा सुन्छु, कसैको लहैलहैमा वा देखासिकी घरको सम्पत्ति नै बेचेर संगित सिक्न काठमाडौँ आएको । यसो भन्नुको मतलब संगीत क्षेत्रमा कसैलाई आउन अवरोध गर्न खोजेको होइन । सबैभन्दा पहिले त आफ्नो रुचि के हो ? त्यो रुचिको साधना कति गर्न सक्छु ? समस्या आए पनि त्योसँग लड्न सक्छु भनेर प्रण गरेर जो कोही आउँन जरुरी छ । त्यस्तै, आफूभन्दा दिग्गजको त झनै जरुरत छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here