मैले निर्माताको हत्या नगरौँ भनेको मात्र हुँ (भिडियो पनि हेर्न नभुल्नुहोला)

कलाकार निर्मल शर्मा, (गैँडा) हास्यविद्यामा बढी चिनिन्छन् । काठमाडौँका रैथाने, पकनाजोल, कालधारामा जन्मिए । आजकाल शर्मा लेखे पनि काफ्ले हो, थर । कलाकारितासँगै व्यावसायिक गतिविधिमा संलग्न । केही समय होटल र रेष्टुरेन्ट चलाए । चलचित्रमा लगानी पनि गरेका छन् । तर, नेपालको चलचित्र राजनीति एकदमै निम्नस्तरको हुँदा उनीजस्ता निर्माताहरु त्यसको चेपुवामा परेर घाइते हुने गरेका छन् । त्यसैले निर्मल हिजोआज चलचित्र क्षेत्रसँग उत्ति धेरै सन्तुष्टि छैनन् । सामाजिक काममा लागेका छन् ।

दशैँ कसरी मनाउँदै हुनुहुन्छ ? 
अष्टमीको दिन एक छाकी र नवमीको दिन बुवाको श्राद्ध पर्छ । त्यसैले हरेक जसो दशैँ मेरा लागि खल्लो हुने गरेको छ । फेरी म जुवा तास खेल्दिन । रक्सि पनि पिउँदिन । खास फुलपाती देखि दशैँ सुरु हुन्छ । मलाईचाहिँ टिको लगाउने दिन मात्र दशैँ लाग्छ । एक रुपैयाँ, दश रुपैयाँ गरि जम्मा गरेको रकम सम्झिँदा खुबै रमाइलो लाग्छ । तर, पछिल्ला दशैँहरु बुवाको यादमा रोएर सुरु हुन्छ ।  
दशैँको छेकमा छक्का पञ्जा–३ र जयभोले बीच भिडन्त हुँदैछ । नतिजा के होला ?
छक्का पञ्जा घटस्थापना र जयभोले फुलपातीको दिन प्रदर्शन हुँदैछन् । छक्का पञ्जा एउटा ब्राण्ड बनिसकेको चलचित्र हो । जुन टिमसँग म १६ वर्षदेखि लगातार काम गर्दै आएको छु । छक्का पञ्जा–१ मा त्यहिँ टिममा थिए । अशोक शर्माले बनाउनुभएको जय भोलेले फिल्म र बजार दुवै बुझेको छ । चलचित्रको दृश्य, छायाँकनलगायत सम्पूर्ण भेउ पाएको चलचित्रकमीले बनाएको दमदार फिल्म पनि हो यो । ध्वस्त भइसकेको नेपाली चलचित्र नगरीमा यी दुवै चलचित्रले केही न केही राहत दिन्छ भन्ने लाग्छ । 
तितो सत्य देखिको दीपकराज गिरीसँग तपाईको सम्बन्ध छक्कापञ्जा फिल्मको पहिलो प्रस्तुतीपछि किन रहेन ?
संगीतकार शम्भुजित बास्कोटा दाईको विशेष पहलमा सुरु भएको तितो सत्यमा १३ वर्षसम्म दिपक, दीपासँग १३ वर्ष रहेर काम गरे । यो दौरानमै एक्सासी हामीले ठूलो पर्दाको चलचित्रमा प्रवेश गर्ने मौका पायौँ । छ एकान छ बाट विशेष रुपमा दर्शकमाझ देखिएपछि हामील्े वडा नम्बर छ र छक्कापञ्जासम्म सँगै काम गर्यौँ । तर, यो बीचमा विभिन्न कारणवश अलग्गिनु पर्यो । केवल आफ्नो पहिचान दर्शकमाझ पस्किने क्रममा छुटिट्न पर्यो । फिल्ममा आउनुपूर्व मैले विज्ञापनहरुमा काम गरे । अहिले पनि गरिरहेको छु । तर, टेलिभिजनको विज्ञापनमा झल्याकझुलुक हुँदै म तितो सत्यमार्फत अझ सशक्त रुपमा दर्शकमाझ छाए । दर्शकलाई नढाटी भन्नुपर्दा विचार र भिजन फरक भएकाले सहमतीमै म अलग्गिएर रमेश उप्रेतीजीसँग चलचित्रमा काम गरिरहेको छु । उहाँसँगै मिलेर ऐश्वर्य निर्माण गरे । फिल्मले राम्रै बजार पायो । दर्शकले चलचित्रको कथाबस्तुलगायत सबै चिज औधी मन पराइदिनुभयो । अब, चाँडै अर्काे चलचित्र बजारमा ल्याउने सुरसारमा छु । 
नेपाली चलचित्रकर्मीहरु कम सिर्जनशिल, बढी तमासे बन्न रुचाउँछन् भनेर टिप्पणी गरिन्छ । त्यस्तो किन ? 
 मेरो फेसबुक वालमा हेर्नुहुन्छ भने मैले स्पष्टसँग आफ्नो मत राखेको छु । धेरै उच्शृंखल मानिसले मेरो फेसबुकको स्टाटस पढेर रिस पनि साध्नुभएको मैले सुनेको छु । हामीकहाँ अढाई करोड खर्चेर थुप्रै चलचित्र बने । तर, अर्कातिर चलचित्र क्षेत्रले एक हप्तामा आठ अर्बको घाटा बेहोर्नुपरेको तितो सत्य छ । अनलाईन समाचारमा पढ्न पाइन्छ, यति र उती करोड व्यापार । यति व्यापार भयो भनेर लेखेको पढ्न पाइएन । यसकारण मैले मेरो फेसबुकमा लेख्ने गरेको छु, प्रत्येक महिना दुईदेखि तीनवटा चलचित्र एकआपसमा जुज्छन् र यो क्षेत्रले प्रत्येक महिना साढे आठ करोड घाटा व्यहोर्नुपरेको छ । अब, एउटा दयनिय कुरा भनौँ, वर्तमान अवस्थामा दुई करोड व्यापार गर्छ एउटा सिनेमाले तर, निर्माणकर्मीले १२ लाख पाउँन मुस्किल पर्छ । यसबारेमा केही दिनअघि चलचित्र बोर्डका अध्यक्ष निकिता पौडेलसँग खुलेरै निक्कै बेर बात मारे । नयाँ निर्माता, निर्दशकहरुले साढे १३ हजार दस्तुर लिएर चलचित्र निर्माण गर्ने इजाजत पाउछन् । तर, इजाजत पाएको झण्डै एक वर्षको अवधिमा फिल्म सेन्सर हुँदै पर्दामा छाउँछ । त्यसपछि सकियो । मैले यस विषयमा अध्यक्षज्यूसँग कुरा गरेको छु– चलचित्र प्रदर्शनमा आएपछि निर्माण पक्षलाई काउन्सिलिङ (९० मिनेट) कक्षा लियौँ । र, त्यो कक्षामा चलचित्रको व्यापार, निर्माणकर्ताले कति पाउँने, वितरकले कति पाउँछ भनेर करलगायत सबै विषयमा क्लियर कुरा गरौँ भनेको छु । यसरी यो काउन्सिलिङ कार्यक्रम ल्याउनुको मुख्य कुरा के हो भने नयाँ चलचित्र निर्माणकर्तालाई सबै कुरा चेतना होस् । तर, नयाँ निर्मातालाई के थाहा छ भने छक्का पञ्जाको व्यापार देखेर सपनाका भरमा चलचित्र निर्माण गरिरहेको छ । 
ल मानौँ छक्कापञ्जाले १५ करोडको व्यापार गर्यौँ रे । तर, यहाँ दाँयाबाँया केही पनि बुझिँदैन । खास कुरा कस्तो छ भने चलचित्रको पूरा व्यापार भएपछि त्यसको २६ प्रतिशत मात्र चलचित्र निर्माण टिमले पाउँछ । तर, नयाँ निर्मातालाई थाहा हुँदैन र त्यो बताइएको पनि हुँदैन । बाहिर प्रचार गरिन्छ एक सय १२ हलमा चलत्रि प्रदर्शन गरियो र । तर, वास्तवमा भन्ने हो भने चलचित्र नगरीले नयाँ निर्माताको हत्या गरेको छ । प्लेन उडाउनका लागि पाइलट पढ्नुपर्छ माइक्रा चलाएर प्लेन उडाउन सकिन्छ । मतलब फिल्म कसैलाई नबनाउनुस भन्न खोजिएको होइन कम्तिमा फिल्म हचुवाका भरमा भन्दा बुझेर आउनुपर्छ र बुझाउनेले पनि राम्ररी बुझाइदिनुपर्छ । यद्यपि, ज्योतिषिलाई डाँडाको माटो परीक्षण गराएर ३० लाखको जग्गा किन्ने र चलचित्रबारेमा भुत्तेभाम केही पनि नजान्ने चलचित्र निर्माण समूहमा दुई करोड लगानी गरेर फस्ने मुर्गा उस्तो हो नि ! र, त्यसलाई रेटिरहने चलचित्रकर्मी म र मेरो युनिट हो । यसकारण मलाई छुच्छो पनि भन्छन् । भन्न चाहन्छु– न मलाई कुनै एनआरएनको लगानी रहेको चलचित्रमा खेल्नु छ, न मलाई कुनै अवार्ड कार्यक्रममा जानुछ । आज यो रंगिन दुनियाँमा छिरेको २३ वर्ष भएछ । विद्या एकातिर भए पनि यो क्षेत्रमा जमे । आज मेरो परिवार लिएर जुनसुकै मुलुकमा बस्न गएर बस्न सक्छु । 
तपाईको कुराअनुसार फिल्मलाइनमा भित्री व्यथा त धेरै रहेछन् नि ! 
हो, राजनीतिक पार्टीको भातृसंगठनजस्तो छ । पत्याउनुस्, आफ्ना निकटका चलचित्र युनिटका केही व्यक्तिलाई विदेश लैजाने अनि कोठमा कोठामा पुरस्कार बाँड्ने, फरक फरक विद्यामा चलचित्रलाई पुरस्कृत गरिन्छ तर, यहाँ एउटै चलचित्रले सरासर गएर सबै पुरस्कार थाप्छ । कही नभएको जात्रा हाँडीगाउँमा भनेझैँ यस्तो गजबको जात्रा यो क्षेत्रमा मात्र देखिन्छ । अर्काे कुरा, विदेशमा बस्ने एनआरएनज्युहरुलाई भन्न चाहन्छु–तपाईहरु विदेशमा बसेर यस्तो खालको पुरस्का बाँड्ने होइन क्या नेपाली चलचित्रको बजारमात्र खोजिदिनुस् । विदेशमा राम्रा र ढर्रा नभएका चलचित्र छानेर प्रदर्शन गराइदिनुस् । विषयबस्तु सबै हेरिदिनुस् । यति गरिदिनुभयो भने तपाईको नाम अमर भएर नेपाली फिल्म उद्योगमा सदाका लागि लेखिनेछ । तर, १२ जना कलाकार लगेर अनेक खेतीपाती गर्नुहुन्छ । त्यसले कदापि, नेपाली चलचित्र उद्योगको विकास गर्दैन । अर्काेतिर, यहाँका चलचित्र निर्माताका आ–आफ्नै गोजीमा अनलाइन पोर्टलहरु छन् । त्यसबाटै चलचित्रको जे जे पाए त्यहिँ प्रचार गरिन्छ । तर, त्यसलाई म अफलाइन पोर्टल भन्न रुचाउँछु । समाचार लेख्दा त एबीसीको प्रयोग गरिन्छ । तर, यो अफलाइनमा त कपाल काटे पनि समाचार, जिउँ नुहाएको भिडियो अपलोड गरिएको खण्डमा त भोलिदेखि अर्कै हंगामा मच्चाइन्छ । कृपया यस्तो खालको असुहाउँदिलो कामचाहिँ पटक्कै नगरौँ । कमसेकम हामीले हाम्रो क्षेत्रको नाग जागाऔँ । 
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार वर्षमा एक सयभन्दा बढी चलचित्रहरु निर्माण हुन्छन् । तपाई पनि मुर्गा हन्टिङ का कुरा निक्कै गर्नहुन्छ । खासमा तपाईको पीडाचाहिँ के हो ?
देशमा पेट्रोलको भाउ बढ्यो । माइतीघरमा सरकारविरुद्ध कालोपट्टी गर्नेहरु सबै फ्रस्ट्रेड भइदिएको भए त आज अर्कै हुने थियो । मुर्गा फसाउनेलाई लाग्ला अब यसलाई मेरो चलचित्रमा कुनै पनि हालतमा भित्र्याउँदिन, किक हान्छु । तर, न मलाई उनीहरुसँग बसेर काम गर्नुछ न त उनीहरुको समूहमा गएर `ए मलाई पनि तिमीहरुसँग मिसाउन’ भन्नुछ । मलाई उनीहरुसँग कुनै अपेक्षा नै नभएपछि र मैले जे नराम्रो देखे त्यो ओकल्न किन पाउँदिन ? खाली मैले त निर्माताको हत्या नगरौँ भनेको न हुँ । अन्यथा अरु कुनै मेरो त्यस्तो खालको आवाज उठाएको छैन । जिन्दगीमा आजसम्म जति हिड भए यति नै हुँ । योभन्दा हिट पनि हुँदिन । तर, यहाँ सबैजना दहि चिउँरे छन् । कोही बोल्दैनन् । तै चुप मै चुप । एक शब्द यो क्षेत्रको नरकीयअवस्थाबारे मुख खोल्दैनन् । अहिले चलचित्र उद्योगमा मासिक ३० करोडको घाटा छ । हातमा करोडको ब्रासलेट र रोलेक्स घडी बाँधेरमात्रै चलचित्र बन्दैन । हिजो अहिलेका अर्बपति व्यापारीहरु विनोद चौधरी, दिपक मल्होत्राहरुले पनि चलचित्र नबनाएका होइनन् । तर, चलचित्रको बजार नदेखेपछि यो क्षेत्रलाई चटक्कै छाडेका हुन् नि । नत्र आज उनीहरु पनि यो क्षेत्रमै हुन्थे होला । यसकारण चलचित्र भनेको व्यापार होइन सिर्जनात्मक क्षेत्र हो । तर, यहाँ यसबारेमा पूरै भ्रम र जालझेली काम चलिरहेको छ । र, यहिँ भ्रमविरुद्ध मेरो अडिग अडान निरन्तर खोलाझैँ बगिरहनेछ । भन्लान्, Ôतँ, बढी बोलिस्, मेरो चलचित्रमा खेलाउँदिन’ । यस्तो खालको बालहठ धम्किविरुद्ध म व्याक हुनेछैन ।  
पछिल्लो समय चलचित्र क्षेत्रमा लगानी सुरक्षित भन्दा पनि मोजमस्ती गर्ने उद्धेश्यले भित्रिने धेरै  छन् । यो चाहिँ कत्तिको सत्य हो ?
म त चलचित्रको कार्यक्रममा कहिपनि बस्दिन । गए पनि धेरैमा दश मिनेट बस्छु र आफ्नो बाटो तताउँछु । मैले बारम्बार भन्दै आएको छु –खुस्बु र धोकाको विषयमा । सुन्छु, यो चलचित्रले एक हप्तामा यति कमायो रे अनि होटेलमा यति केजीको केक काटेर अनुहारमा दलेर खाए रे । हुन पनि हो । यो देखेर पैसाको सिरानीमा सुत्ने पैसावाल अथवा नयाँ निर्माणताहरु नै भनौँ उनीहरुलाई नाम कमाउन मन लाग्छ । सम्पत्ति घरभरि छ र दिमाग पनि पैसाजस्तै छ । उनीहरु सोच्छन् चलचित्रमा लगानी गर्छु अनि आरामले नाम कमाउँछु । त्यसपछि उसको दुईथरी नाम कहलिन्छ । फेसबुकमा ओइरो बधाइको ओइरो चल्छ । अन्तमा उनीहरु मायाजालमा फस्छन् । बर्बाद हुन्छन् । घामलाई साक्षि राखेर सत्य बोल्छु–अस्ति (मंगलबार) एक जना एनआरएनले बोलाएर चलचित्र निर्माण गर्ने प्रस्ताव राखे तर मैलै त्यसलाई अस्विकार गर्दै बरु दशैँका मुखमा अनाथ बालक र अन्य सामाजिक कार्यमा लगानी गर्न सुझाव दिए । सामाजिक काममा पैसा खर्चेबापत् नाम कमाउनका लागि मिडिया पनि बोलाइदिन्छु भने । यसकारण जिन्दगीमा कसैको एक पैसा खाइएन । बरु, पसिना चुहाए बापत् अझैँ पनि पैसा लिन बाँकी छ । हाल म आफ्नै संस्थामार्फत् समाजसेवामा निरन्तर लागिरहेको छु । कसैलाई देखावटी काम गर्न चाहन्न । 
तपाईसँग सिरियलमा काम गर्नेहरु पिल्म मेकिंगमा व्यस्त छन् । के यो राम्रो संकेत हो ?
एसएलसी (अहिले एसइई) पास गरेपछि क्याम्पस त जानुपर्छ ।  दिपक र दीपासँग चलचित्र खेल्नुपूर्व म आफँैले पनि पाँचवटा जति चलचित्र निर्माण गरिसकेको थिएँ । त्यसपछि टेलिसिरियल हुँदै चलचित्रमा जम्यौँ । अहिले धुर्मुस सुन्तलीले पनि चलचित्र निर्माण गर्ने तयारी गर्नुभएको छ रे । मतलब अहिले दर्शकले यहिँ टेस्टलाई रुचाएका छन् । कुनै बेला राजेश हमाल भनेपछि जस्तो पनि फिल्म चल्थ्यो । फिल्ममा जे भए पनि पोस्टरमा फोटो भइदिए पुग्थ्यो । अहिले समय फेरियो । सिरियालमा स्थापित कलाकारलाई ठूलो पर्दामा खोजिन थाल्यो । यो त राम्रो कुरा हो ।
पहिला तपाई हिरो बन्छु भनेर आएको होइन ? 
मैले भारतमा पढेँ । साथीहरुको लहैलहैमा मोडलिंग सिकेर भारतमा केही काम पनि गरे । फिल्मको सुटिङ हेर्न जान्थ्यौँ । कलाकारलाई छाता ओढाउने देखि अनेक मेकअपको दृश्यले मलाई लोभ्यायो । नक्कले प्रवृत्तिको मलाई यति भए पछि काम पुग्यो । त्यसमाथि चिनेजानेकाहरुले त कलाकार बन्नुपर्छ भनेपछि त्यतातिर छिरे । मेरो अभिनय ठीकै थियो । छि भन्ने खालको थिएन । नभन्दै ख्यालख्यालैमा एउटा भिडियो खेल्ने मौका पाए । भिडियो खेलियो र नाचियो पनि ।  हिरोनीसँग नाचे । प्रोड्युसरले ल यता हेर्नुस् भने पछि उतै हेरिन्थ्यो । पछि भिडियो पर्दामा हेरियो । भिडियो हेरेपछि मलाई जिउ रोबटजस्तो लाग्यो । त्यसपछि आफ्नो भिडियो हेरेर हलबाट निस्केपछि आइन्दा यस्तो चलचित्र नखेल्ने बाचा गरे । भनौँ न म पनि मुर्गा सरी नै यो क्षेत्रमा प्रवेश गरे र केही जान्ने अवसर पाए । यद्यपि, मेरो अनुभवले के भन्छ भने अहिले मान्छेहरुलाई ऐनाले धोका दिएको छ । म जस्तो मुर्गा २३ वर्ष यो क्षेत्र टिके । तर, अहिले यो क्षेत्रमा प्रवेश नव कलाकारहरुको एक वर्षमा डेब्यु र सन्यास पनि हुने गर्छ । कम्तिमा यस्तो पाप नगरौँ । कोही मान्छेलाई आफ्नो फाइदाका नाममा सपना देखाएर सिध्याउने धन्दा नगरौँ । जो बझेर आउँछन् र फिल्ममार्फत् देशको कला र संस्कृतिको जगेर्ना गर्छु भनेर आउँछन् भने स्वागत गरौँ । तर, झूठा कुराहरु गरेर मान्छे फसाउने काम रोक्नैपर्छ ।
मोजमस्तीका लागि कत्तिको आउँछन् भन्ने प्रश्न थियो नि !
त्यसरी आउनेहरु मुस्किलले एउटा फिल्म बनाउँछन्, वास्तविकता बुझेपछि भाग्छन् । सिनेमाको पर्दामा हिरोइनको रुपमा देखिएका हाम्रा चेलीबेटीमाथि शोषणको नजर लगाएर आउनेहरु प्रशस्तै छन् । तर, त्यस्ता माछेहरु टिकेनन् । सहमतीमा हुने सम्बन्धहरु एकातिर होलान्, यसबारे पछि कुरा गर्छु । तर, कलाकारलाई बजारको बिकाउ बस्तुका रुपमा बुझ्ने मान्छेहरु फिल्मलाइनमा टिक्दैनन्, टिक्न पनि हुँदैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here