कर्मचारीका दु:ख : – राम्रो काम गर्दा गुमनाम, नराम्रो काम गरे बदनाम

0
2817
भागवत खनाल
लेखक
कुनै मन्त्रालयमा भर्खरै बढुवा भएका सचिव पदस्थापन भएर आएछन् । सोही मन्त्रलायमा उनीसँगै शाखा अधिकृत भएका साथी उपसचिव पदमा कार्यरत रहेछन् । दुवैजना उस्तै उस्तै ल्याकत भएका कर्मचारी, एकजना केही परिश्रम र केही भाग्यको खेलले गर्दा सचिव बनिसके, अर्का अझै उपसचिव । शाखा अधिकृत हुँदासम्म खुब मेलमिलाप र भाइचारा थियो, खुला र प्रगाढ अनौपचारिक सम्बन्ध थियो, सुखदुःख साटासाट गर्थे । पछि गएर एक जना अगाडि बढ्दै गए, अर्का पछाडि छुट्दै गए । निजामती संस्कारले गर्दा माथि जाने साथी औपचारिक हुँदै गए, भेट पनि पातलो हुँदै गयो । पछाडि परेका साथीले पूर्ववत् अनौपचारिक व्यवहार गरिरहे, उछिन्ने साथीले औपचारिक सम्बन्ध र निजामती मर्यादाको अपेक्षा राखेको बुझ्न सकेनन् । उनी सचिवलाई ‘तिमी’ भनेरै सम्बोधन गरिरहे । सचिव तत्काल त चुप लागेर बसे, तर जब पुनरावलोकन समितिले कार्यसम्पादनको मूल्यांकन गर्ने समय आयो, उपसचिवको एक नम्बर काटियो, पदोन्नतिमा धक्का लाग्यो ।
नेपाल सरकारको सचिव पदबाट अवकाश भएका एकजना वयोवृद्ध व्यक्ति आफ्नो जन्मगाउँमा गएर बस्न थाले । लामो समय घरबाहिर बिताएका, सरकारी सुविधा उपभोग गरेका र आफ्नो जीवनको उर्वर समय साँघुरो निजामती घेराभित्र बिताएका उनलाई गाउँमा बस्न उति सहज थिएन । उनका दौंतरीमध्ये कसैको मृत्यु भइसकेको थियो, कोही वृद्ध र कमजोर भएका थिए । उनी गाउँमा एक प्रकारले एक्ला थिए, न कोही भेट्न आउने, न कुनै मानमनिता र सोधखोज । उनी कुनै काम परेर जिल्ला सदरमुकाम जानुपर्दा उनको अगाडि पछाडि कोही हुन्नथ्यो तर उनको बगलमै घर भएका दुईपटक वडा अध्यक्ष पदको चुनाव हारेका राजनीतिक कार्यकर्ता सदरमुकाम जाँदा चार पाँचजना पछि लागेर जान्थे र चिया चमेना पनि गराउँथे ।
माथिको पहिलो दृष्टान्तले निजामती सेवाभित्र माथिल्लो पदले तल्लो पदसँग अपेक्षा गर्ने आदर, सम्मान र औपचारिकता सम्बन्धमा प्रस्ट पार्दछ भने दोस्रोले निजामती सेवाको उच्चतर पदमा पुगेको व्यक्तिले समेत सेवाबाट अलग भएपछि सामना गर्नुपर्ने कटु र वास्तविक अवस्था झल्काउँछ ।
 सचिवले सेवाकालमा पाएको निजामती सम्मान र सुविधा क्षणिक, सीमित, यान्त्रिक र तत्कालीन मात्र थियो । उता ती साना राजनीतिक कार्यकर्ता स्थानीय जनता र माटोमा भिजेका, जनताले चिनेका र पत्याएका मानिस थिए । भलै चुनाव हारून्, तर उनीमाथिको छिमेकीको भरोसा स्थायी, वास्तविक, विस्तारित र विशाल थियो । सचिव नेपाल सरकारका योग्य र सक्षम उच्चपदस्थ अधिकारी त थिए तर पेसागत मर्यादामा रहने, राजनीतिक झुकाव नदेखाउने, निर्वैयक्तिक र निष्पक्ष रहने हुँदा गुमनाम थिए । उनको समाज भनेकै निजामती समाज थियो, जो छुटेपछि सबै सकियो ।

निजामती सेवाभित्र नियम कानुनको कठोर पालना, ढिलासुस्ती, औपचारिकता, लामो प्रक्रिया, अनेक खालका तर्कवितर्क र त्रास देखेर सेवाग्राही र राजनीतिक नेताहरू समेत वाक्क हुने गरेको आरोप लाग्ने गरेको छ । यो अत्यन्त औपचारिक र नियम कानुनमा चल्ने संयन्त्र भएको हुँदा यसले आफ्नो मेलो छोड्न तयार हुँदैन । राजनीतिक नेतृत्वको चाहना जनताका काम छिटोछरितो तरिकाले सम्पन्न गरियोस् भन्ने हुन्छ । राजनीतिक नेतालाई कानुनको पर्याप्त ज्ञान नहुन सक्छ र भए तापनि पेलपाल गरेर जानुपर्दछ भन्ने धारणा राख्छन् भने निजामती सेवक त्यसो गर्न तयार हुँदैन । निजामती सेवकले कुनै काम पनि कानुनबमोजिम अधिकारप्राप्त अधिकारीको निर्णयबिना गर्नुहुँदैन, अभिलेख नराखी गर्नु हुँदैन र हतारमा गर्नु हुँदैन भन्ने शिक्षा पाएको हुन्छ । निजामती सेवकले आफ्नो कार्य सम्पादनको सिलसिलामा जे गर्दा नियमसम्मत हुन्छ र आफ्नो सेवाको सुरक्षा हुन्छ, त्यही तरिका अपनाएर कार्य सम्पादन गर्दछ । उसले कुनै काम हतार र दबाबमा गरिदिँदाभन्दा सोच विचार गरेर केही समयपछि गर्दा कम जोखिम देख्छ भने अवश्य पनि कम जोखिम हुने विकल्प रोज्छ । ऊ क्षणिक लोकप्रियता र तुष्टिका लागि खतरा मोल्दैन ।
निजामती सेवा हत्तपत्त परिवर्तन हुन नचाहने र अरूको नजरमा अल्छी पनि हुन्छ । कतिपयको दृष्टिमा यो अव्यावहारिक, एकसुरे, लोसो र पुरातन चरित्रको हुन्छ । कर्मचारीतन्त्रको कार्यशैलीबाट हैरान भएका अमेरिकी नौसैनिक अधिकारी हाइमन जी रिकभरले भनेका थिए,‘यदि तिमी पाप गर्दै छौ भने बरु भगवान्को विरुद्धमा पाप गर तर कर्मचारीतन्त्रको विरुद्धमा होइन ।
 भगवान्ले तिमीलाई माफ गर्नेछन् तर कर्मचारीतन्त्रले माफ गर्नेछैन ।’ नेपालमा निजामती सेवाको असहयोगका कारण काम गर्न गाह्रो भएको कुरा कतिपय मन्त्री र प्रधानमन्त्रीले पनि भन्दै आएका छन् । ‘प्रखर क्रान्ति सम्पन्न गरेर आएको’ नयाँ जोसको बेलामा त राजनीतिक नेतृत्वका लागि निजामती सेवा काउसो नै हुन्छ । तथापि, निजामती सेवाले मुलुकमा पटक–पटक भएका परिवर्तनको बखतमा बडो मुस्किलले आफ्नो जिम्मेवारी बहन गर्दै आएको, बढी जोसिलो तर कम होसियार राजनीतिबाट राज्यको स्थिर चरित्रलाई जगेर्ना गर्न सफल भएको र जोसमा हौसिएर लोकप्रिय हुन खोज्ने कतिपय राजनीतिक उत्तेजनालाई थामथुम पारेर व्यावहारिक र मर्यादित बनाउन सफल भएको यथार्थ बिर्सन मिल्दैन ।
नेपालमा स्थापित पद्धति, परम्परा र संस्थाहरू नै गलत भएको हुँदा मुलुक पछाडि परेको हो भन्दै धेरै पद्धति, परम्परा र संस्थाहरू जबर्जस्ती विस्थापित र विघटन गरिए । कथित परिवर्तनका अभियन्ताहरू भत्काउने काममा त खुब सफल भए तर जब नवनिर्माणको बखत आयो, कसैले पनि मुलुकलाई एक पाइला अगाडि बढाउन सकेनन् । बरु एकले अर्कोलाई दोष दिँदै आफ्नो शरीरको धुलो झार्ने चलन आयो । देशमा उन्नति नहुनुको दोष पाउने संस्थामा निजामती सेवा अग्रणी रहेको छ । हो, निजामती सेवा अवश्य दोषी छ तर यो किन दोषी छ र त्यो दोष निवारण गर्न के गर्नुपर्ला भन्ने सम्बन्धमा मुलुकको शासकीय प्रणालीको केन्द्रबिन्दुमा रही राज्य सञ्चालनको बागडोर हातमा लिएर बसेको राजनीतिक नेतृत्वले कहिल्यै विचार गर्न सकेन ।

निजामती सेवकले आफ्नो कार्य सम्पादनको सिलसिलामा जे गर्दा नियमसम्मत हुन्छ र आफ्नो सेवाको सुरक्षा हुन्छ, त्यही तरिका अपनाएर कार्य सम्पादन गर्छ
निजामती सेवामा आउने व्यक्ति तत्कालीन युवापुस्ताभित्र उपलब्धमध्ये सबैभन्दा प्रतिभाशाली हुन्छ । लोकसेवा आयोगले सबैभन्दा राम्रो लेख्न, बहस गर्न र विश्लेषण गर्न जान्ने युवालाई निजामती सेवामा नियुक्तिका लागि सिफारिस गर्दछ । तर, जुन दिन ऊ सेवामा हाजिर हुन जान्छ , लगभग सोही दिन उसको मोहभंग हुन्छ । उसले हाजिर हुने दिनमै ट्रेड युनियनको बोलवाला, मन्त्रीका निजी सहायकको चुरीफुरी, सचिवको निरीहता, राजनीतिक प्रभाव र हस्तक्षेपको सुइँको पाउँछ । उसले सिद्धान्तमा निजामती सेवा गैरराजनीतिक, गैरवैयक्तिक, निष्पक्ष र योग्यता र क्षमताका आधारमा सही मान्छेलाई सही ठाउँमा खटाइने सेवा हो भन्ने कुरा पढेको थियो । तर, जब व्यवहारमा निजामती सेवालाई राजनीतिक, वैयक्तिक, पक्षपाती, सम्पर्कवादी र चाप्लुसवादी पाउँछ, उसले त्यस दिनदेखि नै आफूलाई समेत सोही मूल प्रवाहमा विसर्जन गर्ने खतरा हुन्छ ।
जानी नजानी निजामती सेवाभित्र नाना प्रकारका विकृति, विसंगति र अवाञ्छित कुरालाई फूल माला लिएर स्वागत गर्ने काम राजनीतिक नेतृत्वबाटै भयो, केही कर्मचारीलाई ‘नेता कर्मचारी’ बनाउने र आफ्नो पार्टीको पृष्ठपोषण गर्न उक्साउने काम हुन गयो । निजामती सेवामा सबै कर्मचारी बराबर छन् तर केही कर्मचारी अरूभन्दा अलि बढी बराबर छन् भन्ने कुरालाई स्पष्ट देखिने गरी उजागर गरियो । नेतृत्व निजामती सेवालाई ओरालोतिर लैजाने यस्ता अक्षम्य, घातक र अवाञ्छनीय गतिविधिमा लिप्त भयो तापनि सौभाग्यवश यो पूरै विध्वंश हुनबाट जोगिन सफल भएको छ । अझै पनि आफ्नो पेसागत मर्यादा र व्यावसायिकतालाई अंगीकार गर्ने केही यस्ता प्राविधिक र प्रशासनिक कर्मचारी छन्, जसका कारण निजामती सेवा जोगिएको छ, यसको औचित्य कायमै छ र संक्रमणमा रहेको मुलुकी प्रशासनलाई समूल लिकबाहिर जानबाट रोकेको छ ।
पेसागत मर्यादा पालना गर्ने र व्यावसायिक चरित्रको कर्मचारी राजनीतिबाट प्रेरित भएर हाकाहाकी निजामती मर्यादाको पर्खाल भत्काउने काममा उद्यत हुँदैन । ऊ राष्ट्रको खातिर काम गर्दछ ।
ऊ आफ्नो सेवाकालभरि आफ्नो नाममा होइन, अरू कसैको नाममा काम गर्दछ । उसले लेखेको भाषण अरू कसैले आफ्नै नाममा पढ्छ, उसले तयार गरेको प्रस्ताव अरू कसैले आफ्नै नाममा प्रस्तुत गर्दछ र आफ्नै नाममा पारित गराउँछ । उसले कोरेको मार्गचित्र अरू कसैको भिजनका रूपमा प्रचार हुन्छ । उसले मस्यौदा गरेको नीति सार्वजनिक हुँदा उसको नाम कतै देखिँदैन । उसले कायम गरेको शान्तिसुरक्षाको जस अरू कसैले लिन्छ, उसको योग्यता र परिश्रमबाट राजस्व वृद्धि हुँदा अरू कसैको नाम लेखिन्छ इतिहासमा । उसले बनाएको पुल राम्रो हुँदा अरू कसैले वाहवाही लुट्छ, उसले सफल पारेको खानेपानी योजनाको रिबन अरू कसैले काट्छ, ऊ फगत हातमा फूलमाला लिएर उभिन्छ । हजार राम्रा काम गरोस्, फलानो कर्मचारीले यो काम राम्रो ग¥यो भन्ने प्रचार प्रायः कतै हुँदैन तर ऊ कार्यरत निकायमा कुनै अनपेक्षित गल्ती हुन गएमा उसकै बदनाम हुन्छ । राम्रो काम गर्दा गुमनाम, नराम्रो काम गरे बदनाम ।
निजामती सेवा अवाञ्छित राजनीतीकरणले मात्र थलिएको होइन । यो कठोर औपचारिकता र पदीय मर्यादाको भोक र अहंकारले पनि जकडिएको छ । उच्चपदस्थ निजामती अधिकारीहरू कर्पोरेट क्षेत्रका उच्चपदस्थ जस्तो व्यावहारिक र सहज छैनन् भन्ने आरोप छ । अब त निजामती स्कुलिङ नै बदल्नुपर्ने आवश्यकता देखिन थालेको छ । निजामती सेवामा पद पाउनेबित्तिकै पदेन विज्ञ र जान्नेसुन्ने भइन्छ भन्ने भावनाको अन्त्य हुनु जरुरी छ । निजामती समाजले आफ्नो दायरा फराकिलो पार्दै कठोर निजामती मानसिकताबाट माथि उठ्नु जरुरी छ । आफ्नो संकुचित झ्यालको पर्दा खोल्दै बाहिरी संसारतिर पनि नियाल्नु आवश्यक छ । समयले कर्मचारी सम्बन्धलाई यान्त्रिक रूपमा अह्राउने र गराउनेभन्दा पनि स्वतःस्फूर्त रूपमा काम गर्ने र गर्न पाउने संयन्त्रका रूपमा विकास गर्नुपर्ने माग गरेको छ ।
  • (यो लेख हामीले राजधानी दैनिकबाट साभार गरेका हौं)

LEAVE A REPLY