व्यवसायतर्फ हामी तीन तरिकाले अघि बढिरहेका छौँ (भिडियोसहित)

०२४ मा प्राइभेट कम्पनीको रूपमा स्थापना भएको राष्ट्रिय बीमा संस्थान १ पुष ०२५ मा राष्ट्रिय बीमा संस्थान ऐन ०२५ अनुसार संस्थानको रूपमा परिणत भएको हो। देशको आर्थिक समुन्नतिको लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्नु तथा विदेशी मुद्राको व्ययभारमा रोक तथा दक्ष व्यवसायिक बीमा कम्पनी रुपमा स्थापना भएको संस्थानले ११ फागुन ०२४ मा निर्जीवन बीमा कारोबार सुरु गरेको हो । निर्जीवन बीमा  सुरु गरेको पाँच वर्षपछि जीवन बीमा सुरु गरेको संस्थानले आजसम्मको कार्यकालमा नेपाल सरकारले लिएको लक्ष्य तथा उद्देश्य अनुरूप नै कार्य र उच्च प्रतिफल दिन सफल भइरहेको बताउँछन्,संस्थानका प्रशासक सुरेन्द्र थापा । यद्यपि, मुलुकमा बैंक तथा वित्तिय संस्थाभन्दा बिल्कुलै फरक तरिकाले सेवा दिएर देशको अर्थतन्त्रमा टेवा पुर्याइहेको छ बीमा क्षेत्रले । कुराकानीका क्रममा हाल संस्थानलाई प्रविधिमैत्री ढंगले अघि बढाउनका  लागि प्रविधिसँग जानकार २७ जना नयाँ कर्मचारीहरु भर्ना गरिसकेको र थप १३ जना नयाँ कर्मचारी भित्र्याइँदै गरिएको बताउँने उनै प्रशासक थापासँग ‘बीमाबाट कसरी देशको आर्थिक समृद्धि सम्भव छ त ?’ इडेभन्यूजकर्मीले संक्षिप्त कुराकानी गरेको छ : 
 
० नेपालको बीमा व्यवसायको विकास, विस्तार र सुदृढीकरणमा बीमा संस्थानको  भूमिका महत्वपूर्ण हुँदाहुँदै पनि समयानुकुल प्रविधिको विकास, सङ्गठन पुनःसंरचना एवं सेवा प्रवाहमा ध्यान दिन सकेन र खरो प्रतिस्पर्धामा उत्रिन सकेन भन्ने आरोप छ । के भन्नुहुन्छ यसबारेमा ?
यो प्रश्न एकदमै चेतनायुक्त/चेतना वृद्धि गर्ने तवरको छ । बजारमा सुनिएको जे छ त्यो सत्य नै हो । तर, यसका पछाडि केही कारणहरु लुकेका छन् । हिजो संस्थाको आबद्ध बोर्ड तथा प्रशासनले मानवीय श्रोत परिचालन (एच आर)  गर्न त्यति नसकेको हो कि जस्तो देखिन्छ । ०४५ सालमै संस्थामा आबद्ध हुनुभएका कर्मचारी साथीहरुको प्रवेश ०६७ सालमा भएको देखिन्छ । तर, अहिलेको अवस्थामा यो समस्याको हल पूर्ण रुपमा नभए पनि धेरै हदसम्म गर्न सफल भएका छौँ । भर्खंरै एचआरअन्र्तगत नयाँ कर्मचारी भर्ना प्रवेशको काम पनि सम्पन्न गरिसकेका छौँ । जेठमा २७ जना नयाँ कर्मचारीहरुको भर्ना गरिसकेका छौँ । हाल थप १३ जना कर्मचारी भर्ना प्रक्रियाका लागि लोक सेवा आयोगमा फाराम पठाइसकेका छौँ । त्यस्तै, आइटीतर्फ पूराना प्रविधिलाई हटाएर नयाँ प्रविधि (इन्ट्रिगेट सफ्टवेयर) भित्र्याउँदैछौँ ।  अहिले प्रविधिको अभावका कारण संस्थानबारेमा जे जति टिकाटिप्पणी सुन्दै आएका छौँ त्यो अब बिल्कुलै सुन्न पाइने छैन । त्यसको रिकोभर गर्दैछौँ । 

० मुलुकमा हाल ३९ बीमा कम्पनीहरु सञ्चालन छन् । तीमध्ये १८ जीवन वीमा, २० निर्जीवन र एक पुर्नबीमा कम्पनी छन् । र, जीवन बीमातर्फ कूल जनसंख्याको १२ प्रतिशतभन्दा बढी बीमितको संख्या बढेको देखिँदैन । सहर र गाउँ दुवै क्षेत्रमा यससम्बन्धि किन चेतना विस्तार हुन नसकेको हो ? 
यसमा मेरो बिल्कुलै फरक मत छ । हाम्रो चिन्तन कस्तो भइदियो भने बचतभन्दा पनि कसरी कमाउँने र खर्च गर्ने भन्ने नै ध्याउन्न छ । यसरी हामी पूरानौ पुँजीवादी चिन्तनतिर ढल्किरहेका छौँ । भोलि के हुन्छ भनेर केही सोचिँदैन तर, मोबाइलमा रिचार्ज सकियो भने जहाँबाट पैसा जुटाउन सकिन्छ । जिन्दगीमा विभिन्न चुनौतिहरु आउँछन् बीमा गर्नुपर्छ भन्ने चिन्तनको अभाव देखिन्छ । यद्यपि, हाल सरकारले बीमा अभिवृद्धिका लागि म्यान्डेटोरी थालेको छ । अहिले वृद्धहरुका लागि वृद्धभत्ताका कुराहरु चलिरहँदा सरकारले वृद्धहरुका लागि स्वास्थ्य बीमा गर्ने नीतिहरु पनि ल्याएको छ । कर्मचारीहरुका लागि अनिवार्य बीमाको अवधारणा ल्याएको छ । र, यसरी नै विस्तारै बीमाको चेतना अभिवृद्धि हुँदै जान्छ । यद्यपि, हाम्रो चेतना भनेको कमाउँने र खर्च गर्ने तर, बचाउनेतिर गएको देखिँदैन । यसकारण पनि बीमाको दायरा बढ्न नसकेको जस्तो देखिन्छ । 

० बीमा कम्पनीहरुलाई बैंक तथा वित्तिय संस्थाअनुरुप राज्यले पनि स्वीकार गर्न सकेन भन्ने बीमा कम्पनीका सिइओहरुले भन्ने गरेको सुनिन्छ । यस विषयमा तपाईको धारणा के छ ?
यस भनाईप्रति शत प्रतिशत सहमत छुँ । तर, त्यसो भन्दैमा धर पाइने अवस्था छैन । सरकारको यस विषयमा केही कमिकमजोरी छन् । बीमा संस्थानलाई मोनिटरिङ गर्ने ‘सुपर भिजन’ बीमा समितिसँग छ भने बैंक तथा वित्तिय संस्थाहरुको नियमन निकाय नेपाल राष्ट्र बैंक छ । यद्यपि, नेपाल राष्ट्र बैंकलाई जसरी शक्तिशाली बनाइएको छ भनेर तुलना गर्दा बीमा समितिलाई पछिल्लो समय राजनीति गर्ने थलोका रुपमा चित्रण गरेको पाइन्छ । हाल जारी गरिएको बीमा ऐनमा थुप्रै असहतिका बुँदाहरु समेटिएका छन् । यसकारण बीमा कम्पनीका सबै साथीहरुले उठाउनुभएको माग जायज छ । अब, यस विषयमा सरकारसँग लबिङ गर्ने, प्रेसर दिने यो लाइनतर्फ उन्मुख हुन जरुरी छ । मैले अघि माथि नै भनिसकेको छु– म्यान्डेटोरी नै अघि बढाइनुपर्छ । जस्तो कि कुनै व्यक्तिले बैंकसँग ऋण मागको आह्वान गर्दा बीमा गरेको छैन भने कर्जा पाउँदैन । मतलब बीमा अनिवार्य हुन्छ । भन्न खोजिएको के हो भने कुनै संस्थामा जागिर खाँदै गरेको नयाँ कर्मचारीले आफ्नो सुरक्षाका लागि जीवन बीमा अनिवार्य गर्नुपर्ने नीति सञ्चालनमा ल्याइनुपर्छ । त्यस्तै, उदाहारणका लागि विद्यालय र कलेजस्तरका विद्यार्थीहरुको पनि जीवन बीमा गर्न सकिन्छ कि भन्नेतिर अघि बढेर विस्तारै बीमाको अवधारणा फैलाउन नसकिने होइन । बीमा भनेको आजको दिनलाई हेर्ने होइन भोलिको अवस्थालाई हेर्ने हो । 

० निजी वीमा कम्पनीहरु आक्रामक रुपमा बजारमा उत्रदै गर्दा बीमा संस्थानलाई अगाडि बढाउने सन्र्दभमा के कस्ता योजनाहरु छन् ? 
हामीले संस्थानको नीति तथा वार्षिक कार्यक्रमा यससम्बन्धि सबै कुराहरु उल्लेख गरेका छौँ । तत्काल भने संस्थानले केही विषयलाई मुख्य प्राथमिकतामा राखेको छ । इमान्दारका साथ भन्नुपर्दा अहिले हामी ०७२/७३ र ०७३/७४ को अडिटका कार्यहरु गर्दैछौँ । यद्यपि, हाम्रो पहिलो काम नै आन्तरिक कामहरु सम्पन्न गर्ने हो । यदि आन्तरिक कामहरु नै सम्पन्न नभएको अवस्थामा बाहिर फेरी नकारात्मक सन्देश जान सक्छ । त्यसैले पहिलो अडिटिङको कार्य सम्पादनपछि एचआरलाई व्यवस्थापन गर्ने । पूराना ( ०४५ साल) का साथीहरुले संस्थानलाई यहाँसम्म ल्याइपुर्याउनु कम चुनौती थिएन । तर, अब नयाँ सञ्चारको युगको थालनीसँगै प्रविधिसँग नजिकिएका कर्मचारीहरु भित्र्याउनेतर्फ नै संस्थान उन्मुख भएको छ । हाल प्रविधिसँग जानकार २७ जना नयाँ कर्मचारीहरु भर्ना गरिसकेको छौँ भने यहिँ असोज÷कात्तिकभित्र थप १३ जना नयाँ कर्मचारी भित्र्याउँदैछौ । साथै, आगामी पुषमा पनि नयाँ कर्मचारी भर्ना गरेर बजारमा नयाँ ढंगले प्रवेश गर्दैछौँ । यसकारण संस्थाको पहिलो ध्यान नै आइटीतर्फ अब्बल बनेर व्यवसाय तन्काउने हो । यद्यपि, व्यवसायतर्फ हामी तीन तरिकाले अघि बढिरहेका छौँ । 

० तीन तरिकाहरु के के हुन् ?
पहिलोः हाल नेपाल सरकारले प्रत्येक निजामती कर्मचारीहरुको दुई लाखको सामूहिक जिवन बीमा गर्ने भनेको छ । र, यसको कार्यान्वयनतर्फ हामी अन्तिम चरणमा पुगिसकेका छौँ । झण्डै चार लाख सरकारी कर्मचारीहरु लाभान्वित बन्दैछन् । दोस्रोः  कार्यालय कार्यालयमा पुग्ने अर्थात् ‘अफिस टु अफिस’ । जसमा पनि मुख्य सरकारी तथा गैरसरकारी कर्पाेरेट हाउसहरु पर्दछन् । जहाँ थुप्रै कर्मचारी आबद्ध रहन्छन् । हाल एनटीसी र नेपाल विद्युत प्राधिकरणसँग संस्थानको व्यापारसम्बन्ध चलिरहेको छ । तेस्रो: बीमा कम्पनी भनेको अभिकर्तामुखी संस्था हो । जबसम्म अभिकर्ता (एजेन्ट) क्षमतावान् छैन तबसम्म बीमा कम्पनीको दायरा बढ्न सक्दैन । यसकारण अझैँ एजेन्टहरुलाई मध्यनजर गर्दै नयाँ तरिकाले बजारमा पुग्दैछौँ । 

० हाल संस्थानसँग कति अभिकर्ताहरु आबद्ध हुनुहुन्छ ?
हाल संस्थानसँग एक्टिभ अभिकर्ताहरु सात हजारको हाराहारीमा छ । संस्थान पूर्ण रुपमा नेपाल सरकारको स्वामित्वमा रहेकाले बीमा समितिले दिएको चुक्ता पुँजीको टार्गेट पूरा गरिसकेका छौँ । यद्यपि, बीमा समिति, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेड तीनै तर्फबाट स्वीकृती प्राप्त भइसकेको छ भने सरकारबाट मात्र स्वीकृत प्रदान गर्न बाँकी छ ।

० बीमितहरुको संख्या पनि बताइदिनुस् न,
यस विषयमा पूर्ण बिमितहरुको डाटा आइनसकेको यति नै छ भन्न सकिँदैन । तर, चार लाखभन्दा माथि नै छ, सामूहिक बीमाबाहेक । 

० वीमा कम्पनीहरुले, क्षतीको अवस्थामा दावी भुक्तानीमा पन्छिने, निकै ढीलो मात्र भुक्तानी दिने, वीमाङ्कभन्दा निकै न्यून भुक्तानी दिने गर्दछन् भन्ने गुनासो पनि छ । के भन्नुहुन्छ ? 
यस विषयमा मेरो पुरै आपत्ति छ । किनकि हामीले हाम्रो नीति बिमितमाझ पुर्याउँदै गर्दा दुई वटा कुराहरुलाई मध्यनजर गर्दछौँ । कम्पनीसँग कसैले बीमा गर्दै गर्दा पहिले बिमितको आर्थिक अवस्था हेरिन्छ र त्यसैअनुरुप सबै फायल प्रक्रियाहरु अघि बढाइन्छ । दोस्रो कुरा, बिमितको स्वास्थ्य अवस्था अर्थात् उमेर हेरिन्छ । र, उमेरअनुरुपको निश्चित अवधिका लागि भनेर बीमा गरिन्छ । भलुचुक केही कारण यस विषयमा केही उजुरी आएमा आधा घण्टामा सबै समस्याको हल हुन्छ । यसकारण यस विषयमाथि मेरौ पूरै बिमती छ । 

० यहिँ कारणले पनि एउटा बिमितले  राष्ट्रिय वीमा संस्थानलाई नै रोज्नुपर्दछ भन्ने हो ? 
यो पनि हो । अर्काे कुरा पूर्ण रुपमा सरकारी स्वामित्वमा रहेको संस्था र यसको आफ्नै ब्राण्ड छ । यसको मनिटरिङ नेपाल सरकार, अर्थमन्त्रालयले गर्दछ । तर, निजी स्तरमा धेरै अधिकार सिइओहरुले पाएका हुन्छन् । मतलब मैले कुनै निजी कम्पनीहरुको खण्डन गरेको होइन सत्य जानकारी मात्र गराएको हुँ । संस्थानका सिइओसामू निश्चित अधिकार हुन्छ । त्यस्तै, बोर्डसँग पनि निश्चित अधिकार हुन्छ । र, बोर्डले गरेका छलफल र योजनाहरु पनि नेपाल सरकारले सहमति दिएपछि मात्रै कार्यान्वयनमा जान्छन् । यसकारण पनि कुनै बिमितले संस्थानसँग शंका तथा उपशंका गर्नुपर्ने अवस्था छैन । 

० एउटा गरिबले जीवन बीमा गर्न कसरी सम्भव  छ ? ?
मैले अघि पनि चेतनाको कुरा गरिसके । आज कुनै पनि नागरिकको हातमा मोबाइल फोन नभएको बिरल्लै होला । त्यतिमात्र होइन त्यो मोबाइलभित्र इन्टरनेट पनि कनेक्सन गरिएको छ । यद्यपि, मोबाइलमा इन्टरनेटमार्फत् रिचार्ज गरेर दैनिक फेसबुक चलाउँदा कति खर्च हुन्छ । यो पनि हेरौँ न । अर्कातिर, कसैलाई टाउँको दुख्यो भने चिकित्सकहाँ परामर्शका लागि पुँगिदैन । ‘एक दिन पर्खन्छु निको भएन भने त्यसपछि जान्छु’ भन्ने मानसिकता बनाइन्छ । तर, मोबाइलमा रिचार्ज सकिनेबित्तिकै मोबाइल चलाउन सकिँदैन । यो दृश्य वर्तमान अवस्थामा देखिएको सर्वविदित्तै छ । यसकारण वर्तमान अवस्थामा जे गर्दा खुसी हुन्छौँ यहिँ कुरालाई हामीले बढी ध्यान दिइरहेका छौँ । २० हजार पर्ने मोबाइन किन्ने हामी नेपाली मासिक नौँ हजार तिर्न सकिँदैन भन्ने नै छैन । अहिले यस्ता दृश्यहरु शहरभन्दा गाउँमा बग्रेल्ती छन् । त्यहाँका युवाको गोजीको मोबाइलमा हिन्दी गित या लोकदोहोरी बजिरहेको छ । नभए पनि इमोमार्फत् विदेशमा रहेका साथीहरुसँग च्याटिङमा गफिरहेको छ । तर, सबै विकट गाउँमा त्यो नहुन सक्ला तर, सडक पुगेका गाउँ ठाउँमा भने यो प्रवृत्ति त छ नै ।

० अन्तमा बैंक  तथा वित्तिय संस्थाजस्तै बीमाबाट कसरी आर्थिक सम्बृद्धि प्राप्त हुनसक्छ ?
आजको दिनमा बीमातर्फ मुलुकको रेभेन्यु (आम्दानी) हेर्दा  त्यत्ति ठूलो योगदानी देखिँदैन । यससम्बन्धि सत्य विवरण हेर्दा दुई प्रतिशतभन्दा घटी छैन । तर, बीमाबाट कसरी देश समृद्धि सम्भव छ ? भन्ने प्रश्नमा बिमितहरुबाट जम्मा गरिएको प्रिमियम रकम राज्यको कुनै न कुनै क्षेत्रमा लगानी भएको छ । जस्तै, राष्ट्रि बीमा संस्थानको हकमा कुरा गर्ने हो भने हाल संस्थानले माथिल्लो तामाकोशीमा लगानी गरेको छ । जुन नेपाल सरकारको ठूलो सपनासहित बनेको प्रोजेक्ट हो । त्यस्तै, संस्थानको जलविद्युत् कम्पनीमा पनि उत्तिकै लगानी रहेको छ । भोलि पूर्वाधार क्षेत्रमा पनि लगानी हुने नै छ । यसकारण प्रत्यक्ष तथा अप्रत्यक्ष तवरले बीमा कम्पनीको योगदानी छ । होला, आर्थिक उपाजर्न कलेक्सनतर्फ कम देखिएको हुन सक्ला तर, कुनै योजना सञ्चालनपूर्व नै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बिमितबाट उठाइएको प्रिमियम रकम लगानी भएको हुन्छ । अर्काे कुरा भनेको, बीमा गर्नु भनेको बचत र लगानी हो । यसकारण अर्थतन्त्रमा अरु क्षेत्रले कति योगदान दिन सकेका छन् बीमा क्षेत्रले नि उति नै योगदान पुर्याउन सक्दछन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here