त्यस्का बाजे..मासु किन नखाने भन्नेचाहिँ ४० वर्ष पुगेपछि थाहा हुनेरहेछ

माग्ने बूढा अर्थात् हास्यकलाकार केदार घिमिरे अभिनित चलचित्र छक्कापञ्जा–३ फुलपातिदेखि देशभर एकैसाथ प्रदर्शन भइरहेको छ । चलचित्रले पहिलो दिनको ओपनिङ शो मै देशभरको हलमा टिकट नपाएर कयौँ दर्शक फर्किनुपरेको छ । दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित दीपिका प्रसाईँ, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइरालालगायतको अभिनय रहेको छ । यीनै कलाकारमध्येका प्रसिद्ध कलाकार माग्ने बूढालाई यसपालीको दशैँ कसरी मनाउँदै हुनुन्छ ? इडेभन्यूजकर्मी महेश्वर गजुरेलले उनीसँग दशैँ विशेष कुराकानी गरेका छन् ।
 

पोहोरपरालको सालको जसरी नै यसपाली पनि भव्यका साथ दशैँ मनाइदैछ । यसअघिको दशैँमा मासु, माछा खाए पनि यसपालीको दशैँबाट थोरै यसको मात्रा घटाएको छु । मासुले शरीरलाई त्यति फाइदा पु¥याउदैन रहेछ भन्ने भर्खरदेखि महसुश भइरहेको छ । यद्यपि, यसपालीको दशैँदेखि पूर्ण रुपमा शाकाहारी बने त भन्दिन तर, आगामी दशैँहरुमा चाहिँ पक्कै शाकाहारी बन्ने कोसिस गर्दैछु । मासुले शरीरको ओजन बढाउने, चाहेभन्दा बढी मोटाउने हुने हुनाले र विशेषत बुढ्यौलीतिर लाग्दै गएपछि मासुले शरीरलाई अत्यधिक भार दिने रहेछ । यो पनि भर्खर चाल पाउँदैछु । त्यसकारण यसपालीको दशैँबाट मासुलाई कम गर्दै लाने प्रयत्न गरेको छु । मासुभन्दा बढि सागपात, गेडागुडीलगायत स्वास्थ्यबर्दक खान्किलाई विशेष ध्यान दिनेछु ।

बाल्यकालमा छँदा दशैँ चंगा उडाउने, साथीहरुसँग पिङ् खेल्ने, आइसक्रिम खाने भन्ने हुन्थ्यो तर, अहिले ठ्याक्कै ठीक विपरीत भइदियो । छोराछोरीको त्यतिखेरको चाहनालाई पूरा गर्ने जिम्मेवारी आएको छ । यसपालीको दशैँमा सदाझैँ आफूभन्दा ठूला मान्यजनबाट टिका लगाइनेछ । त्यस्तै, ससुुराल (ललितपुर) र घर (मकवानपुर) दुवैमा गएर टीका थापिनेछ । मैले दशैँका लागि यति नै भनेर खर्च छुट्याएको छु । तर, पनि १५ हजार जतिको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट ल्याउनेछु । विशेषगरी बच्चाहरुलाई नयाँ पैसा दिदा खुसी हुने हुनाले उनीहरुका लागि नै भनेर नयाँ नोटको पैसा साट्ने गरेको छु । बच्चाहरु खुसी हुनु नै आफ्नो खुसी हो । पहिला घरमा नै खसी काटिन्थ्यो तर, अहिले त्यो चलनलाई फेरेको छु । ठूलो खसी काटेर मासु बासी हुने हुनाले मैले त्यो चलनलाई चटक्कै छाडेर पसलबाट नै आवश्यक अनुसार लोकल खसीको मासु ल्याएर पकाउने गरिएको छ । 
 

अघिल्लो र यसपालीको दशैँमा कुनै त्यस्तो फरकपन पाएको छैन । फरक यतिमात्र पाए, बुढ्यौली हुँदै गए पछि जिम्मेवारी बढ्दै जानेरहेछ । तर, नानीबाबुहरुलाई एउटा कुरा भन्न चाहान्छु–जतिबेला म सानो छँदा दशैँका समयमा लङ्गुरबुर्जा खेल्नसम्म खेलिन्थ्यो । सुरु सुरुमा केही जितिन्थ्यो तर, पछि खेल्दै जाँदा अघि जितिएको रकमसहित अतिरिक्त पैसा लंगुरबुर्जा खेल्ने साहूले टिपटाप पारिदिन्थ्यो । त्यतिबेला दशैँ खल्लो लाग्थ्यो । मैले त्यो क्षणको धेरै सामना गरे । यसकारण पनि साना भाइबहिनीहरुलाई लंगुरबुर्जा खेलेर दशैँ खल्लो नबनाउनुस् भन्न चाहन्छु । र, अर्काे कुुरा, विशेषगरी दाजुहाईहरुलाई जुवा, कौडा सकेसम्म नखेलिदिनुहोला । खेले पनि केही मनोरन्जनका लागि । तर, पछिल्लो समय दशैँमा जुवा खेल्दै जाँदा जोसका भरमा घर नै जुवामा थापेर परिवारकोे बिचल्ली भएको थुप्रै उदाहरणहरु सुन्नमा पाइन्छ । यद्यपि, दशैँ न हो भनेर यस्तो खालको कार्य नगरौँ भन्न चाहान्छु । त्यस्तै, तास पनि त्यस्तै हो । जोसका भरमा तास खेलेर परिवारको उठिबास बनाएर दशैँलाई दशैँका रुपमा ननिम्त्याऔँ ।

दशैँ सबै नेपालीहरुको साझा पर्व भएकाले यसलाई सभ्य र सही ढंगले भव्य रुपमा मनाऔँ । अनि अन्त्यमा फेरी प्रसंग जोड्न चाहे– मासुचाहिँ बरु सक्दो कम खाऔँ । दशैँ न हो भन्दै बासी मासु पनि दन्काउन थालियो भने शरीरलाई त्यस्ले ठूलो हानी पुर्याउँछ । त्यस्का बाजे..मासु किन नखाने भन्नेचाहिँ ४० वर्ष पुगेपछि थाहा हुनेरहेछ । अहिले मैले पनि त्यो चाल पाएको छु । ढिलो भए पनि मासु कति खानेबारेमा सद्बुद्धि पलाएको छ । त्यसैले सकेसम्म बासी मासु त मुखमा हाल्दै नहालौँ । र, मासु खानुहुनेहरुलाई पनि सक्दो कम मात्रामा मासु खान सल्लाह दिन चाहान्छु । दशैँको सबैलाई यो माग्ने बूढाको तर्फबाट शुभकामना । यो दशैँले हजुरको सबै दशाहरु कटाओस् र नयाँ जीवन फलाओस् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here