प्रदेश ३ को राजधानी हेटौंडाबाट काभ्रेमा सार्ने तयारी 

काठमाडौं । देशको राजधानी तथा तीन महानगरसहित अनेकौँ महत्वपूर्ण शहरहरु रहेको प्रदेश नम्बर तीनको राजधानी र नामबारे आम मानिसमा चासो प्रकट हुन थालेको छ । हालसम्म प्रदेश ६ र चार नम्बरले आफ्ना नाम र राजधानी (कार्णाली र गण्डकी) तय गरिसकेका छन्  भने अन्य पाँचवटा प्रदेशले यस विषयमा औपचारिक बहस–छलफलसमेत प्रारम्भ गरेका छैनन् ।  बाँकी पाँचवटै प्रदेशमा राजधानी र नामका विषयलाई लिएर विवाद तथा तनाव उत्पन्न हुने ठानिएको छ । हाल प्रदेश सातको राजधानी धनगढी, कार्णाली (६) को सुर्खेत, पाँचको बुटवल, गण्डकी (४) को पोखरा, तीनको हेटौँडा, दुईको जनकपुर र एकको विराटनगर निर्धारण गरिएको छ ।  पोखरा र सुर्खेतले स्थायीत्व पाइसकेको भए पनि  अन्य प्रदेशहरुकको नाम र राजधानी निश्चित हुन सकेको छैन । अहिले जहाँ अस्थायी राजधानी तोकिएको छ, धेरैले त्यही ठाउँ स्थायी  राजधानी बन्ने  विश्वास गरेका छन् । तर, वास्तविकता त्यसप्रकारको  छैन, प्रदेश तीन र एकले  राजधानीबारे यकिन गर्न सकेका छैनन् ।  दुई र सात नम्बर प्रदेशमा पनि स्थायी तोकिने क्रमसँगै पुनः तनाव पैदा हुने सम्भावना छ । प्रदेश एकले मोरङको पूर्व–पश्चिम राजमार्ग आसपास या इटहरीसममलाई  समेटेर राजधानी बनाउनेबारे विचार गरिएको बुझिन्छ । कदाचित विराटनगरको विकल्प खोजियो भने त्यहाँ व्यापक विरोध र असन्तुष्टि प्रकट हुने सङ्केतहरु  देखिएका छन् ।  यसअघि राजधानीकै विषयलाई लिएर धनकुटा आन्दोलित बनेको थियो । एब नम्बर प्रदेशको नाम भने (कोसी) रहन सक्ने अनुमान छ ।  तीन नम्बर प्रदेशको नाम बागमती  या नारायणी हुने सम्भावना  ज्यादा देखिएको छ । कसैले नेपाल मण्डल, कसैले पाशुपत प्रदेश, कसैले ताम्सालिङ, कसैले राजधानी प्रदेश त बसैले शैलुङ नाम सुझाएका भए पनि अन्ततः सबैलाई स्वीकार्य हुने गरी बागमती या नारायणी नदीकै नामबाट प्रदेशको नामकरण हुने सम्भावना छ । तर राधानीका विषयमा भने तीन नम्बर प्रदेशमा एकपटक ठूलै तनाव पैदा हुने स्थिति छ । हेटौँडाले हेटौँडा नै स्थायी राजधानी बन्ने ठानेको भए पनि अब प्रदेश राजधाजी हेटौँडाबाट सर्ने प्रायः निश्चित  भएको छ । नुवाकोट र भक्तपुरलाई  समेत सम्भावित राजधानीका रुपमा हेरिएको भए पनि अन्ततः काभे्रको धुलिखेल–बनेपा क्षेत्रलाई राजधानी  बनाइने  भएको छ ।  आगामी केहि साताभित्रै नाम र राजधानी  तय गर्ने आन्तरिक गृहकार्य  राजनीतिक वृत्तमा चलिरहेको छ । धुलिखेल–बनेपालाई स्थायी राजधानी तोकिएको अवस्थामा हेटौँडाले कस्तो प्रतिक्रिया  जनाउने हो, निर्णकर्ताहरुका निम्ति चासो र चिन्ताको विषय बनेको छ ।
 

Loading...

LEAVE A REPLY