राहुल गान्धीले गरे मोदीमाथि प्रहार – राफेलका सबै कागजात लुकाइयो, प्रधानमन्त्री छन् दोषी

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले फान्ससँगको हतियार खरिद प्रकरण ‘राफेल डिल’मा संयुक्त संसदीय समिति बनाउन माग गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गम्भीर आरोप लगाउँदै गान्धीले फेरि जोरदार हमला गरेका छन्।
गान्धीले भने, ‘हिन्दुस्तान सम्झिन्छ कि, चौकीदार चोर हुन्, र म यसलाई सावित गरेरै देखाउछु, हिन्दुस्तानका प्रधानमन्त्री मोदी अनिल अम्बानीका मित्र हुन्, र उनले अनिल अम्बानीलाई चोरी गर्न लगाएका छन्।’
बिहीवार एक पत्रकार सम्मेलनमा बोल्दै राहुल गान्धीले कागज लुकाइएकोबाटै कागजमा सत्य कुरा भएको थाहा हुने बताए । ‘नरेन्द्र मोदीले सौदा गरिरहेका थिए भन्ने कुरा कागजमै लेखिएको छ । राफेल डीलले मोदीको बाइपास सर्जरी गरेको छ । मोदी सरकारको राजमा रोजगारी, किसानका मुद्दा अनि राफेलका फाइल सबै गायब छन् ।’ कागजमा नाम भएका व्यक्तिमाथि कारवाही हुनुपर्ने उनले बताए ।
‘एउटा नयाँ लाइन आएको छ – गायब भयो भनेर । सरकारको कामै सबैथोक गायब गर्ने हो । दुई करोड युवाको रोजगारी गायब भयो, किसानलाई दिने सही दाम गायब भयो, दोक्लम गायब भयो अनि राफेलका फाइलहरू पनि गायब भए,’ उनले भने ।